साउथ क्यारोलिनामा राज्य र आइसबीचको सहकार्यले पक्राउ पर्ने आप्रवासीकोको संख्या बृद्धि
साउथ क्यारोलिनामा राज्यका सुरक्षा निकाय र संघीय अध्यागमन निकाय आइस बीचको बढ्दो सहकार्यका कारण आप्रवासीहरूमाथि निगरानी र गिरफ्तारी तीव्र पारिएको छ। साउथ क्यारोलिना कानुन कार्यान्वयन विभागले आफ्नो विशेष अध्यागमन इकाईमार्फत स्थानीय र संघीय निकायहरूलाई ठूलो संख्यामा सहयोग गरिरहेको छ।
सन् २०२३ मा स्थापना भएको विभागको अध्यागमन इकाईले मार्च २०२६ सम्ममा राज्यभर १४५ जनालाई पक्राउ गरिसकेको छ। सन् २०२३ को तुलनामा सन् २०२५ मा अध्यागमन अपरेसनहरूमा साउथ क्यारोलिना ल इन्फोर्समेन्ट डिभिजनले गरेको सहयोग २६१ प्रतिशतले वृद्धि भएको छ।
आइसकी प्रवक्ता लिन्से विलियम्सका अनुसार विभागका एजेन्टहरूले संघीय निकायलाई दैनिक रूपमा सहयोग गरिरहेका छन्। यी अपरेसनहरूमा शंकास्पद व्यक्तिको घर, कार्यस्थल र दैनिक गतिविधिहरूको गोप्य निगरानी गरिन्छ। छापा मार्ने क्रममा मुख्य व्यक्ति मात्र नभई, त्यहाँ फेला परेका कागजात नभएका अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरिन्छ, जसलाई अध्यागमन अधिकारीहरूले ‘कोल्याटरल एरेस्ट’ भन्ने गरेका छन्।
हाल विभागमा ८२ जना एजेन्टहरूसँग संघीय अध्यागमन अधिकार छ, जुन संख्या सन् २०२५ को तुलनामा झण्डै दोब्बर हो। चाँडै नै यो संख्या अझै बढ्ने क्रममा छ। यसैबीच साउथ क्यारोलिनाका रिपब्लिकन सांसदहरूले एउटा नयाँ कानुन ल्याउने तयारी गरिरहेका छन्, जसले राज्यका सबै स्थानीय जेल भएका निकायहरूलाई आइससँग अनिवार्य सम्झौता गर्न बाध्य पार्नेछ। हाल राज्यका ४६ मध्ये २० काउन्टीले मात्र यस्तो सम्झौता गरेका छन्।
अध्यागमन निकायको बढ्दो सक्रियताले स्थानीय आप्रवासी समुदायमा त्रास फैलाएको छ। वेस्ट कोलम्बियाका केही मोबाइल पार्क निवासीहरूले आइसको उपस्थितिले गर्दा ढोका खोल्न समेत डर लाग्ने बताएका छन्। त्यस्तै, कोलम्बियाको मुख्य सडकमा आइसले गोप्य रूपमा कार्यालय भाडामा लिएको विषय बाहिरिएपछि स्थानीय नेता र अधिकारकर्मीहरूले प्रदर्शन समेत गरेका थिए।





