अमेरिकनलाई सकभर नेपालको यात्रा नगर्न सुझाव दिदै अमेरिकाले जारी गरेको एड्भाइजरीमा के छ?
प्रकाशित मिति : आश्विन १०, २०८२ शनिबार
नेपालमा भएको पछिल्लो प्रदर्शन र हिंशापछि अमेरिकाको विदेश मन्त्रालयले नेपालबारेको ट्राभल एड्भाइजरी अपडेट गर्दै अमेरिकीहरुलाई सकभर नेपालको यात्रा नगर्न सुझाव दिएको छ । सेप्टेम्बर ८ र ९ मा भएको प्रदर्शन हिंशामा परिणत भएपछि अमेरिकाले नेपालबारेको ट्राभल एड्भाइजरी अपडेट गरेको हो । अहिलेसम्म नेपालबारेको ट्राभल एड्भाइजरी लेभल २ मा रहेकोमा पछिल्लो घटनापछि अमेरिकाले अब नेपालका लागि लेभल ३ को ट्राभल एड्भाइजरी जारी गरेको हो । लेभल ४ को ट्राभल एड्भाइजरीमा सम्बन्धित देशमा पूर्णरुपमा यात्रा नगर्न सुझाव दिइन्छ ।
अशान्तिको कारणले नेपालको यात्रामा पुनर्विचार गर्न आग्रह गर्दै ट्राभल एड्भाइजरीमा सेप्टेम्बर ८ र ९ मा नेपालमा भएका ठूला विरोध प्रदर्शनहरू हिंसात्मक भएको तथा यी घटनाहरूले मृत्यु र घाइते बनाएको साथै थोरै चेतावनी बिना थप विरोध प्रदर्शन र कर्फ्यू हुन सक्ने उल्लेख गरिएको छ । स्थानीय अधिकारीहरूको निर्देशनहरू पालना गर्न र विरोध, अशान्ति वा ठूला जमघट भएका क्षेत्रहरूबाट टाढा रहन आफ्ना नागरिकलाई अमेरिकाले सुझाव दिएको छ ।
नेपालमा आपतकालीन सेवाहरूसँग व्यक्तिगत आपतकालीन अवस्थामा प्रतिक्रिया दिने सीमित क्षमता भएको र तिनीहरूको प्रतिक्रियामा ढिलाइ हुन सक्ने तथा अशान्तिको समयमा काठमाडौं र पोखराका केही होटलहरूमा आगलागी भएकोसमेत ट्राभल एड्भाइजरीमा उल्लेख गर्दै यात्रा गर्नु अघि नयाँ अपडेटहरूको लागि आफ्नो होटल, एयरलाइन वा टुर अपरेटरसँग जाँच गर्न सुझाव दिइएको छ । साथै विमानस्थलको लागि प्रस्थान गर्नु अघि आफ्नो एयरलाइनसँग आफ्नो यात्रा योजनाहरू पुष्टि गर्न निश्चित गर्नुपर्ने सुझाव दिइएको छ ।
अमेरिकी सरकारसँग नेपालमा रहेका अमेरिकी नागरिकहरूलाई आपतकालीन सेवाहरू प्रदान गर्ने सीमित क्षमता रहेको उल्लेख गर्दै यदि नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारको सहयोगमा निर्भर नहुने आपतकालीन अवस्थामा छोड्ने योजना बनाउन सुझाव दिइएको छ । ब्रेकिङ न्यूजको लागि स्थानीय मिडिया जाँच गर्न, आफ्नो योजनाहरू समायोजन गर्न तयार रहन, क्षणिक सूचनामा होटलहरू खाली गर्न तयार रहन, स्थानीय अधिकारीहरूको निर्देशनहरू पालना गर्न, प्रदर्शन र भीडबाट बच्न,
अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण अद्यावधिकहरू र अलर्टहरू प्राप्त गर्न स्मार्ट यात्री नामांकन कार्यक्रममा समावेश हुन पनि सुझाव दिइएको छ ।
त्यस्तै नेपालको पहिलो पटक वा बारम्बार यात्रा गर्न लागेकाहरुलाई अन्तर्राष्ट्रिय यात्रा चेकलिस्ट प्रयोग गर्न, यात्रा गर्नु अघि यात्रा बीमा किन्न, नेपाल छाड्ने सहायता, चिकित्सा बीमा र यात्रा रद्द कभरेजको बारेमा आफ्नो यात्रा बीमा प्रदायकसँग जाँच गर्न पनि अमेरिकी विदेश मन्त्रालयको ट्राभल एड्भाइजरीमा सुझाव दिइएको छ ।
