अमेरिका यात्रा गर्दै हुनुहुन्छ? खानेकुरा ल्याउँदा ध्यान दिनुहोस्, नत्र १० हजार डलरसम्म जरिवाना


प्रकाशित मिति : पुस १२, २०८२ आईतबार

a couple of trays of meat

अमेरिका भ्रमण गर्दा ल्याउन पाइने खानेकुराबारे अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले नयाँ अपडेट प्रकाशित गर्दै, विदेशबाट व्यक्तिगत प्रयोगका लागि ल्याइने खानेकुरा घोषणा नगरेमा ठूलो आर्थिक जरिवाना र कानुनी झमेला आइपर्न सक्ने चेतावनी दिएको छ।

कृषि मन्त्रालयको मापदण्ड अनुसार केही विशिष्ट खाद्य सामग्री मात्र अमेरिका ल्याउन अनुमति दिइएको छ। धेरैजसो ताजा वा फ्रोजन फलफूल र तरकारीमा किरा वा रोग हुन सक्ने भएकाले प्रतिबन्ध लगाइएको छ। यात्रुलाई हवाईजहाज वा पानीजहाजमा दिइने ताजा फलफूल वा तरकारी पनि ल्याउनु हुँदैन। यद्यपि बोक्रा निकालिएको लसुन, सफा गरिएको अदुवा, जटा निकालिएको नरिवल, एलोभेराको जमिनमाथिको भाग, इम्लीजस्ता केही वस्तु ल्याउन पाइन्छ।

त्यस्तै, यात्रुले व्यावसायिक रूपमा क्यानमा राखिएका फलफूल र तरकारी अमेरिका ल्याउन सक्छन्, तर तिनलाई भन्सार फारममा घोषणा गर्नुपर्छ। घरमा क्यानमा हालिएका उत्पादनलाई प्रवेश अनुमति छैन। धेरैजसो ड्राइ फलफूल र तरकारीलाई किरा र रोगको आगमन रोक्नका लागि तोकिएका विशेष आवश्यकताहरू पूरा नगरी अमेरिकामा ल्याउन पाइँदैन। तर सिमी, खजूर, नेभारा, बदाम, भेंडी, मटर, किसमिस र सेचुवान खुर्सानीजस्ता सुकाएका फलफूल र तरकारी घोषणा गरेर ल्याउन पाइन्छ।

यात्रुले क्यानडाबाट ३ पाउण्डसम्मको माटो आयात गर्न सक्छन्, तर त्यो क्वारेन्टाइनमा राखिएको वा राउन्डवर्मबाट संक्रमित क्षेत्रबाट आएको हुनु हुँदैन। त्यस्तै, अन्य सबै देशको माटो अनुमतिपत्र र अनुमोदित माटो उपचार बिना अमेरिकामा प्रवेश गराउन मिल्देन। पीट, बालुवा, क्ले, स्मारिका चट्टान वा ढुङ्गा आयात गर्दा ती माटो वा कुनै पनि जैविक पदार्थबाट पूर्ण रूपमा मुक्त भएको प्रमाणित गर्न अमेरिकी भन्सार निरीक्षकसमक्ष सक्षम हुनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मासु, दूध, अण्डा, कुखुरा र यी सामग्रीबाट बनेका उत्पादनसहितका अधिकांश वस्तु अमेरिकामा ल्याउन निषेध गरिएको छ वा कडा प्रतिबन्ध लागू गरिएको छ। जनावरको रोग र खाद्य सुरक्षाबारे चिन्ताका कारण सुँगुर र सुँगुरको मासुजन्य उत्पादनमा कडा नियम र प्रतिबन्ध छन्। अमेरिकी कृषि मन्त्रालयले केही गम्भीर पशु रोगबाट प्रभावित देशबाट अधिकांश गाईवस्तु, सुँगुर, भेडा वा बाख्राको मासु वा मासुजन्य उत्पादन ल्याउन अनुमति दिँदैन।​

खोरेत रोग, म्याड काउ डिजिज, सुँगुरको भेसिकुलर रोग, क्लासिकल स्वाइन फिभर, अफ्रिकन स्वाइन फिभरजस्ता पशु रोगबाट प्रभावित देशबाट अधिकांश गाईवस्तु, सुँगुर, भेडा वा बाख्राको मासु वा मासुजन्य उत्पादन ल्याउन पाइँदैन। नेपाल एभियन फ्लुबाट प्रभावित देशको सूचीमा पर्ने भएकाले पन्छीजन्य उत्पादित मासु ल्याउन पाइँदैन।

