यूएससीआईएसले तलबका आधारमा छनोट गर्ने नयाँ नियमअन्तर्गत कामदार भिसाका लागि दर्ता खोल्दै
प्रकाशित मिति : माघ १६, २०८२ शुक्रबार
यूएससीआईएसले तलबका आधारमा छनोट गर्ने नयाँ नियमअन्तर्गत कामदार भिसाका लागि दर्ता खुला गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०२७ का लागि एच–१बी कामदार भिसाको दर्ता अवधि आगामी मार्च ४ देखि सुरु हुने भएको छ।
यूएससीआईएसका अनुसार पूर्वी अमेरिकी समय अनुसार दिउँसो १२ बजेदेखि सुरु हुने दर्ता अवधि मार्च १९ मा समाप्त हुनेछ। सो अवधिमा एच–१बी क्यापअन्तर्गत आवेदन दिन इच्छुक रोजगारदाताले यूएससीआईएसको अनलाइन खातामार्फत प्रत्येक लाभग्राहीको दर्ता गर्नुपर्नेछ।
प्रत्येक दर्ताका लागि २१५ अमेरिकी डलर शुल्क लाग्नेछ। अनलाइन खाता नभएकाले दर्ता सुरु हुनु अघि खाता सिर्जना गर्नुपर्नेछ। दर्ता अवधि समाप्त भएपछि, यूएससीआईएसले चयन भएका लाभग्राहीका रोजगारदाता तथा उनीहरूका प्रतिनिधिलाई मार्च ३१, २०२६ भित्र अनलाइन खातामार्फत जानकारी गराउनेछ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले हालै प्रकाशित गरेको अन्तिम नियमअनुसार, आर्थिक वर्ष २०२७ देखि एच–१बी चयन प्रणालीमा परिवर्तन गरिएको छ। नयाँ नियमअनुसार, उच्च सीप र उच्च तलब पाउने विदेशी कामदारहरूलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ।
यस कदमको उद्देश्य अमेरिकी कामदारहरूको तलब, कामको अवस्था र रोजगारीका अवसरहरूको सुरक्षा गर्नु रहेको जनाइएको छ। प्रारम्भिक दर्ता अवधिमा प्राप्त दर्ता संख्या वार्षिक क्यापभन्दा बढी भएमा यूएससीआईएसले योग्य लाभग्राहीहरूलाई तलबका आधारमा चयन गर्नेछ। तर, दर्ता संख्या क्यापभन्दा कम वा बराबर भएमा सबै योग्य दर्ताहरू चयन गरिनेछन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ सेप्टेम्बर १९ मा जारी गरेको कार्यकारी आदेशलाई एच–१बी कार्यक्रम सुधारका प्रारम्भिक कदमका रूपमा लिइएको छ। यद्यपि, उक्त आदेशले दर्ता प्रक्रियामा प्रत्यक्ष प्रभाव नपरे पनि, चयन भएका केही रोजगारदाताले अमेरिकाबाहिर रहेका लाभग्राहीका लागि आवेदन दर्ता गर्नुअघि अतिरिक्त १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था हुनेछ।






