रहेनन् विश्वप्रसिद्ध आर्किटेक्ट फ्रान्क गेहरी
प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार
विश्वप्रसिद्ध वास्तुकार फ्रान्क गेहरीको ९६ वर्षको उमेरमा निधन भएको छ। साहसी र कल्पनाशील डिजाइन्स (ढल्किएका टावर र बग्ने धातुको पानाबाट सजिएका भवन) का कारण ‘स्टार आर्किटेक्ट’का रूपमा परिचित गेहरीको निधन शुक्रबार सान्टा मोनिका स्थित घरमै भएको हो। उनको प्रमुख सहयोगी मेघन लोयडले श्वासप्रश्वाससम्बन्धी रोगपछि निधन भएको जानकारी दिएकी छन्।
गेहरीका कृति संसारभर चर्चित छन्। विशेषगरी स्पेनको बिलबाओस्थित गुगेनहेम संग्रहालयले आधुनिक वास्तुकलामा नयाँ अध्यायको सुरुवात गरेको मानिन्छ। २०१० मा भ्यानिटी फेयरले यस भवनलाई १९८० पछि बनेको सबैभन्दा महत्वपूर्ण वास्तुकला कृति घोषित गरेको थियो। प्रशंसकहरूले उनलाई “हाम्रो समयका महानतम वास्तुकार” भने पनि गेहरी स्वयं ‘स्टारकिटेक्ट’ भनिन मन नपराउँथे।
उनका अन्य प्रसिद्ध परियोजनाहरूमा लस एन्जेलसको वॉल्ट डिज्नी कन्सर्ट हल, प्रागको ‘डान्सिङ हाउस’, सिएटलको ‘एक्स्पिरियन्स म्युजिक प्रोजेक्ट’ र न्युयोर्कको ‘८ स्प्रुस’ आवासीय टावर रहेका छन्। २०१५ मा उनीद्वारा डिजाइन गरिएको फेसबुक क्याम्पस विस्तार र २०१४ मा पेरिसको ला फाउन्डेसन लुई भुइत्तौं संग्रहालय पनि प्रशंसित परियोजनामा पर्दछन्।
प्रसिद्धि र सम्मानसँगै उनको आलोचना पनि उत्तिकै थियो। धेरै समीक्षकहरूले उनले ‘रूप’लाई ‘कार्यक्षमता’भन्दा बढी प्राथमिकता दिएको आरोप लगाउँदै केही भवनलाई “टुक्रिएको भाँडाकुँडाको ढिस्को” वा “उन्मत्त फर्चुन कुकी” जस्ता शब्दले व्याख्या गरेका थिए। गेहरीले कहिलेकाहीँ आलोचनालाई हल्का ढंगले लिए पनि २०१४ मा स्पेनमा उनले “आजका अधिकांश भवनहरू डिजाइनविहीन र मानवीयता रहित छन्” भन्दै प्रहार गरेका थिए।
१९२९ मा टोरन्टोमा पोलिस-यहूदी परिवारमा जन्मिएका फ्रान्क ओवेन गोल्डबर्ग (पछि फ्रान्क गेहरी) बाल्यकालमै साना काठका टुक्राबाट भवन र सहरका मोडेल बनाउँदै हुर्किएका थिए।








