८ महिनासम्म अमेरिकामा ‘दावी नगरिएको’ नेपालीको शव शनिबार न्युजर्सीमा दाहसंस्कार गरिने


प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार

धनबहादुर ठकुरी ।

न्युयोर्कमा ‘दाबी नगरिएको’ अवस्थामा भेटिएका एक नेपालीको शवको अमेरिकामा नै दाहसंस्कार गरिने भएको छ । विगत ११ वर्षदेखि अमेरिकामा बस्दै आएका र नेपालको झापा जिल्ला, दमक नगरपालिका वार्ड ८ स्थायी घर भएका ४१ वर्षीय धनबहादुर ठकुरीको शव गत फेब्रुअरीदेखि न्युयोर्कमा ‘दावी नगरिएको’ अवस्थामा रहेको थियो ।

अमेरिकी सरकारको हराएका र अज्ञात व्यक्तिको विवरण राख्ने राष्ट्रिय प्रणाली ‘नामुस’ अनुसार धनबहादुर ठकुरीको मृत शरीर दाबी नगरिएको अवस्थामा भेटिएको समाचार खसोखासले प्रकाशित गरेको थियो। उक्त प्रणालीमा उनको शव दाबी नगरिएको अवस्थामा राखिएको थियो । तर अब शव दावी गरिएसँगै उनको विवरण प्रणालीबाट हटाइएको छ । धनबहादुर न्युयोर्कमा ‘प्रशान्त ठकुरी’ का नामबाट समेत चिनिँदै आएका थिए।

नोभेम्बर २२ शनिबार न्युजर्सीको रुबी मेमोरियल फ्युनेरलमा विहान साढे १० बजे अन्तिम विदाईपछि पौने १२ बजे फ्र्याङ्कलिन मेमोरियल क्रिमटोरियम दाहसंस्कार गरिने एनआरएनए एनसीसी न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज र झापाली समाज अमेरिकाले जानकारी दिएको छ ।

अन्तिम संस्कारका लागि एनआरएनए न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज, अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा गोफण्डमी समेत संचालन गरेका थिए । जसमा ९ हजार ८ सय २० डलर संकलन भएको छ । ती संस्थाहरुले यो मानवीय कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अन्तिम विदाईमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख चिकित्सा परीक्षकको कार्यालयबाट न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासलाई प्राप्त विवरणअनुसार, मृतक ठकुरीलाई न्युयोर्कको एक रेल स्टेसनमा बेहोस अवस्थामा देखेका एक यात्रुले आपत्कालीन नम्बर ९११ मा सम्पर्क गरेपछि अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेपछि गत फेब्रुअरी ८ मा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयमा पठाइएको थियो। त्यतिबेलासम्म उनको पहिचान अज्ञात नै थियो।

शव पहिचानका लागि कुनै प्रमाण नभेटिएकाले चिकित्सा परीक्षकको कार्यालयले सङ्घीय कार्यालयलगायत अन्य सरोकारवालासँग समन्वय गरेको जानकारी महावाणिज्यदूतावासलाई दिएको थियो। मृतक नेपाली नागरिक भएको सूचना सोसल सेक्युरिटी कार्यालयबाट प्राप्त भएपछि नजिकको हकदार पत्ता लगाई खबर गरिदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयले गत सोमबार नेपाली महावाणिज्यदूतावासमा इमेल पठाएको थियो। उक्त इमेलमा नजिकका आफन्तलाई सम्पर्क गर्ने प्रयास असफल भएको उल्लेख गर्दै नजिकका नातेदार पत्ता लगाउन सहयोगको आग्रह गरिएको थियो।

प्राप्त इमेलमा मृतकको नाम, जन्म मिति र सोसल सेक्युरिटी नम्बर मात्र उल्लेख थियो। सोही विवरणका आधारमा मृतकको पूरा विवरण, नेपालको ठेगाना र नजिकको हकदारको नाम यकिन गर्न कठिनाइ भएपछि महावाणिज्यदूतावासले थप कागजात उपलब्ध गराइदिन अनुरोध गर्दै चिकित्सा परीक्षकको कार्यालयमा सम्पर्क गर्दा ग्रीनकार्डको प्रतिलिपि प्राप्त भयो। त्यही कागजातको आधारमा राहदानी विभागको अभिलेखबाट लिएको मृतकको विवरणसँग ग्रीनकार्ड र अन्य विवरण मिलेपछि मृतकको ठेगाना तथा अन्य विवरणहरू यकिन गरियो।

न्युयोर्कको क्वीन्समा रहेको चिकित्सा परीक्षकको कार्यालयमा राखिएको ठकुरीको शव नोभेम्बर १७ भित्र सदगतका लागि आवश्यक सहजीकरण गरिदिन अनुरोध प्राप्त भएको थियो । यस सम्बन्धमा कन्सुलर सेवा विभागमार्फत मृतकको परिवारलाई जानकारी उपलब्ध गराइएको थियो ।

ठकुरी डिभी लोटरीमार्फत सन् २०१४ मा अमेरिका आएका थिए। उनलाई चिन्नेहरूका अनुसार विगतमा पोलियोका कारण अपाङ्गता भएका उनी पछिल्लो समयमा थप बिरामी पनि थिए। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

परिवारको पहिचान गर्न र त्यसबारे महावाणिज्यदूतावासमा सम्पर्क गर्न लामो समय लाग्नुको कारणबारे खसोखासले सम्पर्क गर्दा न्युयोर्कको प्रमुख चिकित्सा परीक्षकको कार्यालयले केही बताउन चाहेन। साथै मृत्युको कारणबारे पनि अहिलेसम्म कुनै कुरा पुष्टि नभएको र यसबारे अनुसन्धान भइरहेको चिकित्सा परीक्षकको कार्यालयले खसोखासलाई बताएको छ। मृत्युको कारणबारे थप जानकारी आफूहरूसँग नरहेको कार्यालयको भनाइ छ।

नेपालमा रहेको परिवारले मृत्युको घटनाबारे जानकारी पाए पनि मृत्युको कारणबारे विस्तृत जानकारी आफूहरूलाई नदिइएको बताएका छन्। मृतक ठकुरीका दाजु राजु ठकुरीका अनुसार धनबहादुर ठकुरी केही समयदेखि क्षयरोगबाट समेत पीडित रहेका थिए। उनले केही समयअगाडि नेपाल गएर १८ वर्षदेखि सम्बन्धमा रहेकी महिलासँग औपचारिक रूपमा विवाह गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com