विदेशबाट फर्किएर गाउँमै स्वरोजगार : पुजन र लक्ष्मीले सुरु गरे ३० लाख लगानीमा बङ्गुरपालन


प्रकाशित मिति : माघ ३, २०८१ बिहीबार

इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बन्नुभएको छ । छ वर्ष साइप्रस बसेर गाउँ फर्किनुभएका उहाँहरुले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो । ‘लक्ष्मी पशुपालन बङ्गुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ ।

“अहिले ४२ बङ्गुर छन् । पाठा हालेको सात महिना भयो । अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ”, लक्ष्मीले भन्नुभयो, “पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ । बेच्न समस्या हुँदैन”, राम्रो स्याहार पुगेको एउटा बङ्गुर सामान्यतया एक क्विन्टल (एक सय केजी) हुने उहाँले बताउनुभयो । इलामका बजारमा बङ्गुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ ।

पशुपालन मात्रै होइन । पुजनका दुई वटा यात्रु गाडी छन् । फार्ममा लक्ष्मीसहित अन्य दुईजना खट्नुहुन्छ भने पुजन गाडी लिएर जानुहुन्छ । “नामसालिङबाट सदरमुकाम हुँदै झापासम्म जाने र फिक्कल बजारसम्म जाने दुई वटा प्यासेन्जर गाडी छन्”, पुजनले भन्नुभयो, “एउटाचैँ आफैँ चलाउँछु । अर्को चलाउने साथी हुनुहुन्छ ।” एउटा नभए अर्को त पक्कै हुन्छ भनेर पशुपालनसँगै यातायात व्यवसाय पनि थालिएको उहाँ बताउनुहुन्छ । “बङ्गुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ । तर, हाल दुवै व्यवसाय सफल नै छन् । विदेश जान मन छैन । स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ ।”

गत वर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताउनुभयो । “रोगले आमा बित्नुभयो । त्यसपछि विदेश जाने मन भएन । गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “पुर्खाले पनि बङ्गुर त पालेकै हुन् । तर, व्यावसायिक बन्न नसक्दा सधैँनिर्वाहमुखी हुनुपर्यो । विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ । पुजन र लक्ष्मीले सुरु गर्नुभएको बङ्गुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहित गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । “पालिकाभित्र व्यवसाय सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौं ।” उहाँले भन्नुभयो । जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृत रूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रवीना राईले बताउनुभयो ।

पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बङ्गुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले बताउनुभयो । “बङ्गुरपालन व्यवसायबाट अन्य पशुपन्छीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएकोे छ । उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकी बङ्गुरपालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशतसम्म पाइएको छ ।” गुरुङले भन्नुभयो ।

मासुको रूपमा बङ्गुुरको प्रायः सबैजसो अङ्गको परिकार बनाएर खाइने गरेको छ । बङ्गुुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताउनुभएको छ । बङ्गुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले मासु एक सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com