जेलेन्स्कीको माग: अमेरिकाले कम्तीमा २० वर्ष युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्छ


प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाबाट कम्तीमा २० वर्षका लागि सुरक्षा ग्यारेन्टी चाहिएको बताएका छन्। सम्मानजनक शान्ति सम्झौतामा हस्ताक्षर गर्नुअघि युक्रेनले अमेरिकाबाट कम्तीमा २० वर्षका लागि सुरक्षा सुनिश्चितता आवश्यक ठानेको जेलेन्स्कीले बताएका हुन्।

उनले हालसम्म अमेरिकाले १५ वर्षको सुरक्षा ग्यारेन्टी प्रस्ताव गरेको तर युक्रेनले कम्तीमा २० वर्षको कानुनी रूपमा बाध्यकारी र स्पष्ट विवरणसहितको सम्झौता चाहेको उल्लेख गरेका छन्।

आगामी साता रुस र अमेरिकासँग हुने वार्ताअघि म्युनिखमा बोल्दै उनले युरोपेली संघमा युक्रेनलाई सदस्यता दिन स्पष्ट मिति तोक्न पनि आग्रह गरे। केही ईयू अधिकारीहरूले सन् २०२७ सम्ममा सदस्यता सम्भव हुन सक्ने संकेत गरेका छन्।

म्युनिख सुरक्षा सम्मेलनमा उनले भने, “आगामी साता हुने त्रिपक्षीय बैठकहरू गम्भीर, सार्थक र सबैका लागि उपयोगी होऊन् भन्ने मेरो आशा छ।”

शान्ति सम्झौता भएमा युक्रेनलाई कस्ता सुरक्षा ग्यारेन्टी दिने भन्ने विषयमा स्पष्टता नदिएको भन्दै युरोपमा अमेरिकाप्रति असन्तुष्टि देखिएको छ। युरोपेली पक्षले सम्झौताअघि नै सुरक्षा प्रबन्ध स्पष्ट हुनुपर्नेमा जोड दिँदै आएको छ।

सम्मेलनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपसँग सहकार्य गर्न अमेरिका तयार रहेको प्रस्ताव अघि सारे। तर उनले यो प्रस्ताव सर्तसहित भएको स्पष्ट पारे—जलवायु, आप्रवासन र भन्सार शुल्कजस्ता विषयमा अमेरिकाका सर्तहरू पूरा नभए अमेरिका एक्लै अघि बढ्न सक्ने उनले संकेत दिए।

एक वर्षअघिको सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले कडा भाषण दिएका थिए भने यसपटक रुबियोले कूटनीतिक शैली अपनाउँदै “युरोप र अमेरिका सँगै हुन्” भने। उनले आवश्यक परे अमेरिका एक्लैले विश्व व्यवस्थाको पुनर्निर्माणको जिम्मा लिन तयार रहेको तर “हामी यो काम तपाईंहरू, युरोपका मित्रहरूसँग मिलेर गर्न चाहन्छौँ” भने।

रुसको आक्रमणबारे उनले धेरै चर्चा गरेनन्, तर भारतलाई रुसी तेल आयात रोक्न दबाब दिएको दाबी गरेका छन्। यद्यपि, उनको दाबीलाई रुसले अस्वीकार गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

म्युनिखमै आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेन डोनबास क्षेत्रबाट पछि हटेमा छिटो शान्ति सम्भव हुने बताएको खुलासा गरे।

तर उनले त्यस्तो सर्त असम्भव भएको बताए, किनकि त्यहाँ युक्रेनी नागरिकहरू बसोबास गर्छन्। उक्त सम्झौताले सम्भावित युरोपेली आश्वासन बललाई अमेरिकाले दिने सहयोगसमेत स्पष्ट गर्नुपर्नेमा उनले जोड दिए।

युक्रेनी खनिज स्रोतमा अमेरिकालाई पहुँच दिने भनिएको “समृद्धि योजना” सम्बन्धी विस्तृत विवरण अहिलेसम्म आदानप्रदान नभएको पनि जेलेन्स्कीले बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com