भीषण हिउँदे तुफानले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावित, अत्यावश्यक कामका लागि फोनमार्फत सम्पर्क आग्रह


प्रकाशित मिति : माघ ११, २०८२ आईतबार

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले पूर्वी अमेरिकामा आएको भीषण हिउँदे तुफानका कारण सेवा सञ्चालनसम्बन्धी सूचना जारी गर्दै विशेषगरी अमेरिकाको ईस्ट कोस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक तथा प्रवासी समुदायलाई खराब मौसमका बेला विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

न्यूयोर्क सिटी इमर्जेन्सी म्यानेजमेन्ट डिपार्टमेन्ट र अमेरिकी राष्ट्रिय मौसम सेवाले आइतबार र सोमबारका लागि जारी गरेको ‘विन्टर स्टर्म वार्निङ’ तथा अन्य मौसमसम्बन्धी चेतावनीलाई ध्यानमा राख्दै महावाणिज्यदूतावासले उक्त सूचना जारी गरेको हो। ती निकायहरूले आइतबार र सोमबार हिउँ, चिसो हावा र न्यून दृश्यताका कारण यात्रा जोखिमपूर्ण हुने भन्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेका छन्।

महावाणिज्यदूतावासले पनि नेपाली समुदायलाई स्थानीय प्रशासनले जारी गरेका सुरक्षासम्बन्धी निर्देशनहरू पालना गर्न, अनावश्यक यात्रा नगर्न तथा सम्भव भएसम्म घरभित्रै सुरक्षित रहन अनुरोध गरेको छ।

सोमबार, जनवरी २६, २०२६ का दिन खराब मौसमको जोखिमलाई मध्यनजर गर्दै महावाणिज्यदूतावासले नियमित कन्सुलर सेवा स्थगित गरी सीमित क्षमतामा वा रिमोट माध्यमबाट मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको छ। सो दिनका लागि पहिले नै निर्धारण गरिएका सबै कन्सुलर अपोइन्टमेन्ट तथा अन्य भेटघाट कार्यक्रमहरू अर्को दिनका लागि सारिने महावाणिज्यदूतावासले जानकारी दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँदे तुफानको समयमा पासपोर्ट, ट्राभेल डकुमेन्ट, आपतकालीन प्रमाणीकरणजस्ता अत्यावश्यक कन्सुलर सेवाको आवश्यकता परेमा कन्सुल प्रेमबहादुर बुढाथापा तथा कार्यालय सचिव नवराजसँग सिधा सम्पर्क गर्न महावाणिज्यदूतावासले अनुरोध गरेको छ। आपतकालीन सेवाका लागि बुढाथापालाई मोबाइल नम्बर ९१७–७२३–०००५ र नवराजलाई मोबाइल नम्बर ९२९–२५७–४९९७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com