फोटो पत्रकार ढुङ्गानासहित ४ पत्रकारलाई ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार’


प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार

फोटो पत्रकार दीपेन्द्र ढुङ्गानासहित चार जना पत्रकार ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । एभिन्युज खबर टेलिभिजनले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उनीहरूलाई पुरस्कृत गरेको हो । ढुङ्गाना नयाँ पत्रिका दैनिकमा कार्यरत छन् ।

पुरस्कृत हुने अन्य पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका श्यामकृष्ण श्रेष्ठ, नेपाल प्रेस डटकमका उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु दंगाल छन् । उनीहरूलाई संयुक्त रूपमा नगद १ लाख ११ हजार १११ रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत चारै जना पत्रकार २०८२ साल भदौ २३ गते भएको ‘जेन जी’ आन्दोलनको समाचार सङ्कलनका क्रममा घाइते भएका थिए।

२०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्युजकर्मी सुरेश रजकको निधन भएको थियो । सोही क्रममा ज्यान गुमाएका रजकको स्मृतिमा स्थापित यो पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि ढुङ्गानाले स्वर्गीय सुरेश रजकप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनको नाममा स्थापित पुरस्कारलाई निरन्तरता दिन आग्रह गरे । यो पुरस्कारले पत्रकारितामा थप सक्रिय भएर लाग्न आफ्नो मनोबल बढाएको बताउँदै उनले कार्यक्षेत्र (फिल्ड) मा अहोरात्र खटिने पत्रकारहरूको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

पुरस्कार ग्रहण गरेपछि ढुङ्गाना

सो अवसरमा एभिन्युज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारले दिवङ्गत पत्रकार रजकको योगदानलाई टेलिभिजनले कहिल्यै नभुल्ने स्पष्ट पारे । उनले साहसिक पत्रकारिताको सम्मानका लागि यो पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।

पुरस्कार छनोटका लागि वरिष्ठ पत्रकारहरू तीर्थ कोइराला, लक्ष्मण उप्रेती र विनोद ढुङ्गेल सम्मिलित निर्णायक समिति गठन गरिएको थियो । २०८१ चैत १५ देखि २०८२ चैत १५ गतेसम्म साहसिक पत्रकारिता गरेका पत्रकारहरूको काम, विशेष गरी ’जेन जी’ आन्दोलनमा उनीहरूले खेलेको भूमिका र देखाएको साहसको मूल्याङ्कन गरेर चार जनालाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरिएको निर्णायक समितिका सदस्य तीर्थ कोइरालाले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com