कोरोनाको महामारीमाबाहेक अमेरिकाले नेपालबारे प्राय लेभल २ ट्राभल एड्भाइजरी जारी गदैै आएको छ । यस अगाडि सन् २०२४ को डिसेम्बर १८ मा जारी ट्राभल एड्भाइजरीमा
पनि नेपालमा राजनीतिक हिंसाको सम्भावनाको कारणले गर्दा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको थियो । शान्तिपूर्ण हुने उद्देश्यले गरिएका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुनसक्ने र नेपाली अधिकारीहरूले बल प्रयोग गर्नसक्ने उक्त ट्राभल एड्भाइजरीमा उल्लेख थियो ।
त्यस अगाडि २०२३ को डिसेम्बर १८ मा जारी ट्राभल एड्भाइजरीमा नै अमेरिकाले राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपालमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको थियो । त्यतीबेलै शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुनसक्ने र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्ने ट्राभल एडभाइजरीमा उल्लेख थियो । त्यस अगाडिको ट्राभल एड्भाइजरी ई श्रेणीमा जारी गरिएकोमा त्यसपछि यु श्रेणीमा जारी गर्न थालिएको छ ।
अशान्ति, राजनीतिक, आर्थिक, धार्मिक वा वा जातीय अस्थिरता अवस्थित भएको ठहर भएमा र त्यसले हिंसा, ठूला अवरोधहरू, वा सुरक्षा जोखिमहरू निम्त्याउन सक्ने भएमा यु श्रेणीमा ट्राभल एड्भाइजरी जारी गरिन्छ । तर छोटो अवधिको घटना, जस्तै चुनाव, खेलकुद कार्यक्रम, वा सुरक्षा जोखिम निम्त्याउन सक्ने अन्य घटनाहरू भएमा ई श्रेणीमा ट्राभल एड्भाइजरी जारी गरिन्छ । यद्यपी अमेरिकाले ट्राभल एड्भाइजरीमा राजनीतिक हिंसाको सम्भावनालाई भने विगत लामो समयदेखि नै समावेश गर्दै आएको छ । तर नेपाली कूटनीतिज्ञहरूले अहिले नेपालको अवस्था त्यस्तो नभएकाले नेपाल सरकारले अमेरिकालाई “अवस्था सामान्य” भएको बुझाउन पहल गर्नुपर्ने सुझाव दिदै आएका थिए ।
अमेरिकाले सामान्यतया ४ लेभलका एड्भाइजरी जारी गर्छ । लेभल ४ को एड्भाइजरी जारी गरिएको देशमा भने उसले आफ्ना नागरिकहरूलाई भ्रमण नै नगर्न सूचित गर्छ । लेभल ३ को एड्भाइजरी जारी गरिएको देशमा गरिने यात्राबारे सकेसम्म पुनर्विचार गर्न सूचित गरिन्छ। लेभल २ को एड्भाइजरी जारी भएका देशमा जाँदा भ सतर्कता अपनाउन र लेभल १ को एड्भाइजरी जारी भएका देशमा जाँदा सामान्य सतर्कता अपनाउन सुझाव दिने गरिएको छ ।
अमेरिकाले लेभल ४ को ट्राभल एड्भाइजरी जारी गरेका देश र क्षेत्रहरुमा अफगानिस्तान, बेलारुस, बुर्किना फासो, म्यानमार, सेन्ट्रल अफ्रिकन रिपब्लिक, गाजा, हैटी, इरान, इराक, लेबनान, लिबिया, माली, नर्थ कोरिया, रसिया, सोमालिया, साउथ सुडान, सुडान, सिरिया, युक्रेन, भेनेजुएयला, यमन रहेका छन् । त्यस्तै अमेरिकाले लेभल ३ को ट्राभल एड्भाइजरी जारी गरेका देश र क्षेत्रहरुमा बंगालादेश, बुरुण्डी, चाड, कोलम्बिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथोपिया, ग्वाटेमाला, गिनी बिसाउ, गायना, होण्डुरस, इजरायल, जेरुसेलम, मौरिटानिया, न्यू क्यालेडोनिया, निकारागुवा, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुवा न्युगिनी, ट्रिनिडाड एण्ड टोबागो, युगाण्डा, वेष्ट बैंक रहेका छन् ।








