अमेरिकाको कामदार भिसामा १ लाख डलर शुल्क लगाउने घोषणाले नेपाली पनि प्रभावित
प्रकाशित मिति : आश्विन ३, २०८२ शनिबार
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कामदार भिसा एच वान बीमा १ लाख डलरको वार्षिक शुल्क लगाउने एक व्यापक घोषणामा हस्ताक्षर गरेपछि नेपालीहरु पनि प्रभावित हुने भएका छन् । यो घोषणाले दक्ष विदेशी कामदार र धनी आप्रवासी दुवैका लागि लागतमा उल्लेखनीय वृद्धि गर्नेछ। यो ट्रम्पको सबैभन्दा आक्रामक आप्रवासन नीति परिवर्तनहरूमध्ये एक हो।
अब कामदार भिसा एच वान बी भिसाका लागि प्रायोजन गर्ने रोजगारदाताले अब प्रति भिसा वार्षिक १ लाख डलर शुल्क तिर्नुपर्नेछ, जुन पहिले मात्र २१५ डलर थियो। यो परिवर्तनले अमेरिकाको प्रविधि उद्योगमा ठूलो धक्का पुग्ने र नेपालीहरु पनि प्रभावित हुने न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले बताएका छन् ।
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार बाइडेनकालमा झण्डै ३५ सय नेपालीले एच श्रेणीको भिसा पाएका थिए । अघिल्लो ट्रम्प प्रशासनको अवधिमा झण्डै २३ सय जना नेपालीहरुले अमेरिकाको एच श्रेणीको भिसा पाएका थिए । अर्थात् ट्रम्पको पहिलो कार्यकालको तुलनामा बाइडेन प्रशासनको बेलामा एच श्रेणीको भिसा पाउने नेपालीहरुको संख्यामा ५० प्रतिशत बृद्धि भएको थियो ।
आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए ।
आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । यो संख्या २०२२ मा भने ९०५ थियो । आर्थिक बर्ष २०२१ मा भने जम्मा ३२७ जनालाई एचश्रेणीको भिसा प्रदान गरिएको थियो । जसमा कामदार भिसावाहक र उनीहरुका डिपेन्डेन्ट समेत गणना गरिएको छ ।
२०२० मा ५१७ जना नेपालीलाई एच श्रेणीको भिसा प्रदान गरिएको थियो भने आर्थिक बर्ष २०१९ मा ६४१ जना नेपालीहरुले यो श्रेणीको भिसा पाए । सन् २०१८ मा ५७४ जना नेपालीले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए । त्यस्तै २०१७ मा ५९७ जना नेपालीहरुले एच श्रेणीका भिसा पाएका थिए ।
एच वान बी भिसामा धेरै निर्भर सिलिकन भ्यालीका कम्पनीहरूले अब ठूलो नयाँ लागतको सामना गर्नुपर्ने देखिएको छ भने यो घोषणापछि आईटी सेवा कम्पनीहरू र आउटसोर्सिङ कम्पनीहरूको शेयर मूल्य घटेको छ ।
ऐतिहासिक रूपमा सबै एच वान बी भिसामध्ये करिब तीन चौथाइ पाउने भारतीय कामदारहरूलाई यसले सबैभन्दा ठूलो असर पार्नेछ। यसले अमेरिकामा रोजगारीका लागि एक प्रमुख मार्गलाई बन्द गर्न सक्ने अनुमान गरिएको छ । यो शुल्क एच वान बी भिसाको म्याद थप्ने वा अमेरिकाभित्रै भिसाको स्थिति परिवर्तन गर्नेहरुमा लागू नहने जनाइएको छ । जसले गर्दा सयौं हजारौं हालका भिसा वाहकहरूलाई तत्काल असर पर्दैन।
यसैबीच ट्रम्प प्रशासनले वार्षिक ८५ हजार कामदार भिसा एचवान बी लोटरी अन्त्य गर्ने वा उल्लेखनीय परिवर्तन गर्ने प्रस्तावित नियम प्रकाशित गर्ने योजना पनि बनाएको छ । डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर ट्रम्प प्रशासनले लोटरीमार्फत कामदार भिसाका लागि छनोट प्रक्रिया अन्त्य गर्ने प्रस्ताव गरेको थियो । लोटरीको साटो उच्चतमदेखि न्यूनतम तलबको आधारमा कामदार भिसा एच वान बी प्रदान गर्ने ट्रम्प प्रशासनको योजना थियो ।
प्रस्तावित नियममा के छ भन्नेबारे अझै प्रष्ट छैन । यद्यपी नयाँ नियमले लोटरी प्रणाली सही भए नभएकोबारे समीक्षा गर्नसक्ने जनाइएको छ । कामदार भिसा एच वान बीबाट ठूलो संख्यामा नेपालीहरु समेत लाभान्वित हुँदै आइरहेकाले यो नियमले कामदार भिसा एच वान बीका लागि आवेदन दिन चाहने नेपालीहरु र खासगरी अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुलाई बढी प्रभाव पार्नसक्छ ।
यो भिसाको अवधि ३ बर्ष हुन्छ र ६ बर्षसम्म थप्न सकिने प्रावधान रहेको छ । त्यसपछि भिसावाहकले यहीभिसामा रहनका लागि पुन आवेदन दिनुपर्ने हुनसक्छ । यो भिसा सन् १९९० को अध्यागमन ऐन अन्तरगत श्रृजना गरिएको हो । यद्यपी अमेरिकामा सन् १९५२ को अध्यागमन तथा राष्ट्रियता ऐनले नै एच वान भिसाको श्रृजना गरेको थियो । तर पनि सन् १९९० पछि नर्सहरुका लागि एचवान ए र अन्यका लागि एचवान बी छुट्याइएको थियो ।
यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।
कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।
कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ । त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।
लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन । वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ । वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।
सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।








