अमेरिका समर्थक प्रधानमन्त्री ताकाइचीको एलडीपीलाई जापानमा दुई तिहाइ बहुमत
प्रकाशित मिति : माघ २५, २०८२ आईतबार
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न आकस्मिक निर्वाचनमा दुई तिहाइ सिटसहित ऐतिहासिक जित हासिल गरेको छ।
यसअघि १९८ सिट रहेको एलडीपीले यसपटक एक्लै ३१६ सिट जितेको हो। ४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाइ बहुमतका लागि ३१० सिट आवश्यक पर्नेमा एलडीपीले सो सङ्ख्या पार गरेको छ।
यसैगरी, एलडीपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। योसँगै ताकाइचीको सत्तारुढ गठबन्धनको पक्षमा कुल ३५२ सिट पुगेको छ।
ऐतिहासिक रेकर्ड जापानमा सन् १९५५ मा एलडीपी स्थापना भएयताको यो सबैभन्दा ठूलो जित हो। यसअघि सन् १९८६ मा तत्कालीन प्रधानमन्त्री यासुहिरो नाकासोनेले ३०० सिट जितेर कायम गरेको रेकर्डलाई ताकाइचीले तोडेकी छन्।
राजनीतिक यात्रा र चुनौती जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले पार्टी नेतृत्व सम्हालेको चार महिनापछि नै स्पष्ट जनादेशका लागि आकस्मिक निर्वाचनको घोषणा गरेकी थिइन्। उनको यो सफलता अघिल्ला दुई प्रधानमन्त्रीहरूको कार्यकालको तुलनामा निकै उत्साहजनक देखिएको छ। ती प्रधानमन्त्रीहरूको पालामा भ्रष्टाचार काण्ड र बढ्दो महँगीका कारण एलडीपीले संसदीय बहुमत गुमाएको थियो।
ताकाइचीले यसअघि आफ्नो पार्टीले बहुमत नपाएमा पदबाट राजीनामा दिने घोषणा गरेकी थिइन्। त्यसैले धेरैले यस निर्वाचनलाई उनको राजनीतिक जीवनकै ठूलो जोखिमका रूपमा हेरेका थिए। सन् २०२४ मा एलडीपीले संसदका दुवै सदनमा बहुमत गुमाउनुका साथै कोमेटो पार्टीसँगको दशकौँ पुरानो गठबन्धन पनि भङ्ग भएको थियो। तर, ताकाइचीको व्यक्तिगत लोकप्रियता (जुन ७० प्रतिशतभन्दा माथि रहेको छ) ले पार्टीलाई पुन: शक्तिशाली बनाएको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताकाइचीलाई जितको अग्रिम बधाई दिँदै आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा उनलाई “अत्यन्त सम्मानित र निकै लोकप्रिय” नेतृ भनेका छन्। त्यस्तै, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले “जापान बलियो हुँदा एसियामा अमेरिका पनि बलियो हुने” उल्लेख गर्दै उनको जितको प्रशंसा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ताकाइचीलाई “ऐतिहासिक” नतिजाका लागि बधाई दिँदै भारत–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
३६ वर्षपछि पहिलोपटक मध्य जाडोमा भएको यस निर्वाचनमा जापानभरका मतदाताहरू भारी हिमपातका बावजुद उत्साहका साथ मतदान केन्द्रमा पुगेका थिए।






