क्यालिफोर्नियामा नक्कली मुद्दा पेस गर्न एआई प्रयोग गर्ने दुई वकिल निलम्बित


प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

brown wooden tool on white surface

फोटो : टिन्गी इन्जुरी ल फर्म

अमेरिकाको ओरेन्ज काउन्टीका दुई आप्रवासन वकिलहरूले अदालतमा पेस गर्ने कागजात तयार पार्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेको पाइएपछि उनीहरूलाई अस्थायी रूपमा निलम्बन गरिएको छ। ती वकिलहरूले पेस गरेको कागजातमा अस्तित्वमै नभएका नक्कली मुद्दाहरू, गलत उद्धरणहरू र वास्तविक मुद्दाहरूको गलत व्याख्या समावेश रहेको अदालतले फेला पारेको थियो।

ओरेन्ज काउन्टीको ‘सेठी ल ग्रुप’ मा आबद्ध वकिलहरू माइक सिंह सेठी र विलियम राउन्ड्सलाई जनही २,५०० अमेरिकी डलर जरिवाना गरिएको छ। साथै, अमेरिकी नवौँ सर्किट पुनरावेदन अदालतमा ६ महिनासम्म वकालत गर्न नपाउने गरी निलम्बन गरिएको अदालतले बुधबार जारी गरेको आदेशमा उल्लेख छ।

अदालतको फैसलाअनुसार उनीहरूलाई एआई प्रयोग गरेकै कारण मात्र कारबाही गरिएको भने होइन। आदेशमा भनिएको छ, “उनीहरूले अस्तित्वमै नभएका नक्कली मुद्दाहरू दर्ता गरेको, गलत उद्धरणहरू राखेको, वास्तविक मुद्दाहरूलाई तोडमरोड गरी पेस गरेको र यी सबै गल्तीहरू जेनेरेटिभ एआईको ‘भ्रम’ का कारण भएको हो भन्ने कुरा अदालतमा लुकाएर इमानदारिता नदेखाएका कारण यो सजाय दिइएको हो।”

तीन न्यायाधीशको इजलासले स्पष्ट पार्दै लेखेको छ, “कानुनी कागजातहरू जसरी तयार पारिए पनि वा कानुनी प्रविधि जति नै विकसित भए पनि, अदालतको कार्यविधि र नैतिक नियमहरू समान रूपमा लागू हुन्छन्। ती वकिलहरूले जानीजानी वा लापरबाहीपूर्वक अदालतसमक्ष झूटो बयान दिएका छन्।”

फैसलाका अनुसार, सेठी र राउन्ड्सले सुरुमा यी गल्तीहरूमा जेनेरेटिभ एआईको हात हुनसक्ने सम्भावनालाई बारम्बार अस्वीकार गरेका थिए। उनीहरूले ती गल्तीहरू केवल अन्जानमा भएका लेखन त्रुटि मात्र भएको दाबी गरेका थिए।

यी वकिलहरूले एक आप्रवासन सम्बन्धी निर्णयको पुनरावलोकनका लागि अदालतमा यो त्रुटिपूर्ण कागजात पेस गरेका थिए। सन् २०२६ को नोभेम्बरमा अदालतले ती वकिलका ग्राहकहरूको पक्षमा फैसला गर्दै भारतका एकै परिवारका तीन सदस्यको देश निकाला गर्ने कार्यलाई रोकेको थियो। अदालतको यो नयाँ अनुशासनिक फैसलाले उक्त पुरानो निर्णयलाई भने कुनै असर गर्ने छैन।

यसका साथै अदालतले अन्य वकिलहरूलाई पनि सचेत गराउँदै चेतावनी दिएको छ: जेनेरेटिभ एआईमा बढी निर्भर हुँदा हुने जोखिमप्रति सजग रहनुहोस्। अदालतमा पेस गरिने कागजातमा उल्लेख गरिएका प्रत्येक कुराहरू आफैँले पढ्नुहोस्-चाहे त्यो एआईले लेखेको होस् वा मानिसले। र यदि अन्जानमा एआईका कारण कानुनी कागजातमा कुनै गलत तथ्य समावेश हुन गएमा, अदालतसमक्ष ढिलो नगरी तुरुन्त र पारदर्शी रूपमा जानकारी गराउनुहोस्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com