विपिनलाई खोज्दै इजरायलमा आमा र बहिनी, शीघ्र रिहाइका लागि पहल गरिदिन राष्ट्रपतिसँग बिन्ती
प्रकाशित मिति : श्रावण ३२, २०८२ आईतबार
तस्वीर स्रोत : तेल अभिभस्थित नेपाली राजदूतावास
हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइको लागि दबाब बढाउन इजरायल पुगेका आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटघाट गरेका छन् । तेल अभिभस्थित नेपाली राजदूतावासका अनुसार आइतबार विपिनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति हर्जोगसँग भेटघाट गरेका हुन् ।
उक्त भेटको क्रममा विपिनको आमा पद्माले शीघ्र रिहाइको लागि पहल गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरिन् । यस्तै, बहिनी पुष्पाले आफ्ना दाजु विद्यार्थीको रूपमा इजरायल आएको र निर्दोष रहेको भन्दै हमासको बन्धकबाट मुक्त गरिदिन अपिल गरिन् ।
“दाजु विपिन एक विद्यार्थीको रूपमा इजरायल आउनुभएको हो । विपिन दाजु निर्दोष हुनुहुन्छ । हर तरहबाट पहल गरी मेरो दाजुलाई हमासको बन्धकबाट मुक्त गरी दिनुस् ।”, राष्ट्रपतिसमक्ष पुष्पाले भनिन् ।
राष्ट्रपतिसँगको भेटमा इजरायलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले विभिन्न तवरबाट पहल गरी विपिन जोशीको स्थितिको बारेमा जानकारी गराइदिन आग्रह गरेका थिए । राष्ट्रपति हर्जोगले विपिन जोशीको रिहाइको लागि हरदम कोसिस भइरहेको बताए ।
उनले इजरायली सरकार पक्षबाट भरमग्दुर प्रयास भइरहेकै अवस्थामा नेपाल सरकारबाट पनि अरब देशहरूसँग पुनः वार्ता हुन सके विपिनको रिहाइमा थप बल पुग्ने जिकिर गरे ।
यस्तै, विपिनको आमा र बहिनीले आइतबार नै इजरायली संसद्का अध्यक्ष अमिर ओहाना भेट गरेका थिए । भेटको क्रममा इजरायली संसद्का अध्यक्ष ओहानाले विपिनको बारेमा निकै चासो रहेको र उनको खोजी कार्यमै लागिरहेको बताएका थिए ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि परिवारको सम्पर्कमा छैनन् । सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । विपिनलाई हमासले बन्धक बनाएको थियो । त्यसयता उनको अवस्थाबारे कुनै जानकारी आएको छैन ।








