राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व न्यूयोर्कस्थित स्थायी प्रतिनिधि थापाले गर्ने
प्रकाशित मिति : आश्विन ७, २०८२ बुधबार
संयुक्त राष्ट्र सङ्घको ८० औं महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले प्रतिनिधित्व गर्ने भएका छन् ।
मुलुकको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारबाट तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जान सक्ने अवस्था नरहेकाले महासभामा स्थायी प्रतिनिधि थापाले नै नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रसङ्घको ८०औँ महासभाको बहस यही असोज ७ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा प्रारम्भ भएको छ ।
यसैगरी, मुलुकको वर्तमान परिस्थितिमा केही मुलुकले नेपाललाई दिँदै आएको भिजिट भिसा रोकेको भन्ने सूचनाका सम्बन्धमा मन्त्रालयले सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतमार्फत आधिकारिक विषयका बारेमा जानकारी लिएको छ ।
मन्त्रालयले नेपालीहरू भिजिट भिसामा विभिन्न मुलुकमा गइरहेको अवस्थामा प्रश्न उठेका सम्बन्धमा व्यवस्थित बनाउनका लागि सम्बन्धित अधिकारीको उपस्थितिमा छलफल गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।








