इजराइल र हमासबीच ६ हप्ता लामो युद्धविरामको तयारी , आजदेखि वार्ता सुचारु हुने अपेक्षा
प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार
इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।
मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ ।
मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए । तर हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो । यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन् ।
इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ । पहिलो चरणमा ६साताको युद्धविराम हुनेछ । यसमा इजराइलले राखेका ३ सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ ।
हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ । यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन् । अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ ।
इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ ।





