न्युयोर्क सिटीका मेयर मम्दानीद्वारा नयाँ कार्यकारी आदेशहरु जारी, अभियोग पछिका एरिक आडम्सका आदेश खारेज
प्रकाशित मिति : पुस १६, २०८२ बिहीबार
न्यूयोर्क सिटीका मेयर जोहरान मामदानीले सहरको आवास संकट समाधानका लागि तीनवटा कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् । ‘मेयर अफिस टु प्रोटेक्ट टेनेन्ट्स’ लाई पुनर्जीवित गर्ने र आवास निर्माणलाई तीव्रता दिन, न्यूयोर्कवासीहरूलाई छिटो घर उपलब्ध गराउन र उपयुक्त सरकारी स्वामित्वका जग्गाहरू पहिचान गरी आवास आपूर्ति बढाउन दुईवटा नयाँ कार्यदल (टास्क फोर्स) हरू गठन गरिएका छन्। बिहीबार, जनवरी १, २०२६ का दिन ब्रुकलिनस्थित एउटा अपार्टमेन्ट भवनमा यी आदेशहरूमा हस्ताक्षर गर्दै उनले एक भाडावालको कोठाको पनि अवलोकन गरेका थिए । (तस्बिर: माइकल एप्पलटन/मेयरल फोटोग्राफी अफिस)
न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान मम्दानीले बिहीबार पदभार ग्रहण गरेकै दिन थुप्रै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन्। उनले पूर्व मेयर एरिक आडम्समाथि सेप्टेम्बर २०२४ मा भ्रष्टाचारको अभियोग लागेयता जारी गरिएका अधिकांश कार्यकारी आदेशहरूलाई खारेज गरिदिएका छन
बिहीबार सिटी हलमा सम्बोधन गर्दै मम्दानीले आजको दिनलाई एक नयाँ युगको रूपमा लिने र त्यो आशा पूरा गर्नका लागि विगतका केही महिना, वर्ष र दशकहरूमा धेरै न्युयोर्कवासीहरू राजनीतिबाट टाढिएको कारण बुझनुपर्ने बताएका छन् । मम्दानीको नयाँ कार्यकारी आदेशले २६ सेप्टेम्बर २०२४ पछि एडम्सले दिएका सबै निर्देशनहरूलाई रद्द गर्नेछ। सोही दिन एडम्समाथि संघीय ग्रान्ड जूरीले भ्रष्टाचारको आरोप लगाएको थियो।
मम्दानीले एरिक आडम्समाथि अभियोग लागेको दिनमा धेरै न्युयोर्कवासीहरूले राजनीतिमा आफ्नो लागि केही बाँकी नभएको महसुस गरेको बताए । एरिक आडम्स न्युयोर्कको इतिहासमा अभियोग लाग्ने पहिलो मेयर बनेका थिए। उनीमाथि टर्कीबाट अवैध रकम लिएर न्युयोर्कमा टर्कीको वाणिज्य दूतावास निर्माणमा सहयोग गरेको आरोप लागेको थियो।
यद्यपि, सन् २०२५ को फेब्रुअरीमा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु भएलगत्तै डिपार्टमेन्ट अफ जस्टिसले उक्त मुद्दा फिर्ता लिएको थियो। उक्त कदमको डेमोक्र्याटहरूले कडा आलोचना गरेका थिए भने सो मुद्दामा संलग्न अभियोजकहरूले सामूहिक राजीनामा दिएका थिए। एक अभियोजकका अनुसार एडम्सलाई आफ्नो मुद्दा खारेज गराउन अध्यागमन प्रवर्तन सहायताको अनुचित प्रस्ताव गरेको बदलामा पुरस्कृत गरिएको थियो।
आफ्नो सम्बोधनमा माम्दानीले आजदेखि व्यापक र साहसी ढंगले स्थानीय सरकार चलाउने बताएका थिए । सधैं सफल नहुन सकिने भएतापनि प्रयास गर्ने साहसको कमी भएको आरोप आफूहरुलाई कहिल्यै नलाग्ने उनले दावी गरेका थिए ।
मेयर मम्दानीले न्युयोर्कको आवास संकट समाधान गर्न तीनवटा कार्यकारी आदेशहरूमा पनि हस्ताक्षर गरेका छन् । आवास परियोजनाहरूलाई गति दिन ल्याण्ड इन्भेन्टरी फास्ट ट्रयाक र स्ट्रिमलाइनिङ प्रोसिडियर्स नामक दुईवटा टास्क फोर्स गठन गरिएको छ।
भाडावालाहरूको अधिकार संरक्षणका लागि मेयर्स अफिस टु प्रोटेक्ट टेनेन्ट्सको निर्देशकमा सिया वेभरलाई नियुक्त गरिएको छ। मम्दानीले अघिल्लो मेयरको तुलनामा कम अर्थात् पाँच जना मात्र उपमेयरहरू रहने आदेश दिएका छन्।
मम्दानीले कुनै लाज वा असुरक्षा बिना शासन गर्ने बताउँदै भने, “म एक डेमोक्र्याटिक सोसलिस्टका रूपमा निर्वाचित भएको हुँ र त्यसरी नै शासन गर्नेछु। कट्टरपन्थी भनिने डरले म आफ्ना सिद्धान्तहरू त्याग्ने छैन।”





