अमेरिकामा अनलाइन डेलिभरी चालकलाई आइसले पछ्याएपछि ..
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार
अमेरिकाको मिनियापोलिसमा डोरड्यास चालकलाई आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का एजेन्टहरूले पिछा गरेको उनका वकिलले बताएका छन्। डोरड्यास चालक भन्नाले अनलाइन एपमार्फत खाना तथा सामान डेलिभरी गर्ने सेवा प्रदायक व्यक्तिलाई बुझिन्छ।
डोरड्यास चालकका रूपमा कार्यरत आल्फ्रेडो अलेजान्द्रो अलजोर्नाले साँझ ड्युटीमा रहेका बेला आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का एजेन्टहरूले आफूलाई पछ्याइरहेको महसुस गरेको उनका वकिलले बताएका हुन्।
वकिलका अनुसार अलजोर्ना गाडी हाँकेर आफ्नो घर पुगेका थिए। त्यहाँ एक एजेन्टले उनलाई समातेर भुइँमा लडाए पनि उनी फुत्किएर घरभित्र छिर्न सफल भए। त्यही समयमा उनका भतिजा (भाइ) जुलियो सिजार सोसा–सेलिस ढोकामा उभिएका थिए। ढोका बन्द गरेर ताल्चा लगाउन खोज्दै गर्दा आइस एजेन्टले सोसा–सेलिसको खुट्टामा गोली हानेको दाबी गरिएको छ।
यो घटना संघीय एजेन्टले रेने गुडको गोली हानी हत्या गरेलगत्तै भएको हो। घटनापछि डीएचएस ले सार्वजनिक गरेको विवरण भने पीडित पक्ष र उनीहरूका परिवारले दिएको विवरणसँग मेल खाँदैन।
डीएचएसले सोसा–सेलिसले गाडी चलाइरहेको र उनले अलजोर्ना तथा अर्का एक व्यक्तिसँग मिलेर एजेन्टमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गरेको थियो। तर, जनवरी १६ मा अमेरिकी न्याय मन्त्रालयले अदालतमा दर्ता गरेको अभियोग पत्रमा गाडी अलजोर्नाले नै चलाइरहेको उल्लेख गरिएको छ। यसले डीएचएसको प्रारम्भिक विवरणमाथि प्रश्न उठाएको छ।
न्याय मन्त्रालयले दुवै भेनेजुएलाली नागरिकमाथिको आपराधिक मुद्दा फिर्ता लिन माग गर्दै अदालतमा निवेदन दर्ता गरेको छ। उक्त निवेदनमा संघीय अभियोजकहरूले अदालतलाई गलत सूचना दिएको स्वीकार गरिएको छ। आइसका निर्देशक टोड लायन्सले भिडियो प्रमाणको समीक्षापछि एजेन्टहरूले शपथ लिएर “झुटा बयान” दिएको पाइएको जनाएका छन्।
घटनामा संलग्न दुई संघीय एजेन्टलाई प्रशासनिक बिदामा राखिएको छ। उनीहरूलाई बर्खास्त गर्ने वा आपराधिक अभियोग लगाउने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।
न्याय मन्त्रालयको निवेदनमा “नयाँ प्रमाण” फेला परेको उल्लेख छ। अलजोर्नाका वकिल फ्रेडरिक जे. गोएट्जले भनेका छन्, “यो पूर्ण रूपमा असङ्गत बल प्रयोग थियो र त्यसलाई जायज देखाउन मेरा सेवाग्राही (क्लाइन्ट) विरुद्ध बनावटी आरोप लगाइयो।”
यस प्रकरणले संघीय निकायहरूले गोलीकाण्डपछि हतारमा सार्वजनिक गर्ने विवरणप्रति पुनः प्रश्न उठाएको छ। यसअघि रेने गुड र एलेक्स प्रेट्टीको गोलीकाण्डमा पनि भिडियो प्रमाण सार्वजनिक भएपछि सरकारी दाबी कमजोर देखिएको थियो।
गत वर्ष शिकागोमा मारीमार मार्टिनेजमाथिको मुद्दा पनि अभियोजन पक्षले फिर्ता लिएको थियो। सुरुमा उनले एजेन्टको गाडीलाई ठक्कर दिएको दाबी गरिए पनि पछि सार्वजनिक प्रमाणले एजेन्टको दाबी उल्टो देखाएको थियो।
सोसा–सेलिस र अलजोर्नामाथिको मुद्दा खारेज गरिनुलाई एक असाधारण कदम मानिएको छ। जसको अर्थ, सोही मुद्दा पुनः दर्ता गर्न मिल्दैन। कानुनी विश्लेषकहरूका अनुसार यसले प्रशासनको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ।
हालैका महिनाहरूमा संघीय एजेन्टहरूको कारबाहीसँग सम्बन्धित घटनाहरू विभिन्न कोणबाट खिचिएका भिडियोमार्फत सार्वजनिक भइरहेका छन्, जसले सरकारी विवरणलाई चुनौती दिँदै आएको छ। आप्रवासन नियन्त्रण कडा बनाउने अभियानका बीच संघीय सरकारको पारदर्शितामाथि बहस चर्किएको छ।
