फ्याक्ट चेक: युएससीआईएसबाटै ग्रिनकार्ड नविकरणबारे गलत सुचना प्रवाह


प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार

ग्रिनकार्ड नविकरणका सन्दर्भमा युएससीईआएसले आउटडेटेड सुचना प्रवाह गरेपछि सेवाग्राहीहरु अन्यौलमा परेका छन् । युएससीआईएसले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकी नागरिकताका लागि आवेदन दिएपनि अधिकांश सन्दर्भमा म्याद सकिदै गरेको ग्रिनकार्डका लागि पनि नविकरण आवेदन दिनुपर्ने जनाएको थियो ।

यो पोष्ट सामाजिक सञ्जाल एक्समा ८ जनाले रिपोष्ट गरेका छन् भने ४१ जनाले लाइक गरेका छन्, साथै कैयनले कमेन्टपनि गरेका छन् । त्यस्तै फेसबुकमा यो पोष्ट १६ जनाले शेयर गरेका छन् भने १२ जनाले रियाक्ट गरेका छन् । २२ जनाले गरेको कमेन्टमा कतिपयले अमेरिकी नागरिकताका लागि आवेदन दिएपछि पनि म्याद सकिनै गरेको ग्रिनकार्ड नविकरणका लागि आवेदन दिनुपर्ने प्रावधान राम्रो नभएको कमेन्ट गरेका छन् ।

युएससीआईएसले आफ्नो फेसबुकमा गरेको आउटडेटेड पोष्ट, जसले सेवाग्राहीहरु अन्यौलमा परेका छन् ।

यद्यपी खसोखासले फ्याक्ट चेक गर्दा यो विवरण आउटडेटेड भएको पाएको छ । युएससीआईएसले नै आफ्ना सामाजिक सञ्जालहरुमा आउटडेटेट विवरण पोष्ट गर्दा सेवाग्राहीहरु अलमलमा परेपछि यसबारे खसोखासले फ्याक्ट चेक गरेको हो ।

डिसेम्बर ९, २०२२ मा युएससीआईएसले अमेरिकी नागरिकताका लागि आवेदन दिएकाहरुको म्याद सकिएको वा सकिन लागेको ग्रिनकार्डको अवधि स्वत २४ महिना थपिने नीति ल्याएको थियो । उक्त नीति सन् २०२२ को डिसेम्बर १२ देखि लागु गरिएको थियो । त्यसैले युएससीआईएसले सामाजिक सञ्जालमा गरेको पोष्ट सन् २०२२ को डिसेम्बर १२ भन्दा अगाडिको नीतिमा आधारित भएको देखिएको छ । अर्थात् उक्त पोष्ट आउटडेटेड देखिएको छ ।

युएससीआईएसले २०२२ को डिसेम्बरमा नीतिमा अद्यावधिक गर्दै नागरिकता आवेदन दिएकाहरुको ग्रिनकार्डको अवधि २ बर्षसम्म लम्बिने घोषणा गरेकोमा त्यो नीति नै अहिलेसम्म कायम रहेको छ ।

हेर्नुहोस् सन् २०२२ को डिसेम्बरमा युएससीआईएसले ल्याएको नीति

यो नीति लागु नहुदासम्म नागरिकता आवेदन दिएपछि कतिपय ग्रिनकार्डवाहकको ग्रिनकार्डको अवधि नागरिकता प्राप्त नहुदै समाप्त हुँदा यात्रा गर्नमा समस्या हुने गरेको थियो । तर उक्त नीति लागु भएपछि नागरिकताका लागि लामो समय लागेको खण्डमा समेत ग्रिनकार्डको अवधि स्वत लम्बिदा उक्त समस्याबाट मुक्ति मिल्दै आएको छ ।

हेर्नुहोस्  ग्रिनकार्डको म्याद स्वत २४ महिना थपिने नीतिबारे खसोखासले सन् २०२२ को डिसेम्बर ९ मा प्रकाशित गरेको समाचार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त नीति अनुशार जसले ठीक तरिकाले नागरिकता आवेदन एन ४०० फाइल गरेको छ, उसले नागरिकता आवेदनको रिसिप्टमा ग्रिनकार्डको अवधि २४ महिनासम्म लम्बिने स्पष्ट पार्दै आएको छ । उक्त रिसिप्ट म्याद सकिएको ग्रीन कार्डको साथमा पेश गरेर बैध स्थीतिको निरन्तरता र रोजगार योग्यता प्रमाणीकरण गर्न सकिन्छ । तर रिसिप्ट नोटिसमा उल्लेखित २४ महिनासम्ममात्र यसले काम गर्छ ।

यसबारेको युएससीआईएसको हालको नीति हेर्न यहाँ क्लीक गर्नुहोला ।

यो परिवर्तन हुनु अघि अर्थात् सन् २०२२ को डिसेम्बर अगाडि अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा ग्रिनकार्डको म्याद कम्तीमा ६ महिना हुनुपर्ने प्रावधान रहेको थियो । यदि ग्रिनकार्डको म्याद ६ महिनाभन्दा कम रहेको अवस्थामा अमेरिकी नागरिकता आवेदन दिनु अगाडि ग्रिनकार्ड नविकरणका लागि आई ९० आवेदन दिनुपर्ने अवस्था थियो ।

आफ्नो ग्रीन कार्डको म्याद सकिनु भन्दा कम्तिमा छ महिना अघि नै नागरिकताका लागि आवेदन दिएका तर ग्रिनकार्डको म्याद सकिनु अगाडि नै नागरिकता नपाएका आवेदकले आफ्नो पासपोर्टमा एलियन डकुमेन्टेसन, आइडेन्टिफिकेसन, र टेलिकम्युनिकेसन स्ट्याम्प प्राप्त गर्न योग्य रहेका थिए । जसले उनीहरूको ग्रिनकार्डको अस्थायी प्रमाणको रूपमा काम गर्दै आएको थियो ।

पूरानो नीति अमेरिकाको नागरिकता आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्यमा आधारित रहेको थियो । तर नागरिकताका लागि लामो समय लाग्न थालेपछि सन् २०२२ को डिसेम्बरमा नयाँ नीति ल्याइएको थियो । ग्रिनकार्डको अवधि स्वत लम्बिने नीतिले युएससीआईएसका फिल्ड अफिसहरुमा पासपोर्टमा छाप लगाउनका लागि अप्वाइन्टमेन्ट लिनुपर्ने झण्झट हटेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com