२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको मुहारमा पनि चमक, ग्रिनकार्ड पाउने मितिमा अग्रता

अमेरिकी सरकारको विदेश मन्त्रालयअन्तर्गत ब्यूरो अफ कन्सुलर अफेयर्सले शुक्रबार सार्वजनिक गरेको भिसा बुलेटिनले अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका मुहारमा थोरै मुस्कान ल्याएको छ । किनभने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ ।

अप्रिलमा १ अगस्ट २००७ भन्दा अगाडि आवेदन दिएका वा प्राथमिकता मिति भएकाहरुले भिसा पाउनसक्ने रहेकोमा मेका लागि ५ महिनाको अग्रता कायम भई १ जनवरी २००८ मा सरेको छ । अर्थात् १ जनवरी २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले मे मा भिसा पाउन सक्नेछन् । त्यस्तै अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि मे महिनामा २ महिनाको अग्रता कायम भएको छ । अर्थात् १ जुन २००८ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुने अमेरिकी नागरिकका दाजुभाइ दिदीबहिनीले मे मा ग्रिनकार्ड आवेदन दिन सक्नेछन् ।

त्यसैगरी अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोरछोरीहरुले ग्रिनकार्ड फाइल गर्ने मितिमा उल्लेखनीय अग्रता कायम भएको छ। अप्रिलका लागि १५ अक्टोबर २०२४ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले ग्रिनकार्ड फाइल गर्नसक्ने भएकोमा मे महिनाका लागि झण्डै साढे ३ महिना अग्रता कायम हुँदा १ फेब्रुअरी २०२५ भन्दा अगाडि आई १३० फाइल गरेकाहरुले मे महिनामा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् ।

अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका लागि यो खुशीको खबर हो । किनभने उनीहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेपछि सामान्यतया स्टाटस जोगाउने झन्झट हुँदैन भने वर्क परमिट र सोसल सेक्युरिटी नम्बर समेत प्राप्त गरेर अमेरिकामा काम। गर्न पाउँछन् । साथै आवेदन विचाराधिन रहेको अवस्थामा ट्राभल डकुमेन्ट प्राप्त गरेर अमेरिकाबाहिर यात्रा गर्नसमेत पाउँछन् । तर कतिपय अवस्थामा कानुन व्यवसायीहरुले ग्रिनकार्ड प्राप्त नहुँदासम्म अध्यागमन स्टाटस कायम राखिराख्न समेत सुझाव दिने गरेका छन् ।

फाइल गर्ने मितिमा अग्रता कायम भएतापनि अमेरिकी दूतावासबाट ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा भने हलचल भएको छैन । १ जनवरी २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएकाग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोरछोरीहरुले मात्र मे महिनामा दूतावासमा अन्तरवार्ताको मिति वा आप्रवासी भिसा पाउनसक्छन् । जसका कारण अप्रिलको तुलनामा अमेरिकाबाहिर ग्रिनकार्ड कुर्नेहरुको प्रतिक्षा अवधिमा भने अझ बृद्धि भएको छ ।

अमेरिकाभित्र ग्रिनकार्ड आवेदन आई ४८५ दिइसकेपछि आवेदनमा निर्णयका लागि भने लामो समय लाग्ने गरेको छ । पछिल्लो तथ्यांक अनुशार परिवारमा आधारित ग्रिनकार्ड स्वीकृत हुन चालु आर्थिक बर्षमा अमेरिकाभित्र हुनेहरुका लागि झण्डै साढे ९ महिना लाग्ने गरेको छ । यो अवधिमा अघिल्लो आर्थिक बर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक बर्षमा परिवारमा आधारित ग्रिनकार्डका लागि औषतमा ९ महिना लाग्ने गरेको थियो ।

अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा पाउन सक्ने प्राथमिकता मिति अप्रिलमा जस्तै मेका लागि पनि १५ मार्च २०१६ नै रहेको छ। अर्थात् मे महिनामा पनि १५ मार्च २०१६ भन्दा अगाडिको प्राथमिकता मिति भएका यस्ता छोराछोरीले ग्रिनकार्ड वा आप्रवासी भिसा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, अमेरिकी नागरिकका अमेरिकाबाहिर रहेका विवाहित छोराछोरीको सन्दर्भमा मे मा भिसा पाउने प्राथमिकता मिति १ अप्रिल २०११ नै कायम छ । ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा पनि ग्रिनकार्ड वा आप्रवासी भिसा पाउने मितिमा परिवर्तन भएको छैन। यो मिति मे मा पनि २२ जुलाई २०१६ नै कायम रहेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तर परिवारमा आधारित अन्य श्रेणीहरू—अमेरिकी नागरिकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरी, विवाहित छोराछोरी र ग्रिनकार्डवाहकका २१ वर्ष उमेर कटेका अविवाहित छोराछोरीको सन्दर्भमा भने अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने मितिमा कुनै परिवर्तन भएको छैन। यो मिति अफ्रिलमा क्रमशः १ सेप्टेम्बर २०१७, २२ जुलाई २०१२ र १ जनवरी २०१७ रहेकोमा मे महिनाका लागि पनि सोही मिति कायम रहेको छ। यी मितिहरु चीन, इन्डिया, मेक्सिको र फिलिपिन्सका सन्दर्भमा भने फरक रहेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →