एसाइलमको वार्षिक शुल्क तिर्न वेबसाइटमा प्रणाली सुरु, तर सूचना प्राप्त भएपछि मात्र तिर्न सुझाव
प्रकाशित मिति : आश्विन १६, २०८२ शुक्रबार
अमेरिकामा एसाइलम (शरण) आवेदन एक वर्षभन्दा लामो समयदेखि विचाराधीन रहेकाहरूले तिर्नुपर्ने एसाइलम शुल्क तिर्न मिल्नेगरी युएससीआईएसको वेबसाइटमा प्रणाली सुरु गरिएको छ। अब युएससीआईएसको अनलाइन एकाउन्टमार्फत उक्त शुल्क तिर्न सकिनेछ। तर शुल्क तिर्नुअगाडि युएससीआईएसबाट प्राप्त हुने पत्रको प्रतीक्षा गर्न युएससीआईएसले सुझाव दिएको छ। उक्त पत्र प्राप्त नहुँदै शुल्क तिर्न खोजेको खण्डमा आवेदकले युएससीआईएसबाट पत्र प्राप्त हुने आशयको सूचना देख्नेछन्।
आवेदकले युएससीआईएसको अनलाइन एकाउन्ट लग इन गरिसकेपछि शुल्क तिर्ने विकल्पमा क्लिक गरेर एसाइलमको वार्षिक शुल्क तिर्ने लिङ्कमा जान सक्नेछन्। आफ्नो एलियन नम्बर र रिसिप्ट नम्बर हालिसकेपछि शुल्क तिर्न सकिनेछ। शुल्क एसीएच वा बैंक कार्डमार्फत तिर्न सकिने जनाइएको छ।
गत वर्षको अक्टोबर १ भन्दा अघिदेखि विचाराधीन अवस्थामा रहेकाहरूले अक्टोबर १ देखि १०० डलर शुल्क तिर्नुपर्छ। अर्थात्, गत वर्षको अक्टोबर १ भन्दा अगाडि एसाइलम आवेदन दिएकाहरूको आवेदन सेप्टेम्बर ३०, २०२५ सम्म पनि विचाराधीन अवस्थामा नै छ भने त्यस्ता व्यक्तिले युएससीआईएसलाई १०० डलर शुल्क तिर्नुपर्छ।
युएससीआईएसले उक्त शुल्क तिर्नेबारे आवेदकले तत्कालै कुनै चिन्ता गर्नु नपर्ने स्पष्ट पारेको छ। उक्त शुल्क तिर्नका लागि अक्टोबर १ अन्तिम मिति नभएर अक्टोबर १ देखि शुल्क तिर्न सकिनेछ। पहिलो पटक यो शुल्क तिर्ने एसाइलम आवेदकले आफ्नो आवेदन विचाराधीन रहेको समय तथा वार्षिक शुल्क उनीहरूलाई लागू हुने नहुने कुरा निगरानी गर्न आवश्यक नभएको युएससीआईएसले स्पष्ट पारेको छ।
उनीहरूको वार्षिक एसाइलम शुल्क तिर्नुपर्ने बेलामा युएससीआईएसले हरेकलाई व्यक्तिगत सूचनाहरू जारी गर्ने स्पष्ट पारेको छ। जसमा शुल्कको रकम, तिर्नुपर्ने म्याद, शुल्क तिर्ने तरिका र तिर्न असफल भएमा भोग्नुपर्ने परिणामहरू पनि उल्लेख गरिने युएससीआईएसले जनाएको छ। युएससीआईएसले भविष्यका वर्षहरूको वार्षिक शुल्क भुक्तानीका लागि मार्गदर्शन आगामी दिनहरूमा जारी गर्ने जनाएको छ। त्यसैले एक वर्षभन्दा लामो समय एसाइलम विचाराधीन भएकाहरूले युएससीआईएसको पत्र प्राप्त नहुँदै कुनै कदम चाल्नु नपर्ने भएको छ। तर युएससीआईएसबाट आउने पत्रको लागि भने नजर राखिराख्न सुझाव दिइएको छ।
जुलाईमा फेडरल रेजिस्टरमा प्रकाशित नियमानुसार सन् २०२४ को अक्टोबर १ यता एसाइलम विचाराधीन रहेको एक वर्ष पूरा भइसकेका सबै आवेदकले यो शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो। अर्थात्, यदि तपाईंको आवेदन सन् २०२४ को अक्टोबर १ भन्दा अगाडि फाइल गर्नुभएको थियो र अहिलेसम्म पनि विचाराधीन रहेको छ भने सेप्टेम्बर ३०, २०२५ मा एक वर्ष पूरा भइसकेको छ। अब तपाईंले यो शुल्क युएससीआईएसबाट पत्र प्राप्त हुनेबित्तिकै तुरुन्तै तिर्नुपर्छ।
अध्यागमन अदालतमा विचाराधीन रहेका आवेदनहरूका सन्दर्भमा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको पेमेन्ट पोर्टल मार्फत तिर्न सकिनेछ। तर त्यसका लागि पनि आवेदकलाई पत्रमार्फत सूचित गरिने जनाइएको छ। यो नियमबाट तत्कालका लागि झन्डै १५ हजार नेपालीहरू प्रभावित हुने अनुमान गरिएको छ।
यदि तपाईंले सन् २०२४ को अक्टोबर १ पछि मात्र एसाइलम आवेदन दिनुभएको थियो र अहिलेसम्म पनि विचाराधीन अवस्थामा छ भने आवेदन दिएको ३६५ दिनपछि १०० डलर शुल्क तिर्नुपर्छ। उदाहरणका लागि, तपाईंले सन् २०२४ को नोभेम्बर १५ मा एसाइलम आवेदन दिनुभएको थियो र उक्त आवेदन २०२५ को नोभेम्बर १५ सम्म पनि विचाराधीन अवस्थामा रह्यो भने तपाईंले १०० डलर वार्षिक शुल्क तिर्नुपर्नेछ। तर त्यसका लागि पनि युएससीआईएसले तपाईंलाई शुल्कको रकम, तिर्नुपर्ने म्याद, शुल्क तिर्ने तरिका र तिर्न असफल भएमा भोग्नुपर्ने परिणामहरूसहितको पत्र पठाउनेछ।
युएससीआईएसले जुलाई २२ देखि नयाँ एसाइलम आवेदनहरूका लागि पनि शुल्कहरू लागू गरिसकेको छ। आवेदकहरूले जुलाई २२, २०२५ वा त्यसपछि पोस्ट-मार्क गरिएका आवेदनहरूसँग यी नयाँ शुल्कहरू समावेश गर्नुपर्ने नियममा युएससीआईएसले एक महिनाको छुट अवधि पनि दिएको थियो। अब अगस्ट २१, २०२५ वा त्यसपछि पोस्ट-मार्क गरिएका कुनै पनि फारमहरू सही शुल्कबिना पठाइएमा अस्वीकृत गरिने युएससीआईएसको चेतावनी दिएको छ।








