यूएससीआईएसमा नयाँ आवेदनमा २८%ले गिरावट, ग्रिनकार्ड लगायतका आवदेनमा कति ब्याकलग?
प्रकाशित मिति : आश्विन ८, २०८२ बिहीबार
यूएससीआईएसको मासिक प्रतिवेदनअनुसार अगस्त २०२५ मा अघिल्लो महिनाको तुलनामा प्राप्त आप्रवासन फारमहरूको कुल संख्यामा उल्लेखनीय कमी आएको छ। जुलाईमा यूएससीआईएसले ६ लाख ५७ हजार ७२२ नयाँ आवेदनहरू प्राप्त गरेकोमा अगस्तमा यो संख्या घटेर ४ लाख ६९ हजार ३७३ मा झरेको छ—जुन लगभग २८ दशमलव ६ प्रतिशत को कमी हो।
यो कमी सबैभन्दा बढी वर्क परमिट आवेदनमा देखिएको छ, जुन जुलाईमा ३ लाख ७४ हजार ३२५ बाट अगस्तमा २ लाख २२ हजार १२२ मा झरेको छ । अर्थात् ४० दशमलव ७ प्रतिशतले कमी आएको छ । अन्य फारमहरूमा परिवारका लागि ग्रिनकार्ड पिटिसन आई १३० मा पनि उल्लेखनीय कमी देखिएको छ, जुन ८१ हजार ७८० बाट ७१ हजार ९३० मा झरेको छ ।
कुल अध्यागमन आवेदन स्वीकृतिहरू जुलाईमा ५ लाख ३८ हजार ४८७ बाट अगस्तमा ५ लाख २० हजार ६८६ मा घटेका छन् । साथै अस्वीकृतिहरु पनि जुलाईमा ५९ हजार ८३० बाट अगस्तमा ५० हजार ८४२ मा झरेका छन् । वर्क परमिटको स्वीकृति अगस्तमा २ लाख ७९ हजार ८७६ मा झरेको छ, यो जुलाईमा २ लाख ९४ हजार २३२ थियो। अस्वीकृतिहरू पनि ३० हजार ७१० बाट २४ हजार १११ मा झरेका छन्।
पारिवारिक आधारमा ग्रिनकार्डको स्वीकृति जुलाईमा ५२ हजार १८१ बाट अगस्तमा ४८ हजार ३६६ मा घटेको छ, जबकि अस्वीकृतिहरू लगभग स्थिर छन् । अमेरिकी नागरिकताको स्वीकृति र अस्वीकृति पनि घटेका छन् । स्वीकृतिहरू जुलाईमा ७२ हजार ३३४ बाट अगस्तमा ७१ हजार ८६६ मा थोरै घटेका छन् भने अस्वीकृतिहरू ७ हजार ७४३ बाट ७ हजार ५७ मा झरेका छन्।
अगस्त २०२५ मा ६४ लाख ६० हजार १६८ आवेदनहरू निर्णयको पर्खाइमा छन्, यो जुलाईको ६५ लाख ५८ हजार ३९२ को तुलनामा थोरै कम हो। यीमध्ये अगस्तमा ४० लाख ७१ हजार ६८२ आवेदनहरू छ महिनाभन्दा बढी समयदेखि पेन्डिङ छन्, जुलाईमा ३८ लाख ८२ हजार ८५८ आवेदनहरु छ महिनाभन्दा बढी समयदेखि पेन्डिङ थिए ।
परिवारमा आधारित ग्रिनकार्डका लागि आई १३० पिटिसनमा सबैभन्दा ठूलो ब्याकलग छ, अगस्तमा २३ लाख ८९ हजार ६८३ केसहरू पेन्डिङ छन्, जसमध्ये १९ लाख ५२ हजार ८७० छ महिनाभन्दा बढी समयदेखि पेन्डिङ छन्। वर्क परमिटमा पनि ठूलो ब्याकलग छ, जसमा १७ लाख ७५ हजार ९९३ केसहरू पेन्डिङ छन्, यद्यपि यसको औसत प्रशोधन समय अगस्तमा ३ दशमलव ६ महिना रहेको छ, जुन जुलाईमा साढे २ महिनाबाट बढेको हो ।
ग्रिनकार्डका लागि पिटिसन आई १३० को प्रशोधन समय जुलाईमा १४ दशमलव ३ महिनाबाट अगस्तमा १४ दशमलव ८ महिनामा बढेको छ । शरणमा आधारित ग्रिन्कार्ड आई ४८५ को प्रशोधन अवधि १२ दलमव ७ महिनाबाट ८ दशमलव ५ महिनामा झरेको छ। एसाइलममा आधारित ग्रिनकार्डको प्रशोधन समयपनि १६ दशमलव ३ महिनाबाट १४ दशमलव ९ महिनामा झरेको छ । रोजगारमा आधारित ग्रिनकार्डका लागि प्रशोधन अवधिमा थोरै सुधार भएको छ । जुलाइको ९ दशमलव ६ महिनाबाट बाट ९ दशमलव ५ महिनामा झरेको छ । परिवारमा आधारित ग्रिनकार्डका लागि प्रशोधन अवधि ८ दशमलव ८ महिनामा स्थिर रहेको छ। अमेरिकी नागरिकताका लागि लाग्ने अवधि पनि ६ दशमलव ४ महिनामा स्थिर रहेको छ ।






