इरानसँगको तनाव : ताइवानलाई हतियार बिक्री रोक्ने अमेरिकी निर्णय


प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार

अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया तत्कालका लागि रोकेको छ। ताइवानलाई दिने भनिएको १४ बिलियन अमेरिकी डलर बराबरको हतियार बिक्री अस्थायी रूपमा रोकिएको हो।

इरानसँगको सम्भावित युद्धका लागि आफ्नै हतियार पर्याप्त मात्रामा सुरक्षित राख्नुपर्ने भएकाले यो निर्णय गरिएको कार्यवाहक नौसैनिक प्रमुख हुङ काओले बताएका छन्।

सिनेट सुनुवाइका क्रममा उनले अमेरिकासँग इरानसम्बन्धी संयुक्त सैन्य अभियानका लागि आवश्यक गोलाबारुद पर्याप्त रहेको सुनिश्चित गर्न हतियार बिक्री रोकिएको जानकारी दिएका हुन्। उनले प्रशासनले आवश्यक ठानेपछि विदेशी सैन्य बिक्री पुनः सुरु हुने बताएका छन्।

ताइवानको राष्ट्रपति कार्यालयका प्रवक्ताले भने अमेरिकाले हतियार बिक्रीसम्बन्धी नीतिमा कुनै परिवर्तन गरेको जानकारी आफूहरूले नपाएको बताएका छन्।

ताइवानलाई अमेरिकी हतियार बिक्री गर्ने विषयलाई लिएर चीन लामो समयदेखि असन्तुष्ट रहँदै आएको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ भने आवश्यक परे बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने चेतावनी पनि दिँदै आएको छ।

१४ बिलियन डलरको उक्त हतियार प्याकेजमा हवाई रक्षा क्षेप्यास्त्र, सतहबाट आकाशमा प्रहार गर्न सकिने क्षेप्यास्त्र प्रणाली तथा अन्य आधुनिक सुरक्षा सामग्री समावेश रहेको जनाइएको छ। यो प्रस्ताव महिनौँदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छ।

राष्ट्रपति ट्रम्पले गत साता ताइवानलाई हतियार बिक्री गर्नु चीनसँगको वार्तामा “महत्त्वपूर्ण सौदाबाजीको माध्यम” भएको बताएका थिए। उनले यसबारे चाँडै निर्णय गरिने पनि उल्लेख गरेका छन्।

हालै बेइजिङमा भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको विषय अमेरिका–चीन सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा भएको बताएका थिए। त्यसपछि ट्रम्पले ताइवानलाई हतियार बिक्रीबारे सीसँग विस्तृत छलफल भएको खुलासा गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले ताइवानका नेता लाइ चिङ–तेसँग पनि यस विषयमा प्रत्यक्ष कुरा गर्ने संकेत दिएका छन्। यस्तो कदमले चीनलाई थप असन्तुष्ट बनाउन सक्ने विश्लेषण गरिएको छ।

गत डिसेम्बरमा अमेरिकाले ताइवानलाई ११ बिलियन डलर बराबरको अर्को ठूलो हतियार बिक्री स्वीकृत गर्दा चीनले कडा विरोध जनाएको थियो। त्यसबेला चीनले ताइवान जलमार्ग क्षेत्रमा खतरनाक र हिंसात्मक अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको थियो।

ताइवानका नेता लाइ चिङ–तेले भने अमेरिकी हतियार बिक्री क्षेत्रीय शान्ति र स्थायित्व कायम राख्न महत्त्वपूर्ण रहेको बताएका छन्। चीनबाट बढ्दो सैन्य दबाबपछि ताइवानले आफ्नो रक्षा खर्च उल्लेखनीय रूपमा बढाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com