२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा बसाइँसराइको लहर : साउथ क्यारोलिना सबैभन्दा ‘आकर्षक गन्तव्य’

तस्वीर स्रोत : अनस्प्लास

अमेरिकामा आन्तरिक बसाइँसराइको ढाँचा तीव्र रूपमा बदलिँदै गएको छ। अमेरिकी सेन्सस ब्युरोद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार साउथ क्यारोलिना सन् २०२४ जुलाईदेखि २०२५ जुलाईसम्मको अवधिमा १ दशमलव ५ प्रतिशत जनसङ्ख्या वृद्धिदर हासिल गर्दै देशकै सबैभन्दा तीव्र गतिमा बढ्ने राज्य बनेको छ।

यो वृद्धिलाई मुख्यतः अनुकूल मौसम, तुलनात्मक रूपमा सस्तो जीवनयापन र विस्तार हुँदै गएको रोजगारी बजारसँग जोडेर हेरिएको छ। राज्यका अधिकारीहरूका अनुसार अन्य राज्यबाट बसाइँ सर्नेहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

साउथ क्यारोलिनाको डिपार्टमेन्ट अफ एम्प्लोयमेन्ट एण्ड वर्कफोर्सका अनुसार एक वर्षमै ६६ हजार ६२२ भन्दा बढी मानिस आन्तरिक बसाइँसराइमार्फत उक्त राज्यमा भित्रिएका छन्। यद्यपि, यो जनसङ्ख्या वृद्धि राज्यभर समान रूपमा नभई ८० प्रतिशतभन्दा बढी चाप १० प्रमुख काउन्टीहरूमा केन्द्रित रहेको छ।

विशेष गरी कोलम्बिया र ग्रीनभिल जस्ता सहरहरू स्वास्थ्य सेवा र प्रविधि क्षेत्रको तीव्र विस्तारका कारण नयाँ अवसर खोज्नेहरूको प्रमुख गन्तव्य बनेका छन्। यी क्षेत्रमा अस्पताल, आईटी सेवा र उत्पादन उद्योगको विस्तारले रोजगारी सिर्जना बढाएको देखिन्छ।

यसैबीच, अमेरिकाका महँगा र उच्च कर दर भएका राज्यहरूबाट पलायनको प्रवृत्ति पनि तीव्र बन्दै गएको छ। न्यु योर्क, इलिनोइ र क्यालिफोर्निया जस्ता राज्यहरूबाट मानिसहरू कम लागत र कम कर भएका क्षेत्रतर्फ सर्दै गएका छन्।

तथ्याङ्कका अनुसार न्युयोर्क र क्यालिफोर्नियाले प्रति घण्टा १० लाख डलरभन्दा बढी आम्दानी गुमाइरहेका छन्, जबकि फ्लोरिडा र टेक्सास जस्ता राज्यहरूमा सम्पत्ति र लगानी भित्रिने क्रम बढ्दो छ।

विज्ञहरूका अनुसार कर नीतिमा देखिएको भिन्नता, सस्तो आवासको उपलब्धता र जीवनस्तरमा सन्तुलन खोज्ने प्रवृत्तिले साउथ क्यारोलिना, नर्थ क्यारोलिना र टेनेसी जस्ता राज्यहरूलाई नयाँ रोजगारी र बसोबासका लागि आकर्षक केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।