५० हजार राशीको ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ खसोखास प्रधान सम्पादक पन्थीलाई


प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार

सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मी तथा खसोखासका प्रधान सम्पादक किशोर पन्थीलाई यस वर्षको ‘रामगीता विशिष्ट सञ्चार सेवा पुरस्कार’ प्रदान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली साहित्यिक तथा सामाजिक संस्था रामगीता वाङ्मय मन्दिर नेपाल–अमेरिकाले पन्थीलाई उक्त पुरस्कार प्रदान गरेको हो।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट समाजलाई पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको हो। पत्रकार पन्थीकी आमा तथा नमस्ते इन्टरनेशनल मिडिया प्रा.लि.की अध्यक्ष तुल्सीदेवी पन्थीले सो पुरस्कार ग्रहण गर्नुभयो।

अमेरिकामा रहेर पनि नेपाली पत्रकारितालाई विश्वव्यापी बनाउन र प्रवासमा रहेका नेपालीहरूका मुद्दालाई सशक्त रूपमा उठाउन पन्थीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाका कारण उहाँलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष गीता खत्रीले बताउनुभयो।

रामगीता वाङ्मय मन्दिरले नेपाली भाषा, साहित्य र सञ्चारको श्रीवृद्धिमा अहोरात्र खट्ने व्यक्तित्वहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न विधामा सम्मान प्रदान गर्दै आएको छ। सोही अवसरमा साहित्यकार राम खत्रीको आत्मसंस्मरण ‘जीवन एक यात्रा अनेक’ समेत विमोचन गरिएको छ।

खसोखासका प्रधान सम्पादक किशोर पन्थी विगत साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ। पन्थीले विशेष गरी न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी नेपाली डायस्पोरामा प्रभावशाली भूमिका निर्वाह गरिरहनुभएको छ।

नेपालमा रहँदा सगरमाथा र एबीसी टेलिभिजनमा सम्पादक र कार्यक्रम सञ्चालकका रूपमा काम गर्नुभएका उहाँले हालसम्म तीन वटा पुस्तकहरू समेत लेखिसक्नुभएको छ । उहाँ न्युयोर्कबाट प्रकाशित हुने ‘नेपयोर्क’ का समेत प्रधान सम्पादक हुनुहुन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com