त्यस्तै, नेपाल अफ्रिकन स्वाइन फिभर प्रभावित देशमा पर्ने भएकाले सुँगुरको मासु पनि अमेरिका ल्याउन पाइँदैन। यी रोग नभएका देशबाट यात्रुले चिसो वा जमेको ताजा मासु, पकाइएका, क्युर गरिएको वा सुकुटी मासु ल्याउन सक्छन्। तर यसका लागि उक्त उत्पादन कुन देशको हो भन्ने प्रमाणित गर्ने आधिकारिक कागजात अनिवार्य छ। अर्थात् आधिकारिक कागजात भएको खण्डमा नेपालबाट सुँगुर र कुखुराबाहेक प्याकेज गरिएको, लेबल लगाइएको, नखोलिएको र हावा नछिर्ने गरी बन्द गरिएको कन्टेनरमा हड्डी नभएको अन्य मासु वा सुकुटी अमेरिका ल्याउन पाइन्छ, तर विमानस्थलमा घोषणा गर्नुपर्छ।​

​अमेरिका आउँदा घोषणा गरेर के के ल्याउन पाइन्छ भन्नेबारे थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

आधिकारिक कागजातका उदाहरणमा प्याकेजको लेबल, लिखित कागजात, यात्राको प्रमाण, उडानको उत्पत्ति स्थल, खरिद बिल, भन्सार कागजात, मासु निरीक्षण प्रमाणपत्र वा उत्पत्ति प्रमाणपत्र पर्दछन्। यात्रुले व्यावसायिक रूपमा प्याकेज गरिएको, लेबल लगाइएको, नखोलिएको र हावा नछिर्ने गरी बन्द गरिएको कन्टेनरमा हड्डी नभएको मासु ल्याउन सक्छन्। यस्तो मासु व्यावसायिक तरिकाले पकाइएको र फ्रिजमा नराख्दा पनि नबिग्रने किसिमको हुनुपर्छ।

यात्रुले कुनै पनि वस्तु ५० पाउण्डभन्दा बढी ल्याउन पाउँदैनन्। ५० पाउण्डभन्दा बढीको सामानलाई व्यावसायिक ढुवानी मानिनेछ र त्यसका लागि थप प्रक्रिया पूरा गर्नुपर्नेछ। फ्रान्स, जर्मनी, इटाली र स्पेनका केही क्षेत्रबाट प्रोशुटो, सेरानो ह्याम, इबेरियन ह्याम र सालामीलगायत क्युर गरिएको ह्याम यात्रुले व्यक्तिगत रूपमा अमेरिका ल्याउन पाउँदैनन्। यस्ता वस्तु विशेष प्रमाणपत्र र कागजात आवश्यक पर्ने भएकाले व्यावसायिक ढुवानीका रूपमा मात्र ल्याउन पाइन्छ।

यात्रुलाई सबै कृषि र वन्यजन्तु उत्पादन घोषणा गर्न आवश्यक छ। सीबीपी अधिकारी र कृषि विशेषज्ञले घोषित तथा अघोषित दुवै प्रकारका वस्तुको निरीक्षण गर्न सक्छन् र कुन उत्पादन अमेरिकामा प्रवेश योग्य छ भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार राख्छन्।​

फलफूल, मासु वा अन्य कृषि उत्पादनजस्ता खाद्य वस्तु ल्याउन पाइने नपाइने कुरा कुन देशबाट आएको हो भन्ने कुरामा पनि निर्भर हुन्छ। अमेरिकामा ल्याइने सबै कृषि उत्पादन घोषणा गरिएको खण्डमा कृषि विशेषज्ञले देशमा प्रवेश गर्न नसक्ने निर्णय गरे पनि यात्रुलाई दण्डित नगरिने सीबीपीले जनाएको छ। तर यदि यात्रुले खाद्य उत्पादन घोषणा गर्न असफल भएमा १० हजार डलरसम्म जरिवाना तिर्नु पर्ने हुनसक्ने चेतावनी सीबीपीले दिएको छ।

यदि यात्रुले खानेकुरा लुकाए वा घोषणा नगरेमा ती वस्तु तत्काल जफत गरिनुका साथै ३०० डलरदेखि १० हजार डलरसम्म जरिवाना हुन सक्छ र ग्लोबल इन्ट्रीजस्ता सुविधा लिनेको सदस्यता रद्द हुन सक्छ। यो जानकारी यात्रुले आफ्नो साथमा ल्याउने सामानका लागि मात्र हो। कुरियर वा हुलाक सेवामार्फत पठाइने खानेकुराका लागि छुट्टै र अझ कडा व्यावसायिक नियम लागू हुन्छन्।

आफूले ल्याएका वस्तुबारे शंका लागेमा विमानस्थलमा घोषणा गर्न सुझाव दिइएको छ। आफूले बोकिरहेको सामान ल्याउन मिल्ने हो कि होइन भन्नेमा दुविधा भएमा विमानस्थलमा रहेको कृषि विशेषज्ञ वा सीबीपी अधिकृतलाई सोध्नु नै उत्तम उपाय हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com