अमेरिकाको चुनावमा मतदानका लागि योग्य नेपाली अमेरिकन मतदाता झण्डै १ लाख २५ हजार
प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार
न्युयोर्कको क्वीन्समा मतदान गरिसकेपछि एक नेपाली अमेरिकन मतदाता ।
अमेरिकाको चुनावमा १ लाख २५ हजारभन्दा बढी नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ९५ हजार भन्दा बढी नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाख २५ हजारको हाराहारीमा छ ।
गतबर्षको एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुशार पनि नेपाली अमेरिकन मतदाताको संख्या अमेरिकामा ९१ हजार ९ सय ९ रहेको थियो । जसमध्ये २४ हजार ५ सय ६१ जना नर्थइस्टमा, १६ हजार ६ सय ४५ मिडवेष्टमा, ३१ हजार ९ सय ५३ जना साउथमा र १८ हजार ७ सय ५० जना वेष्टमा रहेका थिए । तर यो बर्ष अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्यासँगै उक्त संख्या पनि बढेको छ ।
सन् २०१४ सम्ममा २० हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०१५ देखि २०२३ सम्ममा ५६ हजारभन्दा बढी नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ र २०२५ को संख्या समेत जोड्दा यो संख्या लगभग ७५ हजार पुग्छ । यसरी कुला संख्या जोड्दा ९५ हजार नाघ्छ ।

सन् २०२३ को आर्थिक वर्षमा ९ हजार ३ सय नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। जसमध्ये ४८३० जना महिला, ४४४० जना पुरुष र २० जना अन्य रहेका थिए । उनीहरुमध्ये ६ हजार ५ सय ८० जना विवाहित थिए भने २४१० जना अविवाहित थिए । २८० जनालाई अन्य र ४० जनालाई अज्ञातमा राखिएको छ ।
सन् २०२२ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। पछिल्ला बर्षहरुमा लगभग १० हजारको हाराहारीमा नेपालीहरुले अमेरिकी नागरिकता लिइरहेका छन् ।
अमेरिकी जनगणना ब्यूरोले प्रकाशित गरेको अनुमान अनुसार २०२३ मा संयुक्त राज्य अमेरिकामा अनुमानित २,२५,००० मानिसहरूलाई नेपालीको रूपमा पहिचान गरिएको थियो। जसमध्ये ४६% ले १० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गरिरहेका र ४७% ले अमेरिकी नागरिकता लिएका प्यु रिसर्च सेन्टरको तथ्यांक रहेको छ । यो तथ्यांकले झण्डै १ लाख ५ हजार नेपालीहरुले अमेरिकन नागरिकता लिएको बताउँछ भने डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटीको तथ्यांक पनि यसैसँग मिल्दोजुल्दो नै रहेको छ ।






