न्यूयोर्ककी गभर्नरले असाध्य रोगीका लागि ‘मर्न पाउने अधिकार’को बिलमा हस्ताक्षर गर्ने


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

(ड्यारेन म्याकगी / गभर्नर क्याथी होकुलको कार्यालय)

न्यूयोर्ककी गभर्नर क्याथी होकुलले बुधबार असाध्य रोग लागेका न्यूयोर्कवासीहरूलाई आफ्नै इच्छाले जीवन अन्त्य गर्न अनुमति दिने विधेयकमामा हस्ताक्षर गर्ने बताएकी छन्। धार्मिक नेताहरू र अधिकारकर्मीहरूबीच एक दशकदेखि जारी भावनात्मक बहसलाई अन्त्य गर्दै उनले यो निर्णय लिएकी हुन्।

यो कानुन निको नहुने र अपरिवर्तनीय रोगबाट ग्रसित वयस्कहरूका लागि लागू हुनेछ। साथै, जीवन अवधि ६ महिना वा सोभन्दा कम बाँकी रहेका बिरामीहरूका लागि मात्र यो व्यवस्था हुनेछ। प्रत्येक बिरामीले यस प्रक्रियाका लागि तीन जना चिकित्सकको सहमति लिनुपर्नेछ। अमेरिका का १२ राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियामा यस्ता कानुनहरू पहिल्यै लागू भइसकेका छन्। क्याथोलिक चर्च र केही अपाङ्गता अधिकारकर्मीहरूले भने यसलाई ‘सहयोग प्राप्त आत्महत्या’ भन्दै निरन्तर विरोध गर्दै आएका छन्।

क्याथोलिक समुदायमा हुर्किएकी गभर्नर होकुलले यो आफ्नो कार्यकालका सबैभन्दा कठिन निर्णयमध्ये एक भएको बताएकी छन्। आफ्नी आमाको असाध्य रोगका कारण भएको पीडादायी मृत्यु सम्झँदै उनले आमालाई हिँड्ने, खाने र बोल्ने क्षमता गुमाउँदै डुँगिएको अवस्थासम्म असहाय रूपमा हेर्नुपरेको उल्लेख गरेकी छन्। आफ्ना प्रियजनलाई पीडामा देख्दाको अनुभव आफूले राम्ररी बुझ्न सक्ने बताउँदै उनले यो कानुन मानवीय संवेदनशीलताको प्रतीक भएको अभिव्यक्ति दिइन्।

धार्मिक विवादको प्रसङ्गमा उनले यो कदम आफ्नो व्यक्तिगत विचारभन्दा पनि २ करोड न्यूयोर्कवासीहरूको जीवनसँग सम्बन्धित रहेको बताइन्। सम्भावित दुरुपयोग रोक्न उनले केही महत्त्वपूर्ण संशोधनहरू गरेकी छन्। तेस्रो चिकित्सकद्वारा मनोचिकित्सक वा मनोवैज्ञानिक प्रमाणित प्रतिवेदन आवश्यक पर्ने प्रावधान राखिएको छ, जसले बिरामीमाथि कुनै दबाब नभएको सुनिश्चित गर्न सहयोग गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्णय फेर्नका लागि ५ दिनको वेटिङ पिरियड राखिएको छ। यो कानुन केवल न्यूयोर्कमा स्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूका लागि सीमित हुनेछ। मानसिक रोग मात्र भएका व्यक्ति यसका लागि योग्य हुने छैनन्।

न्यूयोर्क स्टेट साइकियाट्रिक एसोसिएसन र मेडिकल सोसाइटीलगायत संस्थाहरूले यसको स्वागत गरेका छन्। विधेयकका प्रस्तावक सिनेटर ब्र्याड होइलम्यान सिगलले यो जीवन छोट्याउने होइन, मृत्युको पीडालाई छोट्याउने कानुन भएको बताएका छन्।

तर, न्यूयोर्क स्टेट क्याथोलिक कन्फरेन्सले यसलाई “अत्यन्तै गलत निर्णय” भन्दै राज्यले आफ्ना कमजोर नागरिकको बेवास्ता गरेको आरोप लगाएको छ। रिपब्लिकन नेताहरूले पनि यसलाई “नैतिक असफलता” भनेका छन्।

हालैको एक सर्वेक्षणअनुसार, ५४ प्रतिशत न्यूयोर्कवासीले यो विधेयकको समर्थन गरेका छन्। जनवरीमा व्यवस्थापिका बैठक बसेपछि र गभर्नरका संशोधनहरू औपचारिक रूपमा पारित भएपछि कानुन रूपमा यसले कार्यान्वयनको बाटो पाउनेछ। हस्ताक्षर भएको ६ महिनापछि यो व्यवस्था लागू हुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com