ग्रिनकार्ड बोकेर नहिड्दा शिकागोमा आईसले लगायो जरिवाना, अनिवार्य बोकौं यी कागजात
प्रकाशित मिति : आश्विन २७, २०८२ मंगलबार
शिकागोको स्थायी रूपमा बसोबास गरिरहेका एक व्यक्तिलाई ग्रिनकार्ड बोकेर नहिडेको भेटिएपछि अमेरिकी अध्यागमन एजेन्सी आईसले जरिवाना गरेको छ । अमेरिकामा वर्क परमिट, ग्रिनकार्ड वा एलियन नम्बर उल्लेख भएका अन्य कागजात बोकेर हिड्नु अनिवार्य भएपनि जरिवाना लगाइएको घटना भने दुर्लभ हो । यद्यपी अमेरिकी कानूनमा यस्ता कागजात बोकेर नहिड्नेलाई जरिवाना र जेलसजायसम्मको प्रावधान रहेको छ ।
एल साल्भाडोरका ६० वर्षीय रुबेन एन्टोनियो क्रुजले आफू एक साथीसँग बसिरहेको बेला आईसका एजेन्टहरु आएर कागजातहरु मागेको र उनले कागजातहरु घरमा रहेको बताएका थिए । सोधपुछ र जाँचबुझपछि आईसले उनी अमेरिकामा वैधानिक रूपमा रहेको पुष्टि गरेपनि साथमा कागजात नबोकेको कारण उनलाई १३० डलर जरिवाना गरिएको थियो । यो घटना बिहिबार भएको थियो ।
यस अगाडि अमेरिकाका विभिन्न अध्यागमन एजेन्सीहरुले आप्रवासीहरुलाई ग्रिनकार्ड, वर्क परमिट वा एलियन नम्बर भएका कागजात बोकेर हिड्न सुझाव दिदै आएका थिए । हालै अमेरिकाको कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले ग्रिनकार्डवाहक लगायत सबैगैर-नागरिकलाई आफ्ना कागजात बोकेर हिँड्न चेतावनी जारी गरेको थियो । जारी गरिएको चेतावनीमा १८ वर्ष वा सोभन्दा माथिका अमेरिकी नागरिकबाहेकका सबैले सधैँ आफूसँगै एलियन दर्ताको प्रमाणपत्र वा एलियन दर्ता रसिद कार्ड बोक्नुपर्ने र आफ्नै व्यक्तिगत स्वामित्वमा राख्नुपर्ने उल्लेख थियो । यसो गर्न असफल भएमा संघीय कानुन प्रवर्तनले रोकेमा दुष्कर्मको अभियोग लाग्न सक्ने र जरिवाना समेत हुन सक्ने बताइएको थियो ।
अमेरिकी संहिताको शीर्षक ८ को धारा १३०४ (ई) अन्तर्गत यस्तो चेतावनी दिइएको हो। चेतावनीमा भनिएको थियो , “यदि तपाईं गैर-नागरिक हुनुहुन्छ भने, कृपया अमेरिकाको कानुन पालना गर्नुहोस्।”
अमेरिकी संहिताको उक्त धारामा १८ वर्ष वा सोभन्दा माथिका प्रत्येक विदेशीले उपधारा (डी) बमोजिम जारी गरिएको कुनै पनि विदेशी दर्ता प्रमाणपत्र वा विदेशी दर्ता रसिद कार्ड सधैँ आफूसँगै बोक्नुपर्ने र आफ्नो व्यक्तिगत स्वामित्वमा राख्नुपर्ने उल्लेख गरिएको छ। साथै, यस उपधाराको प्रावधानहरूको पालना गर्न असफल हुने कुनै पनि विदेशीले दुष्कर्मको दोषी ठहरिनेछ र प्रत्येक अपराधका लागि दोषी ठहरिएमा १०० डलरसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुन सक्ने समेत उल्लेख छ।
तर गत मार्चमा फेडरल रजिष्ट्ररमा जारी नियममा डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटीले यदि यस्ता कागजातहरु साथमा बोकेर नहिडे ५ हजार डलरसम्म जरिवाना वा ३० दिनसम्म जेल वा दुबै सजाय हुनसक्ने उल्लेख गरेको थियो । त्यस्तै एलियन दर्ता नगरे ५ हजार डलरसम्म जरिवाना वा ६ महिनासम्म जेल वा दुबैसजाय हुनसक्ने नियममा उल्लेख छ । साथै ठेगाना परिवर्तनबारे जानकारी दिएमा पनि ५ हजार डलरसम्म जरिवाना वा ३० दिनसम्म जेल वा दुबै सजाय हुनसक्ने उक्त नियममा उल्लेख छ ।
त्यस्तै, उपधारा (डी) मा अमेरिकामा रहेका प्रत्येक विदेशीलाई एलियन दर्ता ऐन, १९४० को प्रावधानहरू अन्तर्गत दर्ता गरिने र औँठाछाप लगाइने उल्लेख छ। यस अध्यायको प्रावधानहरू अन्तर्गत महान्यायाधिवक्ताद्वारा जारी गरिएको नियमहरू अन्तर्गत तोकिएको फारम र तरिकाले र समयमा एलियन दर्ताको प्रमाणपत्र वा एलियन दर्ता रसिद कार्ड जारी गरिने समेत उल्लेख गरिएको छ।
