अध्ययन गर्न रुस गएका दिनेश २ वर्षदेखि सम्पर्कविहीन


प्रकाशित मिति : माघ ३, २०८२ शनिबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेकोे दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए ।

बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन् ।” दिनेशका बुबा कर्णसिंहले भने, “१०–१५ दिनका लागि युद्धमा जान्छु आएपछि फोन गर्छु भन्थ्यो, १०–१५ दिनको अन्तरमा फोन गर्ने गथ्र्यो, तर विसं २०८० मङ्सिर १० गतेपछि छोरासँग सम्पर्क हुन सकेको छैन ।” सोही मितिमा अन्तिम पटक छोरासँग सम्पर्क भएको थियो । त्यसयता दिनेशका आमा बुवा विक्षिप्त छन् ।

परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन । पढाइका लागि भनेपछि ऋण खोजेर विदेश पठाइएको छोरा सम्पर्कविहीन भएपछि परिवारमा छोराको चिन्ता छ छँदैछ, ऋण तिर्ने चिन्ताले पनि पिरलेको छ । रुस पुगेपछि कलेजमा भर्ना भएका दिनेश बिदाको समय मिलाएर काम गर्न थालेका थिए ।

एक महिना काम गरेर घरमा नेपाली ५० हजार पठाएको बुवाले बताए । “भदौ १२ गते फोन गरेर रसियन आर्मीमा भर्ना भएको सुनायो, त्यतिबेलै चिन्ता लाग्न थालिसकेको थियो”, बुवा कर्णले भने, “प्रलोभनमा परेर हाम्रो कुरा टारेर रुसी सेनामा गयो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिनेशका मामाका छोरा रोहनसँगै अध्ययनका लागि रसिया गएका थिए । रोहन दिनेशभन्दा एक महिनाअघि त्यहाँको सेनामा भर्ति भएका थिए । रोहनलाई देखेर दिनेश सेनामा भर्ना भएको बुवा कर्णसिंहले बताए । “रोहन नौ महिनामा भागेर घर फर्कियो, मेरो छोराको अत्तोपत्तो छैन”, उनले भने, “छोराको खोजीका लागि सरकारसँग हारगुहार गर्दा हालसम्म पहल भएको छैन ।”

उनले छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको जानकारी दिए । परराष्ट्र मन्त्रालयले दिनेशलाई नेपाल फिर्ता पठाउन आवश्यक पहल गरिदिन विसं २०८१ साउन १४ गते मस्कोस्थित नेपाली दूतावासलाई पत्राचार गरिसकेको छ । तर, अहिलेसम्म थप जानकारी परिवारले पाउन सकेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com