झण्डै आधा एफबीआई एजेन्टहरूलाई अध्यागमन कारवाहीमा परिचालन
प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार
“FBI” by IceNineJon is licensed under CC BY-NC-ND 2.0.
अमेरिकाका प्रमुख क्षेत्रीय कार्यालयहरूमा काम गर्ने एफबीआई एजेन्टहरूमध्ये झन्डै आधालाई अध्यागमन कारवाहीमा सहयोग गर्नका लागि खटाइएको छ। ट्रम्प प्रशासनले देशका २५ ठूला क्षेत्रीय कार्यालयहरूका ४५ प्रतिशत एफबीआई एजेन्टहरूलाई होमल्यान्ड सेक्युरिटीको अध्यागमन कारवाही अभियानलाई सहयोग गर्न घटाएको विवरण सार्वजनिक भएको छ ।
एफबीआईका कूल १३,००० एजेन्टहरूमध्ये २३ प्रतिशत एजेन्टहरू अब अध्यागमन कारवाहीमा लागेका छन्। आइस एजेन्टहरूसँगै खटाइएका यी एफबीआई एजेन्टहरूलाई साइबर अपराध, लागुऔषध तस्करी, आतंकवाद, जासुसी, हिंसात्मक अपराध र प्रतिजासुसी जस्ता मुख्य कार्यहरूबाट हटाइएको छ— जुन क्षेत्रहरू ट्रम्पले ह्वाइट हाउसको प्राथमिकता भएको दाबी गरेका थिए।
यो तथ्याङ्कले एफबीआईले नाटकीय रूपमा आफ्नो उद्देश्य परिवर्तन गरिरहेको सङ्केत गरेको छ । ट्रम्प प्रशासनले दैनिक ३ हजार जनालाई पक्राउ गर्ने र १ लाखभन्दा बढी आप्रवासीहरूलाई हिरासतमा राख्ने क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ।
एफबीआई एजेन्टहरू सामान्यतया लक्षित गिरफ्तारीहरू गर्ने अनुसन्धानकर्ताको रूपमा प्रशिक्षित हुन्छन्, जुन अध्यागमन अधिकारीहरूको कामभन्दा फरक हुन्छ। हतियारसहित मानिसहरूको समूहमा मिसिएर सडकमा घुम्दै भागेका व्यक्ति देख्दा पक्रिने कार्य उनीहरूका लागि धेरै खतरनाक हुनसक्ने र उनीहरू यसका लागि राम्ररी प्रशिक्षित नहुने विश्लेषण गरिएको छ ।
एफबीआई नेतृत्वले यति ठूलो मात्रामा एजेन्टहरूलाई खटाउनुको एउटा कारण प्रशासनका लक्ष्यहरूमा को को वफादार छन् र को को सम्भावित बाधक छन् भन्ने पहिचान गर्नु पनि हुन सक्ने तर्क गरिएको छ । ब्यूरोले अस्थायी परिवर्तनलाई सामना गरेपनि लामो समयसम्म एजेन्टहरूले आतंकवाद नियन्त्रण, प्रतिजासुसी वा साइबर अपराधको सट्टा अध्यागमन कार्यहरू गर्न जारी राखेमा त्यसले अमेरिकालाई हानी गर्नसक्ने तर्क समेत छ ।






