पर्याप्त तयारी बिना एजेन्ट खटाएको आरोपपछि उल्ट्याइयो आइसको तालिम नीति 


प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का नयाँ एजेन्टहरूलाई छोटो अवधिमा भर्ना गरी तत्काल कार्यक्षेत्रमा खटाउने उद्देश्यले सुरु गरिएको ‘स्ट्रिमलाइन’ द्रुत तालिम कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ।

पछिल्ला महिनाहरूमा हजारौं एजेन्टहरूलाई पर्याप्त तयारी बिना नै फिल्डमा पठाइएको भन्दै चौतर्फी आलोचना बढेपछि प्रशासन उक्त निर्णयमा पुगेको हो। अब छोटो अवधिको तालिमको सट्टा पुरानै विस्तृत र लामो पाठ्यक्रम पुनः लागू गरिने भएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार द्रुत प्रक्रियाबाट भर्ना भई पहिले नै कार्यक्षेत्रमा खटिएका एजेन्टहरूलाई थप निर्देशन र व्यावसायिक सीप सिकाउन अनुभवी अधिकारीहरूलाई फिल्डमै परिचालन गर्ने योजना बनाइएको छ।

विपक्षी डेमोक्र्याट सांसदहरू तथा ह्विसलब्लोअरहरूले गत वर्षको जीओपी कानुनअन्तर्गत भर्ना भएका एजेन्टहरूले केवल ६ देखि ८ हप्ताको तालिम पाएको दाबी गर्दै आएका छन्। तर, यसअघि आइसमा आधारभूत तालिम अवधि ७२ दिनसम्म रहने गरेको थियो।

सार्वजनिक भएका आन्तरिक दस्ताबेजहरू अनुसार पनि तालिम अवधि क्रमशः घटाइएको देखिएको छ, जुलाई २०२५ मा ५८४ घण्टा रहेको तालिम फेब्रुअरी २०२६ सम्म आइपुग्दा घटाएर ३३६ घण्टा मात्र कायम गरिएको थियो।

पूर्व आइस प्रशिक्षक रायन श्वान्कले समेत तालिम प्रणालीलाई ‘त्रुटिपूर्ण र भत्किएको’ भन्दै राजीनामा दिएका थिए। उनका अनुसार संविधान, कानुनी प्रक्रिया, हतियार प्रयोग र गिरफ्तारीको सीमा जस्ता महत्वपूर्ण विषयका करिब २४० घण्टाका कक्षाहरू समेत कटौती गरिएको थियो।

बढ्दो राजनीतिक दबाब र ७६ दिन लामो डिएचएस सटडाउनपछि प्रशासनले आफ्नो कठोर अध्यागमन नीतिमा केही लचकता अपनाएको संकेत देखिएको छ। आइसका कार्यवाहक निर्देशक टोड लायन्स र सीमा सुरक्षा प्रमुख टम होमानले कङ्ग्रेस सदस्यहरूसँगको छलफलमा तालिम स्तर सुधार्ने प्रतिबद्धता जनाएका थिए।

अब नयाँ भर्ना भएका एजेन्टहरूले काम सुरु गरिसके पनि छुटाइएका करिब ३० दिनको अतिरिक्त तालिम अनिवार्य रूपमा पूरा गर्नुपर्ने व्यवस्था गरिने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com