अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला


प्रकाशित मिति : माघ १२, २०८१ शनिबार

मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।

सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । “ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ”, चौधरीले भन्नुभयो, “ग्यास चलाउन नसक्नेले दाउराको विकल्प गुइँठा तयार गर्नु परेको छ ।”

ग्रामथान–५ कि सीता चौधरीको जस्तै व्यथा छ रङ्गेली आमगाछीकी ललिता नुनियाको । नुनिया हिउँद सुरु भएसँगै गोठको गोबर जम्मा गरेर गुइँठा बनाउन थाल्नुहुन्छ । काँचो गोबरलाई सनपाटको सुन्टीमा टाँसेर सुकाएपछि गुइँठा बन्ने गरेको छ । दक्षिणी मोरङमा यसैलाई दाउराको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ । तराईको समथल उब्जाउयोग्य खेतबालीमा हाल्नुपर्ने गोबर गुइँठा बनाएपछि दक्षिणी मोरङका किसान खेतमा रासायनिक मल हाल्न बाध्य छन् । गोबरलाई मलका लागि खेतमा हाले दाउराको समस्या हुने उहाँको भनाइ छ ।

दक्षिणी मोरङको रङ्गेली, सुनवर्षी, ग्रामथान, रतुवामाई र कटहरी क्षेत्रका निम्नवर्गका परिवारका महिलाले खाना पकाउने दाउराका रुपमा गुइँठा नै प्रयोग गर्ने गरेका छन् । गुइँठा बाल्दा निस्किएको धुवाँले आँखा र स्वास्थ्यमा समस्या देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रामथान–५ कि सीता चौधरी र आमगाछी कि नुनिया जस्तै यस क्षेत्रका गृहिणीको दिनचर्या हो गोठबाट गोबर सङ्कलन गरेर गुइँठाको दाउरा बनाउनु । दक्षिणी मोरङका अधिकांश बासिन्दा गोबर सङ्कलन गरी सुन्ठी, बाँस, परालका टुक्रा मिसाएर दाउरा बनाउने गर्दछन् । बनाएका दाउरा सुकाएर खाना बनाउन प्रयोग गरिने स्थानीयवासी बताउँछन् ।

मोरङको उत्तरी क्षेत्रमा घना जङ्गल भए पनि दक्षिणी मोरङमा भने दाउराकै लागि गोबर प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । दाउराको अभावमा गोबरलाई मलका रूपमा नभई दाउरा बनाएर खाना पकाउनुपर्ने बाध्यता रहेको स्थानीय परमेश्वर नुनियाले बताउनुभयो । खेतमा प्रयोग गर्नुपर्ने गोबर मल दाउराका रूपमा प्रयोग हुँदा खेतमा मलको अभाव भएको छ भने स्वास्थ्यसम्बन्धी समस्यासमेत मानिसमा देखिन थालेको छ ।

गोबर मल खाना बनाउन प्रयोग गर्नुपर्ने भएपछि यस क्षेत्रका किसानले रासायनिक मलको प्रयोगमा जोड दिँदै आएका छन् । कृषकले बारिमा लगाउने गोबरलाई गुईठा बनाउन प्रयोग गर्नाले ५० प्रतिशत मलको अभाव र रासायिनक मलको प्रयोगले थप ५० प्रतिशत माटो बिग्रिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउनुभयो । उक्त क्षेत्रमा दाउराको सहजता मात्र हुने हो र रासायनिक मलको ठाउँमा आफ्नै बारीमा उत्पादन हुने प्राङ्गारिक मल प्रयोग गरे उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।

खेतको उत्पादनमा ह्रास आएको कृषि विज्ञहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार दाउराका रूपमा गोबर प्रयोग गर्नु स्वास्थ्यका लागि पनि हानिकारक छ । यसले भान्सामा काम गर्नेलाई श्वासप्रश्वास, दम र अन्य फोक्सोसम्बन्धी रोग लाग्न मोरङ हस्पिटलका डा उमेश गुरागाईंले बताउनुभयो ।

प्राङ्गारिक मलका लागि प्रयोग हुने गोबरलाई गुइँठा बनाएर दाउराका रूपमा प्रयोग गर्नुभन्दा वैकल्पिक साधन प्रयोग गरेर खाना बनाउन विज्ञहरूको सुझाव छ । मोरङका दक्षिणी भेगका स्थानीय बासिन्दालाई वन पैदावारको हकदार बनाउन सामुदायिक वनले प्रयास थाले पनि सरकारी नीतिकै कारण समस्या आएको सामुदायिक वन उपभोक्ता समिति प्रदेश नं १ का सचिव अग्नि पौडेलले बताउनुभयो ।

सामुदायिक वनको क्षेत्र बाहिर रहेका जनतालाई समेट्न साझेदारी वन गठन भए पनि साझेदारी वनमा सरकारी नीतिका कारण दाउराका रूपमा भएका वन पैदावार बिक्रीवितरण गर्न सकिएको छैन । गरिबको पहुँचमा वन पैदावार नहुँदा स्थानीय खाना पकाउन दाउरा बाल्न बाध्य छन् । सरकारी नीतिअनुसार वन पैदावार डाक बढाबढमा बिक्री हुने गर्दछ । यसरी बिक्री भएको वन पैदावार पहुँचवालाले नै लिने हुँदा विपन्नमा दाउराको समस्या भएको वनसम्बन्धी सरोकार भएकाहरू बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com