अमेरिकाको दक्षिण-पश्चिमी सिमानामा नयाँ ‘स्मार्ट वाल’ : १० ठेक्का, ४.५ बिलियन डलरको लगानी
प्रकाशित मिति : आश्विन २३, २०८२ शुक्रबार
अमेरिकी संघीय सरकारले दक्षिण–पश्चिमी सिमानामा थप २३० माइल (करिब ३७० किलोमिटर) लामो सिमाना अवरोध (बार) निर्माण गर्न ४ दशमलव ५ बिलियन अमेरिकी डलर बराबरका १० वटा ठेक्का प्रदान गरेको छ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यी ठेक्काहरूले अमेरिका–मेक्सिको सिमानामा “स्मार्ट वाल”नामक आधुनिक सिमाना सुरक्षा प्रणाली विस्तार गर्नेछन्। उक्त प्रणालीमा इस्पातका ठोस बारहरू, पानीमा तैरिने अवरोध, गस्ती सडक, बत्ती, निगरानी क्यामेरा, र उच्च प्रविधियुक्त पत्ता लगाउने प्रविधिहरू समावेश हुनेछन्।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार, ठेक्कामध्ये सातवटा ठेक्का गत सेप्टेम्बर महिनामा बीसीसीजी जोइन्ट भेन्चर नामक निर्माण कम्पनीलाई प्रदान गरिएको हो।
सीमा तथा सीमा सुरक्षा निकाय (कस्टम्स एन्ड बोेर्डर प्रोटेक्शन सीबीपी)का आयुक्त रोड्नी स्कटले विज्ञप्तिमा भनेका छन्, “स्मार्ट वालले बढी माइलका अवरोध, बढी प्रविधि, र स्थलमा रहेका हाम्रा एजेन्टहरूका लागि बढी क्षमता उपलब्ध गराउँछ। सिमानामा प्रभावकारी नियन्त्रण लिने उपाय यही हो ।”
उनका अनुसार, यो परियोजनाले गैरकानुनी आवागमन नियन्त्रण, सुरक्षा निगरानी सुदृढ, र आपराधिक गतिविधि रोकथाममा ठूलो मद्दत गर्नेछ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नोएमले यो परियोजनाको कार्यान्वयन छिटो गर्न दुईवटा छूट जारी गरेकी छन्। यी छूटहरू सीबीपीको सान डिएगो सेक्टरमा ९ माइल लम्बाइको र एल पासो सेक्टरअन्तर्गत नयाँ मेक्सिको क्षेत्रमा करिब ३० माइल लम्बाइको ‘स्मार्ट वाल’ निर्माणका लागि जारी गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विज्ञप्तिमा उल्लेख छ।
सेक्रेटरी नोएमका अनुसार, “यी छूटहरूले अनावश्यक प्रशासनिक र कानुनी झन्झट हटाई निर्माण कार्यलाई छिटो अगाडि बढाउन मद्दत गर्नेछन्।”
तर, यी छूट किन आवश्यक परे भन्ने विषयमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विस्तृत विवरण दिएको छैन। सामान्यतया यस्ता छूटहरू वातावरणीय वा अन्य संघीय कानुनहरूलाई बाइपास गर्न प्रयोग गरिने गरिन्छ, ताकि निर्माण कार्य ढिलो नहोस्।
यो परियोजना अमेरिकाको सिमाना सुरक्षामा हालसम्मकै ठूलो लगानीहरूमध्ये एक मानिएको छ। “स्मार्ट वाल” प्रणालीले पारम्परिक इस्पातका बारहरूमा प्रविधि जोडेर सिमाना निगरानीलाई डिजिटल र स्वचालित बनाउने लक्ष्य राखेको छ। यसले ड्रोन, सेन्सर, र कृत्रिम बुद्धिमत्तामार्फत सिमानाको हरेक गतिविधि वास्तविक समयमा अनुगमन गर्न सक्नेछ।








