‘बर्थ टुरिज्म’विरुद्ध ट्रम्प प्रशासन आक्रामक, गिरोहहरूको सञ्जाल ध्वस्त पार्न आदेश


प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले ‘बर्थ टुरिज्म’ (सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गरिने यात्रा)विरुद्ध आक्रामक अभियान सुरु गरेको छ। पर्यटकीय भिसाको दुरुपयोग गर्दै अमेरिकामा बच्चा जन्माएर स्वतः नागरिकता दिलाउने नेटवर्कहरूलाई लक्षित गरी कारबाही अघि बढाइएको हो।

अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) गत बिहीबार देशभरका अनुसन्धान अधिकृतहरूलाई आन्तरिक इमेलमार्फत ‘बर्थ टुरिज्म इनिसिएटिभ’मा केन्द्रित हुन निर्देशन दिएको जनाएको छ। उक्त इमेलमा विदेशी नागरिकहरूलाई अमेरिका लगेर सन्तान जन्माउन सहयोग गर्ने गिरोहहरूको सञ्जाल ध्वस्त पार्न आदेश दिइएको उल्लेख छ।

सन् २०२५ जनवरीमा पदभार सम्हालेपछि राष्ट्रपति ट्रम्पले कानुनी तथा गैरकानुनी दुवै प्रकारका अध्यागमन नियन्त्रण गर्ने नीति अघि बढाएका छन्। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले ‘अनियन्त्रित बर्थ टुरिज्म’ले अमेरिकी करदातामाथि आर्थिक भार बढाउनुका साथै राष्ट्रिय सुरक्षामा समेत जोखिम निम्त्याएको दाबी गरेकी छिन्।

ट्रम्प प्रशासनले यसअघि नै अमेरिकी भूमिमा जन्मिएका व्यक्तिले स्वतः नागरिकता पाउने व्यवस्थालाई चुनौती दिँदै कार्यकारी आदेश जारी गरिसकेको छ। यद्यपि, अमेरिकी कानुनअनुसार अमेरिकामा बच्चा जन्माउनु आफैंमा गैरकानुनी मानिँदैन।

तर, सन् २०२० मा लागू गरिएको नियमअनुसार नागरिकता दिलाउने उद्देश्यले अस्थायी पर्यटक वा व्यापारिक भिसा प्रयोग गर्न निषेध गरिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार यस्ता गतिविधिमा संलग्न व्यक्ति वा गिरोहलाई ठगी तथा अध्यागमनसम्बन्धी अपराधमा मुद्दा चलाइनेछ।

हाल यो विषय अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। ट्रम्प प्रशासनको तर्फबाट बहस गर्दै डी. जोन साउरले ‘बर्थ टुरिज्म’ उद्योगले अमेरिकाप्रति कुनै सम्बन्ध वा प्रतिबद्धता नभएका व्यक्तिहरूको नयाँ पुस्ता सिर्जना गरिरहेको तर्क गरेका छन्।

यसअघि सन् २०१९ मा पनि क्यालिफोर्नियामा चिनियाँ महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएका ‘बर्थ हाउस’ नेटवर्कविरुद्ध संघीय सरकारले कडा कारबाही गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com