२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अबदेखि डेभिडले सम्हाल्नेछन् आइसको कमान्ड, तर निजी जेल कम्पनीसँगको सम्बन्धले विवादमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को नेतृत्वमा लामो समयदेखि आप्रवासन प्रणालीसँग जोडिएका अधिकारी डेभिड भेन्चुरेलालाई नियुक्त गर्ने निर्णय गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले भेन्चुरेलाको चयनबारे पुष्टि गरेको हो।

गत महिना आइसका कार्यवाहक निर्देशक टोड लायन्सको बिदाइ घोषणा भएपछि नयाँ नेतृत्वको खोजी भइरहेको थियो। लायन्सको कार्यकाल आप्रवासीमाथिको कडा कारबाही, संघीय अधिकारीको गोलीकाण्ड र व्यापक विरोध प्रदर्शनका कारण निकै विवादित बनेको थियो।

भेन्चुरेला यसअघि आइसको चर्चित ‘सिक्योर कम्युनिटिज’ कार्यक्रमका कार्यकारी निर्देशक थिए। उक्त कार्यक्रमले स्थानीय जेलमा रहेका व्यक्तिहरूको डिजिटल औँठाछाप संघीय निकायसँग साझा गरेर गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीहरूको पहिचान गर्ने काम गर्थ्यो।

तर यो कार्यक्रम सुरुदेखि नै विवादमा थियो। पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले सन् २०१४ मा कार्यक्रम बन्द गरेको थियो। त्यतिबेला डिएचएस सेक्रेटरी जेह जोनसनले उक्त प्रणालीले आप्रवासी समुदाय र स्थानीय प्रहरीबीच अविश्वास बढाएको बताएका थिए।

यद्यपि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१७ मा कार्यकारी आदेशमार्फत उक्त कार्यक्रम पुनः लागू गरेका थिए। ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्दा ठूलो संख्यामा आप्रवासी निष्कासन गर्ने प्रतिबद्धता जनाएका थिए।

सत्तामा फर्किएपछि आइस देशव्यापी कारबाहीका कारण पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ। लस एन्जलस, शिकागो, मिनियापोलिस लगायतका शहरहरूमा संघीय अधिकारीहरूले व्यापक अध्यागमन नियन्त्रण अभियान सञ्चालन गरेका थिए।

विशेषगरी मिनियापोलिसमा भएको कारबाही निकै विवादित बन्यो। संघीय अधिकारीहरूले त्यहाँ दुई अमेरिकी नागरिक (रेनी गुड र एलेक्स प्रेट्टी)लाई गोली हानी हत्या गरेका थिए। घटनापछि मानवअधिकारकर्मी, स्थानीय नेता र डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनको आलोचना चर्काएका थिए।

भेन्चुरेलाको नियुक्तिलाई लिएर अर्को ठूलो विवाद भने उनको निजी जेल कम्पनीसँगको सम्बन्ध बनेको छ। उनले निजी जेल सञ्चालन गर्ने जिओ ग्रुपमा वरिष्ठ उपाध्यक्षका रूपमा सन् २०२३ सम्म काम गरेका थिए। सार्वजनिक अभिलेखअनुसार जिओ ग्रुपसँग आइसका एक अर्ब डलरभन्दा बढीका सरकारी सम्झौता छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

कम्पनीबाट अवकाश लिएपछि पनि भेन्चुरेला जिओ ग्रुपका सल्लाहकारका रूपमा कार्यरत थिए। अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)मा दर्ता कागजातअनुसार उनले नयाँ तथा पुराना सरकारी सम्झौतासम्बन्धी परामर्श दिने काम गरेका थिए।

यसै विषयलाई लिएर ट्रम्प प्रशासनकी आलोचक डेमोक्र्याट सांसद डेलिया रामिरेजले कडा प्रतिक्रिया दिएकी छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेकी छन्, “यो नियुक्ति ट्रम्प निकट कर्पोरेट समूहहरूले समुदायको पीडाबाट नाफा कमाइरहन सुनिश्चित गर्न गरिएको हो ।”

यता ट्रम्प प्रशासनमाथि बढ्दो आलोचनापछि केही नीतिमा नरम संकेत पनि देखिएको छ। अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजका अनुसार डिएचएसले आइस अधिकारीहरूलाई अब न्यायिक वारेन्टबिना घरभित्र प्रवेश नगर्न निर्देशन दिएको छ।

यसअघि न्यायाधीशको हस्ताक्षर नभएका प्रशासनिक वारेन्टकै आधारमा घरभित्र छापा मार्ने अभ्यास बढेको थियो। यो नीति परिवर्तन सन् २०२५ को आन्तरिक आइस दस्तावेजमार्फत सार्वजनिक भएको थियो, जुन व्हिसलब्लोअरहरूले कनेक्टिकटका सिनेटर रिचर्ड ब्लुमेन्थललाई उपलब्ध गराएका थिए।

भेन्चुरेलाले अब टोड लायन्सको स्थान लिनेछन्। लायन्स आइसका कार्यवाहक निर्देशक भए पनि अमेरिकी सिनेटबाट औपचारिक अनुमोदन पाएका थिएनन्। उनको अन्तिम कार्यदिन मे ३१ तय गरिएको छ।

सिनेटबाट अन्तिम पटक औपचारिक रूपमा अनुमोदित आइस निर्देशक सारा साल्दाना थिइन्, जसले सन् २०१७ मा पद छाडेकी थिइन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।