डिसेम्बर १२ अघि नागरिकता आवेदन दिनेको ग्रिनकार्ड नागरिकता नआउँदै एक्सपायर भए के गर्ने ?


प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार

डिसेम्बर १२ सोमबारदेखि अब अमेरिकामा नागरिकताका लागि आवेदन दिएका ग्रिनकार्डवाहकको ग्रिनकार्डको अवधि स्वत लम्बिने भएको छ । युएससीआईएसले नीतिमा अद्यावधिक गर्दै नागरिकता आवेदन दिएकाहरुको ग्रिनकार्डको अवधि २ बर्षसम्म लम्बिने घोषणा गरेको छ ।

यस अगाडि नागरिकता आवेदन दिएपछि कतिपय ग्रिनकार्डवाहकको ग्रिनकार्डको अवधि नागरिकता प्राप्त नहुदै समाप्त हुँदा यात्रा गर्नमा समस्या हुने गरेको थियो । तर अब नागरिकताका लागि लामो समय लागेको खण्डमा समेत ग्रिनकार्डको अवधि स्वत लम्बिने भएकाले यो समस्याबाट मुक्ति हुने भएको छ । नयाँ नियमले नागरिकताका लागि लामो प्रक्रियाको समय अनुभव गर्ने आवेदकहरूलाई मद्दत गर्ने अपेक्षा गरिएको छ ।

अब जसले ठीक तरिकाले नागरिकता आवेदन एन ४०० फाइल गरेको छ, उसले नागरिकता आवेदनको रिसिप्टमा ग्रिनकार्डको अवधि २४ महिनासम्म लम्बिने स्पष्ट पार्नेछ । उक्त रिसिप्ट म्याद सकिएको ग्रीन कार्डको साथमा पेश गरेर बैध स्थीतिको निरन्तरता र रोजगार योग्यता प्रमाणीकरण गर्न सकिनेछ । तर रिसिप्ट नोटिसमा उल्लेखित २४ महिनासम्ममात्र यसले काम गर्नेछ ।

यो परिवर्तन हुनु अघि अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा ग्रिनकार्डको म्याद कम्तीमा ६ महिना हुनुपर्ने प्रावधान रहेको थियो । यदि ग्रिनकार्डको म्याद ६ महिनाभन्दा कम रहेको अवस्थामा अमेरिकी नागरिकता आवेदन दिनु अगाडि ग्रिनकार्ड नविकरणका लागि आई ९० आवेदन दिनुपर्ने अवस्था थियो ।

आफ्नो ग्रीन कार्डको म्याद सकिनु भन्दा कम्तिमा छ महिना अघि नै नागरिकताका लागि आवेदन दिएका तर ग्रिनकार्डको म्याद सकिनु अगाडि नै नागरिकता नपाएका आवेदकले आफ्नो पासपोर्टमा एलियन डकुमेन्टेसन, आइडेन्टिफिकेसन, र टेलिकम्युनिकेसन स्ट्याम्प प्राप्त गर्न योग्य रहेका थिए । जसले उनीहरूको ग्रिनकार्डको अस्थायी प्रमाणको रूपमा काम गर्दै आएको थियो ।

यो नीति अमेरिकाको नागरिकता आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्यमा आधारित रहेको थियो । तर अहिले नागरिकताका लागि लामो समय लाग्ने भएपछि नयाँ नीति ल्याइएको छ । ग्रिनकार्डको अवधि स्वत लम्बिने भएकाले युएससीआईएसका फिल्ड अफिसहरुमा पासपोर्टमा छाप लगाउनका लागि अप्वाइन्टमेन्ट लिनुपर्ने झण्झट हनेछैन । एकातिर आवेदकलाई पनि सहज हुनेछ भने अर्कोतर्फ युएससीआईएसले छाप लगाउनका लागि तय गरेको जनशक्ति अन्य काममा लगाउन पाउने भएको छ ।

डिसेम्बर १२ वा त्यसपछि अमेरिकी नागरिकता आवेदन दिनेहरुका लागि ग्रिनकार्डको अवधि स्वत लम्बिने नियम लागु हुनेछ । डिसेम्बर १२ अगाडि नागरिकताका लागि आवेदन दिएकाहरुले भने ग्रिनकार्डको अवधि स्वत २४ महिना लम्बिने सुचना प्राप्त गर्नेछैनन् । यदि उनीहरुको ग्रिनकार्डको म्याद सकिएमा उनीहरुले नविकरणका लागि आई ९० आवेदन दिनुपर्नेछ वा युएससीआईएसको फिल्ड अफिसमा गएर पासपोर्टमा छाप प्राप्त गर्नुपर्नेछ ।

आफ्नो ग्रीन कार्ड हराएकाहरुले अमेरिकी नागरिकताका लागि आवेदन दिएतापनि ग्रिनकार्ड पाउनका लागि सामान्यतया आई ९० फारम फाइल गर्नुपर्छ । नयाँ नीति अनुशार उनीहरुको ग्रिनकार्डको अवधि स्वत लम्बिएको उल्लेख भएतापनि हराएको खण्डमा भने नयाँ ग्रिनकार्डका लागि आई ९० फारम भर्नुपर्छ । ग्रिनकार्डको म्याद सकिएका तर ग्रिनकार्ड नहराएकाहरुले पासपोर्टमा छाप लगाउनका लागि युएससीआईएसको सम्पर्क केन्द्रमार्फत अप्वाइन्टमेन्ट लिएर नजिकको फिल्ड अफिसमा जानुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com