बेलायत र क्यानडाका नागरिकलाई बिनाभिसा प्रवेश दिने चीनको घोषणा
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार
बेलायती प्रधानमन्त्री कियर स्टार्मर र चीनका राष्ट्रपति सी जिनपिङ । तस्वीर : कार्ल कोर्ट/एपी-रासस
चीनले बेलायत र क्यानडाका नागरिकलाई ३० दिनसम्म बिनाभिसा प्रवेश दिने घोषणा गरेको छ। यो व्यवस्था आगामी १७ फेब्रुअरीदेखि मुख्यभूमि चीनमा लागू हुनेछ।
चीनको विदेश मन्त्रालयका अनुसार पर्यटन, व्यापारिक भ्रमण तथा परिवार र आफन्त भेटघाटका लागि यो सुविधा प्रदान गरिएको हो। उक्त व्यवस्था प्रारम्भिक रूपमा सन् २०२६ डिसेम्बर ३१ सम्म लागू रहने जनाइएको छ।
यो निर्णय गत महिना बेलायती प्रधानमन्त्री किर स्टार्मरको चीन भ्रमणपछि आएको हो। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै दुई देशबीचको यात्रा नियम सहज बनाउने सहमति गरेका थिए। प्रधानमन्त्री स्टार्मरले यस सहमतिले बेलायती व्यवसायहरूलाई चीनमा विस्तार गर्न सहज हुने बताएका छन्।
यद्यपि, विपक्षी दलका केही नेताहरूले चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासमा मानवअधिकार र राष्ट्रिय सुरक्षाका विषयलाई बेवास्ता गरिएको टिप्पणी गरेका छन्। चीनको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा यो योजनाले “चीन र अन्य देशबीचको जनस्तरको आदानप्रदानलाई थप सुदृढ बनाउने” उल्लेख गरेको छ।
यससँगै बेलायत र क्यानडा भिसामुक्त प्रवेश सुविधा पाउने ५० देशको सूचीमा समावेश भएका छन्। यस सूचीमा फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलिया र जापानजस्ता देशहरू पहिले नै रहेका छन्।
तथ्याङ्कअनुसार सन् २०२४ मा करिब ६ लाख २० हजार बेलायती नागरिकले चीन भ्रमण गरेका थिए। नयाँ व्यवस्थाबाट धेरै बेलायती नागरिक लाभान्वित हुन सक्ने अनुमान गरिएको छ।
जनवरीमा सम्पन्न औपचारिक भ्रमण बेलायती प्रधानमन्त्रीको सन् २०१८ यताको पहिलो चीन भ्रमण थियो। भ्रमणका क्रममा दुवै देशबीच सेवा क्षेत्र, स्वास्थ्य, हरित प्रविधि र वित्त क्षेत्रमा सहकार्य बढाउने सहमति भए पनि कुनै व्यापक स्वतन्त्र व्यापार सम्झौता भने घोषणा गरिएको थिएन।
प्रधानमन्त्री स्टार्मरको चीन भ्रमण र बेलायतको केन्द्रभागमा नयाँ चिनियाँ दूतावास निर्माण योजनालाई स्वीकृति दिएको विषयलाई लिएर केही विपक्षी नेताहरूले आलोचना गर्दै सुरक्षा जोखिमको चिन्ता व्यक्त गरेका छन्।
