क्यानाडाको विद्यार्थी भिसा प्रणालीमा गम्भीर लापरबाही, १५ लाख बढी केसमा छानबिन नै नभएको पुष्टि


प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

क्यानाडाकी अडिटर जनरल करेन होगनले अध्यागमन विभागको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै एक प्रतिवेदन सार्वजनिक गरेकी छिन्। सोमबार जारी गरिएको उक्त प्रतिवेदनअनुसार, उच्च जोखिम मानिएका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फाइलमाथि विभागले कुनै अनुसन्धान वा फलो-अप नगरेको पाइएको छ, जसले क्यानाडाको अध्यागमन प्रणालीको विश्वसनीयतामाथि नै धक्का पुर्‍याएको छ।

होगनले आफ्नो अडिटमा अध्यागमन विभागसँग विद्यार्थी भिसाको अनुसन्धान गर्न पर्याप्त स्रोतसाधन नभएको उल्लेख गरेकी छिन्। सयौं स्वीकृत आवेदनहरूमा जालसाज भएको उजुरी पर्दा समेत विभाग मौन बसेको र कुनै कारबाही नगरेको पाइएको छ। सन् २०२३ र २०२४ मा मात्रै करिब १ लाख ५० हजार विद्यार्थीहरूले भिसाको सर्त पालना नगरेको आशंकामा ‘फ्ल्याग’ गरिएको थियो, तर त्यसमध्ये अत्यन्तै न्यून संख्यामा मात्र छानबिन भएको छ।

प्रतिवेदनका अनुसार, १ लाख ५० हजार शंकास्पद केसहरूमध्ये संघीय सरकारले मात्र ४,००० केसमा अनुसन्धान सुरु गरेको थियो। त्यसमध्ये १,६०० केसहरू त ‘अनिर्णीत’ भन्दै बन्द गरियो किनभने विद्यार्थीहरूले अध्यागमन विभागको सम्पर्कको जवाफ दिएनन्। विभागका अधिकारीहरूले अडिटर जनरललाई बताएअनुसार, उनीहरूसँग सन् २०२८ सम्म वार्षिक केवल २,००० अनुसन्धानहरू मात्र गर्ने बजेट उपलब्ध छ।

अध्यागमन मन्त्री लेना डियाबले हाउस अफ कमन्सको समितिमा बोल्दै यो प्रतिवेदन सुधारको योजनाका लागि ‘प्रारम्भिक झलक’ मात्र भएको टिप्पणी गरेकी छिन्। उनले अनुसन्धान प्रक्रियालाई ‘केन्द्रिकृत’ र ‘छिटो’ बनाउने प्रतिबद्धता त जनाइन्, तर बजेट बढ्ने वा नबढ्ने बारे स्पष्ट जवाफ दिइनन्।

अडिटर जनरल होगनले सन् २०१८ देखि २०२३ को बीचमा ८०० यस्ता केसहरू फेला पारिन्, जहाँ विद्यार्थीहरूले नक्कली कागजात प्रयोग गरेका थिए। अचम्मको कुरा के छ भने, विभागले यी जालसाजी पुष्टि हुँदाहुँदै पनि कुनै एक्सन लिएन। यीमध्ये ९२ प्रतिशत व्यक्तिहरूले पछि अन्य भिसाका लागि आवेदन दिए र १०५ जनाले त क्यानाडाको स्थायी बसोबास समेत प्राप्त गरिसकेका छन्।

विपक्षी कन्जरभेटिभ पार्टीकी अध्यागमन समीक्षक मिशेल रेम्पेल गार्नरले मन्त्री डियाबको आलोचना गर्दै भनिन्, “प्रणाली सुधारका लागि कुनै ठोस योजना नहुनु र जालसाजी गर्नेहरूलाई पीआर दिनुले क्यानेडियनहरूको अध्यागमन प्रणालीप्रतिको विश्वास घटाएको छ।”

 क्यानाडाले सन् २०२७ सम्म अस्थायी आप्रवासीको संख्या ५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य राखेको छ। यसैको प्रभावस्वरूप विद्यार्थी भिसा स्वीकृतिको दरमा ठूलो गिरावट आएको छ। सन् २०२४ मा ३ लाख ४९ हजार भिसा स्वीकृत गर्ने लक्ष्य राखिएकोमा मात्र १ लाख ५० हजार स्वीकृत भयो, जुन ४१ प्रतिशत मात्र हो। सन् २०२५ को सेप्टेम्बरसम्म त यो दर झन् घटेर ३८ प्रतिशतमा झरेको छ।

अडिटर जनरलले भिसा अवधि सकिएका विद्यार्थीहरू क्यानाडा छाडेर गए-नगएको ट्र्याक गर्ने कुनै प्रभावकारी संयन्त्र विभागसँग नभएको पनि औंल्याएकी छिन्। सन् २०२४ मा भिसा सकिएका करिब ४० हजार विद्यार्थीलाई देश छाड्न भनिएकोमा मात्र १६ हजारले देश छाडेको रेकर्ड भेटिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com