अमेरिकाको न्यू ओर्लिन्समा गैर कानुनी आप्रवासी लक्षित कारबाही अभियान सुरु, समुदायमा त्रास
प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार
अमेरिकी आप्रवासन अधिकारीहरूले न्यू ओर्लिन्समा गैर कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई लक्षित गर्दै विशेष पक्राउ अभियान सुरु गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको देशव्यापी कडाइ अभियानअन्तर्गत न्यू ओर्लिन्समा कारबाही अगाडी बढाइएको हो ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार अभियानले स्थानीय हिरासतबाट छुटाइएका ती आप्रवासी अपराधीहरूलाई प्राथमिकता दिनेछ, जसलाई सङ्घीय आप्रवासन निकायसँग सहकार्य सीमित गर्ने सहर नीतिका कारण छाडिएको थियो।
ट्रम्प प्रशासनले यसअघि पनि लस एन्जलस, शिकागो र वासिङ्टन डी.सी. जस्ता डेमोक्र्याट नेतृत्वका प्रमुख अमेरिकी सहरहरूमा यस्तै कारबाही अघि बढाइसकेको छ। उनले देश निकाला (डिपोर्टेशन) सङ्ख्या ऐतिहासिक स्तरमा पुर्याउने लक्ष्य सार्वजनिक गर्दै आएका छन्।
तर, न्यू ओर्लिन्सकी मेयर लाटोया कान्ट्रेल र स्थानीय प्रहरी विभागले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। त्यस्तै, ल्युसियाना राज्यका रिपब्लिकन गभर्नर जेफ ल्यान्ड्रीले भने सङ्घीय अभियानलाई पुनः समर्थन जनाएका छन्।
तर, लक्षित सहरका बासिन्दा र अधिकारीहरूले भने आप्रवासन कडाइविरुद्ध आवाज उठाइरहेका छन्। बोर्डर पेट्रोल र आइसले कुनै आपराधिक रेकर्ड नभएका मानिसहरूलाई समेत कडाइपूर्ण रूपमा समातेर बासिन्दाहरूको सुरक्षामा जोखिम बढाइरहेको उनीहरूले आरोप लगाएका छन् ।
न्यू ओर्लिन्सकै एक परिवारद्वारा सञ्चालित रेस्टुरेन्टमा एक महिलाले घर–काम आवतजावतका क्रममा सङ्घीय एजेन्टहरूले चिनारी नदिउन् भनेर आफ्ना परिवारका सदस्यका लागि रेस्टुरेन्टमै अस्थायी बिछ्यौना तयार गरेको बताइन्।
मेक्सिकोबाट दुई दशकअघि आएका उनीहरूले अझै कानुनी स्थिति पाउन नसकेको उनले बताइन्। “हामी मेहनती मानिस हौँ, अपराधी होइनौँ,” उनले भनिन्।








