ट्रम्प प्रशासनद्वारा न्युयोर्कका गैरनाफामूलक संस्थाहरूको बजेट कटौती: आप्रवासी बालबालिकाको आवास संकटमा


प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

Photo: Chris Hardy / Unsplash

 ट्रम्प प्रशासनले न्युयोर्कका कम्तीमा पाँचवटा गैरनाफामूलक संस्थाहरूको कोष पूर्ण रूपमा बन्द गरिदिएको छ। यी संस्थाहरूले विगत पाँच वर्षमा बिना अभिभावक अमेरिका प्रवेश गरेका आप्रवासी बालबालिकाहरूलाई आवास उपलब्ध गराउन ६० करोड डलरभन्दा बढी सरकारी बजेट प्राप्त गरेका थिए।

यो कटौतीसँगै, परिवार बिना सीमा पार गर्दा वा एक्लै पक्राउ परेका बालबालिकाहरूका लागि न्युयोर्कमा उपलब्ध आवास क्षमताको संख्यामा भारी गिरावट आएको छ।यो कटौती देशभरिका आवास गृहहरूमा भइरहेको बजेट न्यूनीकरणको एउटा हिस्सा हो।

संघीय हिरासतमा रहेका बिना अभिभावकका बालबालिकाको संख्या सन् २०२४ को अन्त्यमा झन्डै ७,००० रहेकोमा हाल घटेर करिब १,८०० मा झरेकाले यो कदम चालिएको बताइएको छ।यी बालबालिकाहरूको व्यवस्थापन अफिस अफ रिफ्युजी रिसेटलमेन्टले हेर्दछ, जसले बालबालिकाहरूलाई आफ्ना आफन्त वा प्रायोजकहरूसँग पुनर्मिलन नगराएसम्म अस्थायी रूपमा आवास गृह वा संरक्षक गृहमा राख्ने गर्दछ।

एक विश्लेषणका अनुसार, न्युयोर्कमा यस्ता बेडहरूको संख्या करिब आधाले घटेको छ। यो देशकै सबैभन्दा तीव्र कटौतीमध्ये एक हो, यद्यपि मिशिगन, क्यालिफोर्निया र इलिनोइस जस्ता राज्यहरूका सेवा प्रदायकहरूले पनि बजेट गुमाएका छन्।

यस कटौतीले वेस्टचेस्टर काउन्टी र न्युयोर्क सिटीका गैरनाफामूलक संस्थाहरूलाई ठुलो धक्का दिएको छ। प्रभावित संस्थाहरूले श्रम मन्त्रालयलाई दिएको जानकारी अनुसार, उनीहरूले करिब १,००० कर्मचारीहरूलाई कामबाट निकाल्ने योजना बनाएका छन्।

बजेट कटौतीले ओआरआरको हिरासतमा रहेका बालबालिकाको जीवन झन् कष्टकर बनाएको छ। कतिपय बालबालिकाहरू महिनाौंदेखि सँगै बस्दै आएका संरक्षक आमाबुबाबाट छुट्टिन वा स्थापित आवास गृह छोड्न बाध्य भएका छन्।

न्युयोर्कमा परिवार भएका कतिपय बालबालिकालाई राज्यभित्रै सञ्चालित अन्य सेल्टरमा सारिएको छ भने, कतिपयलाई आप्रवासीहरूका लागि कानुनी रूपमा प्रतिकूल मानिने अन्य राज्यका क्षेत्राधिकारहरूमा स्थानान्तरण गरिएको छ।

यस स्थानान्तरणले न्युयोर्कका अध्यागमन अदालतहरूमा अन्योल र सञ्चार अवरोध सिर्जना गरेको छ। म्यानहट्टन अदालतमा भर्चुअल रूपमा उपस्थित भएका ‘किड्स इन नीड अफ डिफेन्स’का अधिवक्ता चक क्रेसले आफ्ना बाल ग्राहकहरूसँग सञ्चार टुट्नुको पीडा व्यक्त गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अघिल्लो सेल्टर बन्द भएर उनीहरूलाई अन्यत्र सारिएकाले हामीले विगत केही हप्तादेखि बालबालिकाहरूसँग सम्पर्क गर्न सकेका छैनौँ,” क्रेसले न्यायाधीशसामु भने। उनले लामो प्रयासपछि मात्र अघिल्लो दिन उनीहरूको नयाँ केस म्यानेजरलाई पत्ता लगाउन सकेका थिए।

संघीय एजेन्सी ‘एडमिनिस्ट्रिसन फर चिल्ड्रेन एन्ड फ्यामिलिज’ले एक विज्ञप्ति जारी गर्दै सन् २०२१ को सुरुतिर २२,००० को उच्च विन्दुमा रहेको बालबालिकाको संख्या अहिले ह्वात्तै घटेकाले सम्झौताहरू रद्द गरिएको जनाएको छ। सन् २०२५ को डिसेम्बरको तथ्याङ्क अनुसार न्युयोर्कका १,९५८ बेडहरूमध्ये केवल १६ प्रतिशत करिब ३०० बेड मात्र भरिएका थिए।

विज्ञप्तिमा भनिएको छ, “ट्रम्प प्रशासनले अवैध प्रवेश र आप्रवासी बालबालिकाहरूको तस्करी रोक्न गरिरहेको प्रयासका कारण प्रयोगमा नआएका खाली सुविधाहरूलाई ओआरआरले बन्द र समायोजन गरिरहेको छ।”

स्रोतहरूका अनुसार हालैका महिनाहरूमा न्युयोर्कका धेरै आप्रवासी नाबालिगहरूलाई टेक्ससका सुविधाहरूमा पठाइएको छ। न्युयोर्क र अन्य राज्यहरूको विपरीत टेक्ससमा यस्ता सेल्टरहरूको राज्यस्तरबाट कुनै निरीक्षण वा अनुगमन हुँदैन। सन् २०२१ मा बाइडेन प्रशासनको अध्यागमन नीतिको विरोध गर्दै टेक्ससले यस्ता सुविधाहरूलाई इजाजतपत्र दिन बन्द गरेको थियो।

बालअधिकारवादीहरू टेक्ससको यो व्यवस्था सुरक्षित नभएको बताउँछन्। ओआरआरमा काम गरिसकेका जोनाथन ह्वाइट भन्छन्, “तपाईं आफ्नो बालबालिकाको रेखदेख न्युयोर्ककी गभर्नर क्याथी होचुलले गरोस् भन्ने चाहनुहुन्छ कि टेक्ससका गभर्नर ग्रेग एबटका अधिकारीहरूले? यो नै मुख्य गणित हो।

यसबाहेक, टेक्ससका अदालतहरूमा अध्यागमनका मुद्दाहरूको ठुलो चाङ भएकाले त्यहाँ सारिएका बालबालिकाहरू हिरासतबाट मुक्त हुन अझ बढी समय लाग्न सक्ने अधिवक्ता एबेना हचफुलले बताइन्। ट्रम्पले कार्यभार सम्हालेयता बालबालिकाहरू ओआरआरको हिरासतमा बस्नुपर्ने औसत अवधि आकाशिएको छ-सन् २०२४ मा करिब ३० दिन रहेको यो अवधि गत अप्रिलमा २०० दिनभन्दा बढी पुगेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com