युएससीआईएसले ग्रिनकार्डलाई नै एलियन रजिस्ट्रेसन रिसिप्ट कार्ड भनेर परिभाषित गरेको छ। पहिलेको अध्यागमन तथा नागरिकता सेवाले जुलाई १९४६ देखि १९७८ को अन्त्यसम्म विदेशीहरूलाई फारम आई-१५१ अर्थात् एलियन रजिस्ट्रेसन रिसिप्ट कार्ड जारी गरेको थियो, जसलाई सामान्यतया ग्रिनकार्ड भनिन्छ। पछि, यसलाई फारम आई-५५१ अर्थात् ग्रिनकार्ड भनेर नै चिनिने अहिलेको स्थायी बासिन्दा कार्डले प्रतिस्थापन गरेको थियो।
अमेरिकी सरकारले आई-९४ आगमन प्रस्थान रेकर्ड, ग्रिनकार्ड, वर्क परमिट, नोटिस टु अपियर (आई-८६२), अध्यागमन न्यायाधीशसमक्ष रेफर गरिएको सूचना (आई-८६३) लगायतलाई एलियन रजिस्ट्रेसनको प्रमाणको रूपमा मान्ने भएकाले यी कागजातहरू सधैँ बोकेर हिँड्न सुझाव दिइएको हो। यी कागजात नहुनेहरू वा विगतमा रजिस्ट्रेसन भएको मानिने मापदण्डमा नपरेकाहरूलाई समेट्न ट्रम्प प्रशासनले हालै जी-३२५ आर नामको फारम समेत सुरु गरेको थियो।
आई ९४ आगमन प्रस्थान अभिलेख गैरआप्रवासी रूपमा अमेरिका आएका विदेशीहरू, आप्रवासन र राष्ट्रियता ऐनको धारा २१२ डी फाइभ अन्तर्गत अमेरिकामा परोल गरिएका विदेशीहरू लगायतले बोक्न सक्छन् । इलेक्ट्रोनिक फारम आई ९४ को प्रिन्टआउट बोक्दा पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको नियमलाई पूरा गर्न सकिन्छ । हराएको, चोरी भएको वा क्षतिग्रस्त फारम आई ९४ लाई प्रतिस्थापन गर्न दायर गरिएको आवेदन पनि अस्थायी दर्ताको प्रमाणका रुपमा लिइन्छ ।
पानीजहाज वा हवाईजहाज मार्फत आउने क्रूम्यानहरूका लागि आई ९५, पानीजहाज मार्फत आउने क्रूम्यानहरूका लागि आई १८४, अमेरिका आएका क्यानाडाका नागरिकहरू वा क्यानाडामा बसोबास गर्ने ब्रिटिश नागरिकहरूका लागि आई १८५, अमेरिका आएका मेक्सिकोका नागरिकहरूका लागि आई १८६, देशनिकालाको प्रकृया सुरु गरिएकाहरुका लागि कारण देखाऊ आदेश र सुनुवाइको सूचना आई २२१ वा आई २२१ एसलाई पनि प्रमाणको रुपमा बोक्न सकिन्छ । त्यस्तै वैध, म्याद नसकिएको गैरआप्रवासी प्रवेश वा परोल छाप भएको विदेशी राहदानीले पनि प्रमाणका रुपमा काम गर्छ । विद्यार्थीहरुका लागि फर्म आई २० बोकेर हिड्न सुझाव दिइएको छ ।
न्युयोर्कका अध्यागमन वकिल बासु फुलाराले हालैको खसोखाससँगको एक कुराकानीमा पछिल्लो बदलिंदो अध्यागमन अवस्थामा यस्ता कागजातहरु बोकेर हिड्नु अझ अनिवार्य भएको बताउनुभएको थियो । वर्क परमिट, स्टेट आईडी वा ड्राइभर लाइसेन्स, ग्रिनकार्ड, एसाइलम लगायतका अध्यागमन आवेदन विचाराधिन रहेका कागजातहरु साथमा बोकेर हिड्नु वा आवश्यक कागजातहरु आफ्नो सहज पहुच हुने तरिकाले इलेक्ट्रोनिक तरिकाले सुरक्षित राख्नु उपयुक्त विचार हुने फुलाराले सुझाव दिनुभएको थियो ।
कतिपय कानुन व्यवसायीहरुले अहिलेको अवस्थामा अमेरिकी नागरिकहरुलाई समेत आफ्नो नागरिकता वा पासपोर्टको इलेक्ट्रोनिक कपी बोकेर हिड्न र स्टेट आईडी वा ड्राइभर लाइसेन्स सधै साथमा राखेर हिड्न सुझाव दिएका छन् । यद्यपी अमेरिकी नागरिकहरुलाई यी कागजातहरु बोक्नु कानुनी रुपमा अनिवार्य नभएपनि अहिलेको अवस्थामा अध्यागमनको कुनै सोधपुछमा परेको खण्डमा कागजात देखाउन सकिने भएकाले कुनै झन्झटमा पर्नबाट बच्न यस्तो सुझाव दिइएको हो ।








