एकबर्षभन्दा लामो समय एसाइलम पेन्डिङ हुनेले बार्षिक १ सय डलर शुल्क कसरी र कहिले तिर्ने?
प्रकाशित मिति : आश्विन १४, २०८२ बुधबार
अमेरिकामा एसाइलम आवेदन गतबर्षको अक्टोबर १ भन्दा अघिदेखि पेन्डिङ अवस्थमा रहेकाहरुले आज अक्टोबर १ देखि १ सय डलर शुल्क तिर्नुपर्नेछ । अर्थात् गतबर्षको अक्टोबर १ भन्दा अगाडि एसाइलम आवेदन दिएकाहरुको आवेदन सेप्टेम्बर ३०, २०२५ सम्म पनि पेन्डिङ अवस्थामा नै छ भने त्यस्ता व्यक्तिले युएससीआईएसलाई १ सय डलर शुल्क तिर्नुपर्छ । यो १ सय डलरको वार्षिक एसाइलम शुल्क आवेदनले अनलाइनमार्फत भुक्तानी गर्नुपर्ने युएससीआईएसले जनाएको छ ।
तर यो शुल्क कसरी र कहिलेसम्म तिर्ने भन्नेबारे आवेदकमा अन्यौल देखिएको छ । यसबारे खसोखासले युएससीआईएससँग थप जानकारी मागेको थियो । युएससीआईएसले उक्त शुल्क तिर्नेबारे आवेदकले अक्टोबर १ मा नै कुनै चिन्ता गर्नु नपर्ने प्रष्ट पारेको छ । उक्त शुल्क तिर्नका लागि अक्टोबर १ अन्तिम मिति नभएर अक्टोबर १ देखि शुल्क तिर्न सकिनेछ । पहिलो पटक यो शुल्क तिर्ने एसारयलम आवेदकले आफ्नो आवेदन विचाराधीन रहेको समय र तथा बार्षिक शुल्क उनीहरूलाई लागू हुने नहुने कुरा निगरानी गर्न आवश्यक नभएको युएससीआईएसले प्रष्ट पारेको छ ।
उनीहरूको वार्षिक एसाइरलम शुल्क तिर्नुपर्ने बेलामा युएससीआईएसले हरेकलाई व्यक्तिगत सूचनाहरू जारी गर्ने प्रष्ट पारेको छ । जसमा शुल्कको रकम, तिर्नुपर्ने म्याद, शुल्क तिर्ने तरिका र तिर्न असफल भएमा भोग्नुपर्ने परिणामहरू पनि उल्लेख गरिने युएससीआईएसले जनाएको छ । युएससीआईएसले भविष्यका वर्षहरूको बार्षिक शुल्क भुक्तानीहरूको लागि मार्गदर्शन आगामी दिनहरुमा जारी गर्ने जनाएको छ । त्यसैले एकबर्षभन्दा लामो समय एसाइलम पेन्डिङ भएकाहरुले युएससीआइएसको पत्र प्राप्त नहुँदै कुनै कदम चाल्नु नपर्ने भएको छ । तर युएससीआईएसबाट आउने पत्रका लागि भने नजर राखिराख्न सुझाव दिइएको छ ।
जुलाईमा फेडरल रजिष्ट्ररमा प्रकाशित नियम अनुशार सन् २०२४ को अक्टोबर १ यता एसाइलम पेन्डिङ रहेको १ बर्ष पूरा भइसकेका सबै आवेदकले यो शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो । अर्थात् यदि तपाईको आवेदन सन् २०२४ को अक्टोबर १ भन्दा अगाडि फाइल गर्नुभएको थियो र अहिलेसम्म पनि पेन्डिङ रहेको छ भने सेप्टेम्बर ३०, २०२५ मा एकबर्ष पूरा भइसकेको छ । अब तपाईले यो शुल्क युएससीआईएसबाट पत्र प्राप्त हुने बित्तिकै तुरुन्तै तिर्नुपर्छ ।
अध्यागमन अदालतमा पेन्डिङ रहेका आवेदनहरुका सन्दर्भमा एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको पेमेन्ट पोर्टलमार्फत तिर्न सकिनेछ । तर त्यसका लागि पनि आवेदकलाई पत्रमार्फत सूचित गरिने जनाइएको छ । यो नियमबाट तत्कालका लागि झण्डै १५ हजार नेपालीहरु प्रभावित हुने अनुमान गरिएको छ ।
तर यदि तपाईले सन् २०२४ को अक्टोबर १ पछिमात्र एसाइलम आवेदन दिनुभएको थियो र अहिलेसम्म पनि पेन्डिङ अवस्थामा छ भने आवेदन दिएको ३६५ दिनपछि १ सय डलर शुल्क तिर्नुपर्छ । उदाहरणका लागि तपाईले सन् २०२४ को नोभेम्बर १५ मा एसाइलम आवेदन दिनुभएको थियो र उक्त आवेदन २०२५ को नोभेम्बर १५ सम्म पनि पेन्डिङ अवस्थामा रह्यो भने तपाईले १ सय डलर बार्षिक शुल्क तिर्नुपर्नेछ । तर त्यसका लागि पनि युएससीआईएसले तपाईलाई शुल्कको रकम, तिर्नुपर्ने म्याद, शुल्क तिर्ने तरिका र तिर्न असफल भएमा भोग्नुपर्ने परिणामहरूबारेको पत्र पठाउनेछ ।
युएससीआईएसले जुलाई २२ देखि नयाँ एसाइलम आवेदनहरुका लागि पनि शुल्कहरू लागू गरिसकेको छ । आवेदकहरूले जुलाई २२, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका आवेदनहरुसँग यी नयाँ शुल्कहरू समावेश गनुपर्ने नियममा युएससीआईएसले एक महिनाको छुट अवधि पनि दिएको थियो । अब अगस्त २१, २०२५ वा त्यसपछि पोस्टमार्क गरिएका कुनै पनि फारमहरू सही शुल्कबिना पठाइएमा अस्वीकृत गरिने युएससीआईएसको चेतावनी दिएको छ ।








