२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

क्यानडाका उत्पादनमा ५० प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका विभिन्न वस्तु तथा उत्पादनहरूमा ५० प्रतिशत भन्सार महसुल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। क्यानडाले अमेरिकी मुख्य उद्योगहरूमाथि भेदभावपूर्ण नीति अपनाएको आरोप लगाउँदै ट्रम्पले सो निर्णय लिएका हुन्।

आगामी ३० दिनभित्र लागू हुने यो नयाँ भन्सार महसुल रक्सी, हक्की स्टिक, सिमेन्ट, दुग्धजन्य पदार्थ, प्लाइवुड, कागज र फर्निचरलगायतका क्यानेडियन निर्यातमा लागू हुनेछ। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार क्यानडाले अमेरिकी अटोमोबाइल, दुग्धजन्य पदार्थ र मदिरा उद्योगमाथि गरेको भेदभावको कारबाहीस्वरूप यो कदम चालिएको हो।

अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार मानिने निकट सहयोगी क्यानडासँग यो निर्णयले पुनः गम्भीर व्यापारिक विवाद निम्त्याउने निश्चित छ। गत वर्ष ट्रम्पले लगाएको महसुलको जवाफमा क्यानडाले पनि प्रतिशोधात्मक महसुल लगाएपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको थियो।

क्यानडाका केही प्रान्तहरूले अमेरिकी रक्सीको खरिद रोकेको र ट्रम्पको ट्यारिफविरुद्ध जवाफी कदम चाल्ने देशहरूमा चीनबाहेक क्यानडा मात्रै रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ। साथै, क्यानडाले अमेरिकी गाडीहरूमा भन्सार तथा कोटा तोकेको र अमेरिकी चिज माथि प्रतिबन्ध लगाएको अमेरिकाले दाबी गरेको छ।

यो नयाँ भन्सार महसुल ‘ट्यारिफ एक्ट १९३०’ को दफा ३३८ अन्तर्गत लगाइएको हो। अमेरिकी महानमन्दीका बेला बनेको यो कानुनले कुनै देशले अमेरिकी व्यापारमाथि अनौठो वा भेदभावपूर्ण व्यवहार गरेमा राष्ट्रपतिलाई ५० प्रतिशतसम्म भन्सार महसुल लगाउने अधिकार दिन्छ।

तथापि, यो नयाँ महसुल ऊर्जा उत्पादन, पोटास, केही माछा र खनिज पदार्थहरू तथा पहिले नै ५० प्रतिशतसम्मको राष्ट्रिय सुरक्षा महसुल लागिसकेका फलाम जस्ता वस्तुहरूमा भने लागू हुने छैन। तर, अमेरिका-मेक्सिको-क्यानडा सम्झौता अन्तर्गत छुट पाएका वस्तुहरूमा समेत यसपटक कुनै छुट नदिइने बताइएको छ।

अमेरिकी घोषणापछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एक वक्तव्य जारी गर्दै नयाँ महसुल दुई देशबीचको व्यापार सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन्।

प्रधानमन्त्री कार्नीले भने, अमेरिकी राष्ट्रपतिले उल्लेख गरेका क्यानेडियन महसुलहरू अमेरिकाको अघिल्लो कदमको जवाफ मात्र थिए। क्यानडाले आफ्नो अधिकार प्रयोग गर्दै ती कदमहरूको समान रूपमा सामना गरेको हो। हाम्रो सार्वभौमसत्तामाथिको धम्कीविरुद्ध क्यानेडियन जनता एकताबद्ध भएर अर्थतन्त्र, श्रमिक, किसान र व्यवसायीको रक्षा गर्न उभिएका छन्। यो व्यापार विवादले दुवै देशका, खासगरी अमेरिकी परिवारहरूको लागत बढाएको छ। क्यानडा बाँकी रहेका मुद्दाहरूमा वार्ता गर्न तयार छ।”

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अन्तर्राष्ट्रिय व्यापार कानुनका विज्ञहरूका अनुसार सन् १९३० को यो कानुन निकै व्यापक भए पनि अदालतमा यसको परीक्षण हुन बाँकी नै छ। अमेरिकाले युएसएमसीए सम्झौताको पुनरावलोकन वार्तामा आफ्नो पकड बलियो बनाउन यो रणनीति अपनाएको हुनसक्ने विश्लेषकहरूको बुझाइ छ।

क्यानडाको निर्यातमा आधारित अर्थतन्त्रका लागि यो निर्णय निकै कष्टकर हुनसक्छ। अमेरिकी अदालतहरू र अन्य देशको प्रतिशोधका बाबजुद राष्ट्रपति ट्रम्पले आफ्ना भू-राजनीतिक तथा आर्थिक एजेन्डा पूरा गर्न भन्सार महसुललाई हतियार बनाउने क्रम जारी राखेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।