पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन


प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार

Hmich176, CC BY-SA 4.0, via Wikimedia Commons

पेन्सिलभेनियाको हर्शी पार्कमा नौ वर्षीया नेपालीभाषी बालिकाको निधन भएको छ। बिहीबार साँझ पेन्सिलभेनियाको हर्शी पार्कस्थित स्विमिङ क्षेत्रको ‘द बोर्डवाक’ मा बालिकाको मृत्यु भएको हो। हर्शी इन्टरटेनमेन्ट एन्ड रिसोर्ट्सका प्रमुख कार्यकारी अधिकृत जोन लनले घटनाको पुष्टि गरेका छन्।

यस घटनामा नौ वर्षीया नेपालीभाषी भुटानी समुदायकी बालिकाको ज्यान गएको हो। घटनापछि बालिकालाई उपचारका लागि तत्काल हर्शी मेडिकल सेन्टर पुर्‍याएपनि बचाउन सकिएन। बालिकाको नाम भने सार्वजनिक गरिएको छैन।

अधिकृत लनले विज्ञप्ति जारी गर्दै भने, “हाम्रो लाइफगार्ड टोलीले जब बालिका संकटमा परेको थाहा पायो, उनलाई तत्काल उद्धार गरिएको थियो। त्यसपछि हाम्रो लाइफगार्ड, स्थलमा रहेका आपतकालीन उत्तरदाता र चिकित्सा टोलीबीच समन्वित रूपमा जीवनरक्षाका प्रयासहरू निरन्तर जारी राखिएको थियो।”

शुक्रबार हर्शी पार्कका प्रवक्ताले घटनाको पुष्टि गर्दै यो घटना पार्कको बोर्डवाक क्षेत्रमा भएको बताएका छन्। साथै, प्रवक्ताले परिवारप्रति समवेदना प्रकट गर्दै र जीवन बचाउन निरन्तर प्रयास गर्ने टोलीप्रतिको गहिरो कृतज्ञताको रूपमा, वेभ पुल शुक्रबार बन्द गरेको समेत जानकारी दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले नेपालीभाषी बालिकाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। गभर्नर शापिरोले भने, “म त्यो अमूल्य ९ वर्षीया बालिकाको निधनप्रति गहिरो शोक व्यक्त गर्दछु। म ती परिवारलाई भन्न चाहन्छु कि हामी सबै तिनीहरूका लागि प्रार्थना गर्दैछौं र आशा गर्दछौं कि हाम्रो प्रार्थनाले उनीहरूलाई सान्त्वना मिलोस्।”

भुटनिज कम्युनिटी इन ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले बालिकाको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्। उनले भने, “हाम्रो समाजमा आज बज्रपात परेको छ। जुन घटना आज घटेको छ, म सम्बन्धित निकायहरूलाई घटनाको सत्यतथ्य छानबिन गर्न अनुरोध गरेको छु।”

डेरी टाउनशिप प्रहरीका अनुसार उनीहरू हाल अनुसन्धानको प्रारम्भिक चरणमा रहेको र घटनासम्बन्धी सबै तथ्यहरू संकलन गरिरहेका छन्। यसअघि सन् १९७७ मा हर्शी पार्कमा एक १६ वर्षीय किशोरको मृत्यु भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com