साङ्गीतिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा तीन कुर्सी घुमाउन सफल हुनुभएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करणअन्तर्गत यही माघ ५ गते शनिबार राति प्रसारण गरिएको ब्लाइण्ड अडिसनमा प्रदीपले गायक तथा सङ्गीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर…’ बोलको गीत गाउनुभएको थियो ।

विगत १० वर्षदेखि साङ्गीतिक यात्रामा सक्रिय रहनुभएका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनमा दिनुभएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साङ्गीतिक क्षेत्रमै भविष्य खोजिरहनुभएका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिसनबाट ब्याटल अडिसनका लागि छनोट भएपछि आफन्त तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिइरहेका छन् ।

चारजना प्रशिक्षक रहेको भ्वाइस अफ नेपालमा ब्याटल अडिसनका लागि छनोट हुनुभएका प्रदीपले प्रशिक्षक उदय सोताङलाई रोज्नुभएको छ । आई वान्ट (म चाहन्छु) भनेर कुर्सी घुमाउनुभएका चर्चित गायिका मेलिना राई र गायक तथा सङ्गीतकार खेम सेन्चुरीलाई छाडेर गायक तथा सङ्गीतकार सोताङसँग जानेक्रममा अन्य प्रशिक्षकहरुले प्रदीपको स्वरको प्रशंसा गर्दै उज्वल भविष्यको लागि शुभकामना दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरपरिवार तथा विशेष गरी साहिला दाजु सुदीप राईको प्रेरणा र हौसलाले साङ्गीतिक यात्रामा लागेको बताउँदै प्रदीपले रियालिटी शो भ्वाइसको मञ्चबाटै आफूमाथि केही व्यक्तिले आफ्नो वास्तविक नामभन्दा पनि गाइने भनेर बोलाउने गरेको प्रति दुःखसमेत व्यक्त गर्नुभएको छ । खिसीट्युरी गर्ने व्यक्तिहरुकै कारण आफू यहाँसम्म आइपुगेको पनि प्रदीपले अडिसनकै क्रममा बताउनुभएको छ ।

किरात राई यायोख्खा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘यलम्बर सङ्गीत प्रतियोगिता भाग–५’को सेकेन्ड रनरअप, खोटाङ कलाकार समाजद्वारा आयोजित पालिका प्रतिभा–२०८० मा प्रथम र जिल्ला प्रतियोगितामा दोस्रो उपाधि प्राप्त गरिसक्नुभएको छ । प्रदीपले भ्वाइस अफ नेपालले आयोजना गरेको छैटौँ संस्करणको ब्याटल अडिसन गुमाउनुभएको छ । ब्लाइण्ड अडिसनमा बेजोड प्रस्तुति दिनुभएका प्रदीप वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुग्नुभएको छ ।

अहिले दक्षिण कोरियाको छेजुदो प्रान्तमा मजदुरीको काम गरिरहनुभएका प्रदीपले घरको कमजोर आर्थिक अवस्थाका कारण भ्वाइस अफ नेपालको छैटौँ संस्करणको उपाधि जित्ने चाहना र सम्भावना हुँदाहुँदै ब्याटल नै छाडेर विदेशिन बाध्य भएको बताउनुभएको छ । “जहाँ रहे पनि जसरी भए पनि गीत/सङ्गीतसँगको यात्रा पक्कै जारी रहिरहनेछ, कुनै मोडमा इच्छा, चाहना, सपनाभन्दा परिस्थितिले दास बनाइ दिँदो रहेछ”, उहाँले ब्लाइण्ड अडिसनमा आफू दिएको प्रस्तुतिको भिडियो क्लिप्स फेसबुकमा शेयर (साझा) गर्दै लेख्नुभएको छ, “खैर सम्पूर्ण शुभचिन्तकप्रति माया र हौसलाका लागि आभारी छु, मेरो गीत/सङ्गीतसँगको यात्रा जारी रहिरहनेछ ।”

साङ्गीतिक कक्षासँगै औपचारिक शिक्षाअन्तर्गत कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभएका प्रदीपलाई साङ्गीतिक क्षेत्रमै योगदान गर्न दाजु दीपेन्द्रले विदेशबाट पैसा पठाउने गरेको पनि बताउनुभयो । केही वर्षअघि नै साङ्गीतिक क्षेत्रबाट अलग्गिने निर्णयमा पुगेको जानकारी दिँदै प्रदीपले पुनः गीत/सङ्गीतमै फर्किन प्रशिक्षक मेलिनाको स्वरमा रहेको ‘तिमीले बाटो फेरेउ अरे…’ बोलको गीतले प्रोत्साहन गरेको बताउनुभयो ।

भ्वाइस अफ नेपालको ब्याटल तथा अडिसनका प्रतिस्पर्धीलाई विदेशबाटै भए पनि अडिसन दिने वातारण आयोजकले मिलाउनुपर्ने प्रदीपका जेठा दाजु दीपेन्द्रले बताउनुभयो । “कला र गला दुवै भएका प्रदीपलाई विदेश पठाउने रहर थिएन, साङ्गीतिक क्षेत्रमै भविष्य खोज्न आग्रह गर्यौँ, परिवारको तर्फबाट गर्ने सहयोग पनि उपलब्ध गरायौँ, तर देशको अवस्था हेर्दा त्यो सम्भव भएन”, उहाँले भन्नुभयो, “कलाकारहरुको सम्मान तथा भविष्यप्रति नेपाल सरकार उदासिन देखिन्छ, भ्वाइस अफ नेपालमा ब्लाइण्ड अडिसन पार गरेका प्रतिस्पर्धीलाई आयोजकले ब्याटल तथा अन्य अडिसनमा विदेशबाटै प्रतिस्पर्धा गर्ने वातारण मिलाउनुपर्छ ।”

पाँच सन्तानका बुबा राजकुमार राई र आमा भीमकुमारी राईका कान्छा छोरा प्रदीपले यसअघि आफ्नै स्वरमा ‘साप्सुको छाल…, रगतको नाता…’लगायत विभिन्न गीतसमेत रेकर्ड गराएर बजारमा ल्याइसक्नुभएको छ । खार्मीका मध्यम वर्गीय परिवारमा जन्मिएर रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुग्नुभएका प्रदीपले विदेशबाट फर्किएर पुनः गीत/सङ्गीतकै क्षेत्रमा योगदान गर्ने बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com