टेक्ससमा एकै सातामा अध्यागमन उल्लंघनमा २५६ जनामाथि मुद्दा,संघीय अभियोजकद्वारा कडा सजायको माग
अमेरिकाको टेक्सस राज्यमा संघीय अभियोजकहरूले अध्यागमन र सीमा सुरक्षासँग सम्बन्धित २५६ वटा नयाँ फौजदारी मुद्दाहरू दर्ता गरेका छन्। मे १ देखि मे ७ को बीचमा दर्ता भएका यी उजुरीहरूले अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने र आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि कडा कारबाहीको संकेत दिएका छन्।
दर्ता गरिएका मुद्दाहरूमध्ये ४० जनामाथि मानव तस्करी, ४६ जनामाथि गैरकानुनी प्रवेश र १८० जनामाथि विगतमा देशनिकाला भएर पनि पुनः अवैध रूपमा अमेरिका प्रवेश गरेको आरोप लगाइएको छ। पक्राउ परेका धेरैजसो व्यक्तिहरूको विगतमा लागूऔषध कारोबार, हिंसा र अध्यागमन उल्लङ्घनका गम्भीर आपराधिक रेकर्डहरू रहेको पाइएको छ।
विशेषगरी म्याकलेन क्षेत्रमा पक्राउ परेका तीन व्यक्तिहरू बोलिभियाका अर्मान्डो मोन्टोया-कार्डोजो तथा मेक्सिकोका जुआन जोसे जर्मन-क्यारिलो र रेने भिल्लारियल-कार्मोन माथि कडा निगरानी राखिएको छ। उनीहरू यसअघि नाबालक विरुद्धको अपराध, लागूऔषध र हिंसात्मक गतिविधिमा संलग्न भई देशनिकाला भएका थिए। यदि अदालतबाट दोषी ठहरिएमा उनीहरू प्रत्येकलाई २० वर्षसम्मको संघीय काराबास सजाय हुन सक्नेछ।
यसैबीच, ह्युस्टनमा अर्का एक मेक्सिकन नागरिक जोसे अलेजान्ड्रो लुना-रान्गेल लाई ४० महिनाको जेल सजाय सुनाइएको छ। सन् २०१६ मा मादक पदार्थ सेवन गरेर गाडी चलाएको कारण देशनिकाला रिएका उनी पुनः अवैध रूपमा अमेरिका छिरेर घरेलु हिंसा र तेस्रो पटकको मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा दोषी पाइएका हुन्।
यी सबै कारबाहीहरू ‘अपरेशन टेक ब्याक अमेरिका’ अन्तर्गत भइरहेका छन्। यो अभियान अवैध अध्यागमन रोक्न, आपराधिक कार्टेलहरूलाई ध्वस्त पार्न र समुदायलाई हिंसाबाट जोगाउन राष्ट्रव्यापी रूपमा सञ्चालन गरिएको हो। यस अपरेसनमा आइस , बोर्डर पेट्रोल, एफबीआई, डीईए र अमेरिकी मार्शलहरू का साथै स्थानीय प्रहरीले समन्वय गरिरहेका छन्।
दक्षिण टेक्ससको ४३ वटा काउन्टीहरूमा फैलिएको अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले यस क्षेत्रको सुरक्षा र न्याय प्रणालीलाई मजबुत बनाउन यी मुद्दाहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको छ।





