उच्च तलब हुनेलाई प्राथमिकता दिनेगरी कामदार भिसाको लटरी प्रणाली परिवर्तन गर्दै ट्रम्प प्रशासन
प्रकाशित मिति : आश्विन ६, २०८२ मंगलबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उच्च तलब हुनेलाई प्राथमिकता दिनेगरी कामदार भिसा एच वान बीको लटरी प्रणाली परिवर्तन गर्ने प्रस्तावित नियम बुधबार फेडरल रजिस्टरमा प्रकाशित गर्ने तय गरेको छ । यस प्रस्तावले वार्षिक एच वान बी भिसाको लटरी प्रणालीमा ठूलो परिवर्तन ल्याउनेछ। यो नयाँ प्रणालीले हालको छनोट प्रक्रियालाई हटाएर उच्च दक्ष र उच्च तलब भएका विदेशी कामदारलाई प्राथमिकता दिने उद्देश्य राखेको छ। राष्ट्रपति ट्रम्पले ए वान बी भिसाका लागि १ लाख डलर शुल्क तोक्ने आदेशमा हस्ताक्षर गरेको केही दिनपछि नै यो नयाँ नियम प्रस्ताव गरिएको हो।
फेडरल रजिस्टरको सूचनाअनुसार यो प्रस्तावले प्रत्येक लाभार्थीको तलबस्तरका आधारमा आवेदनलाई प्राथमिकता दिनेछ। युएससीआईएसले कोटाभन्दा बढी आवेदन प्राप्त गरेपछि लटरी प्रणालीबाट छनोट गर्दा सबैभन्दा उच्च तलबस्तर भएका आवेदकलाई प्राथमिकता दिइनेछ। यो तलबस्तर रोजगारदाताले कामदारलाई दिन चाहेको तलबमा आधारित हुनेछ।
प्रस्तावित प्रणालीअनुसार एच वान बी आवेदनलाई चार फरक तलबस्तरमा वर्गीकरण गरिनेछ। सबैभन्दा उच्च तलबस्तर भएका आवेदकको नाम छनोट सूचीमा चार पटक राखिनेछ। त्यसैगरी तेश्रो लेभलमा पर्ने आवेदकको नाम तीन पटक, दोश्रो लेभलको दुई पटक र सबैभन्दा कम तलब हुनेको नाम एक पटक मात्र नाम राखिनेछ। अर्थात् सबैभन्दा कम तलब हुनेको तुलनामा सबैभन्दा बढी तलब हुनेलाई लटरी पर्ने सम्भावना चारगुणा हुनेछ ।
उसको नाम छनोट सूचीमा जतिसुकै पटक राखिएको भएतापनि प्रत्येक आवेदकलाई कोटा गणना गर्दा एक पटक मात्र गणना गरिनेछ । यस प्रक्रियाले अमेरिकी श्रम मन्त्रालयले निर्धारण गर्ने तलबस्तरलाई भने असर गर्दैन। यो नयाँ प्रणालीले रोजगारदाताहरूलाई उच्च तलब दिन वा उच्च दक्षता आवश्यक पर्ने पदका लागि आवेदन दिन प्रोत्साहित गर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको विश्वास छ । यो नियम लागू भएको पहिलो वर्षमै एच वान बी कामदारहरूको कुल वार्षिक तलब ५ सय मिलियन डलरभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ । यो प्रणालीले उच्च तलब भएका कामदारलाई बढी मौका दिए पनि सबै तलबस्तरका कामदारले अवसर पाउनेछन्।
यो प्रस्तावित नियमले संघीय नियम निर्माण प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम रूप पाउनेछ, जसमा धेरै महिना लाग्न सक्छ। यो सूचना प्रकाशित भएपछि जनतालाई प्रतिक्रिया दिन ३० दिनको समय दिइनेछ। यदि यो नियम पारित भएमा मार्च २०२६ मा सुरु हुने आर्थिक वर्ष २०२७ को एच वान बी आवेदन सिजनबाट यो लागू हुन सक्छ।
अध्यागमन तथा राष्ट्रियता ऐन अनुसार, एच वान बी भिसा कार्यक्रमले अमेरिकी रोजगारदाताहरूलाई विशेष सीप भएका विदेशी कामदारलाई अस्थायी रूपमा काममा लगाउन अनुमति दिन्छ। विशेष सीपलाई यस्तो कामको रूपमा परिभाषित गरिएको छ, जसका लागि विशिष्ट ज्ञानको सैद्धान्तिक र व्यावहारिक प्रयोग र त्यस क्षेत्रमा स्नातक वा सोभन्दा माथिको डिग्री आवश्यक पर्दछ।
संसदले प्रत्येक आर्थिक वर्षमा प्रारम्भिक एच वान बी भिसा प्राप्त गर्ने विदेशी कामदारको संख्यामा सीमा तोकेको छ। कुनै पनि आर्थिक वर्षमा कुल ६५,००० भन्दा बढी कामदारलाई प्रारम्भिक एच वान बी भिसा प्रदान गर्न पाइँदैन। यद्यपि, केही आवेदनहरूलाई यो ६५,००० को सीमाबाट छुट दिइएको छ। अमेरिकामा स्नातकोत्तर वा सोभन्दा माथिको डिग्री हासिल गरेका एच वान बी कामदारका लागि वार्षिक २०,००० को अतिरिक्त सीमा तोकिएको छ।








