‘छोराछोरी अमेरिका ल्याइदिन्छौं भनेर न्युयोर्कका हामी ५ जनाबाट साढे २ करोडभन्दा बढी ठगे’


प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार

मानव तस्करीको अभियोगमा नेपालमा पक्राउ परेका नेपाली अमेरिकन ५२ वर्षीय हस्त गौतमले आफ्ना छोराछोरी र आफन्तहरु अमेरिका ल्याइदिने भन्दै आफूहरुबाट साढे २ करोडभन्दा बढी रकम ठगेको तर उनीहरुलाई अमेरिका भने नल्याइदिएको न्युयोर्कमा रहेका ५ जना नेपालीहरुले गुनासो गरेका छन् । उनीहरुले खसोखाससँग कुराकानी गर्दै भने – ‘कसैका एकजना त कसैका दुईजना छोराछोरी र आफन्त गरी ८ जनालाई अमेरिका ल्याइदिनेभन्दै ३० लाखदेखि ६५ लाख रुपैयासम्म लिए तर हाम्रा छोराछोरी र आफन्तहरु कहिले पनि अमेरिका आएनन् ।’

यसरी ठगिएको गुनासो गर्नेहरुमा ४ जना शेर्पा समुदायका र एकजना तामाङ समुदायका नेपालीहरु रहेका छन् । उनीहरुले न्युयोर्कको उडसाइडमा रहेको होटलमा पटकपटक भेटेर आफ्ना छोराछोरीहरु र आफन्तहरु ल्याउन नगद रकम दिएको बताएका छन् । उनीहरुले भने – ‘हामीलाई यसरी झुक्याउनेमा गौतम सहित न्युयोर्कमा रहेका अरु नेपालीहरु पनि सहभागी छन् । हामीले गौतमलाई होटलमा भेट्दा त्यहाँ नेपालकी चर्चित कलाकार पनि साथै थिइन् ।’

पीडित भएको गुनासो गर्नेमध्येकी एकले खसोखाससँग भनिन् -‘मेरी दिदीको छोरालाई ल्याइदिने भन्दै मबाट ३५ हजार डलर रकम लिए । हामी ५ जनामध्ये कतिले छोराछोरी नै ल्याइदिने भन्दै ६५ हजार डलरसम्म पनि तिरे । हामीले दिएको रकमले नै गौतमले न्युयोर्कमा रेष्टुरेण्ट समेत खोलेका थिए ।’

“‘कि हाम्रा मान्छेहरु ल्याइदिनुपर्छ कि रकम फिर्ता दिनुपर्छ’  भनेर हामीले भन्दा उनीहरुले ‘अब हामी रेष्टुरेण्ट खोलेर न्युयोर्कमा नै बस्छौं,हामी भाग्दैनौं ‘ भन्दै न्युयोर्कमा नै रेष्टुरेण्ट किनेर बसे । तर पछि रेष्टुरेण्ट बेचेर उनीहरु न्युयोर्कबाट हिडे । हामी ठगियौं ।” – उनीहरुले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना छोराछोरी र आफन्तहरुलाई थाइल्याण्ड हुँदै फिजी पुर्याएको र फिजीबाट उनीहरुलाई नेपाल नै फिर्ता गरिएको पीडितहरुको भनाई छ । थाइल्याण्ड र फिजीमा रहेका गौतमको नेटवर्कका व्यक्तिहरुलाई समेत आफूहरुले रकम पठाएको उनीहरुले बताए । उनीहरुले भने – ‘गौतमले आफूले चाँही नगदमा नै रकम लिन्थे । तर बाहिर पठाउनु परेमा भने अर्कैको नाममा मनी ट्रान्सफरमार्फत पठाउन भन्थे ।’

हस्त गौतम समेत सहभागी भएर संचालन गरेको न्युयोर्कको रेष्टुरेण्ट, जुन अहिले बन्द भइसकेको छ ।

पीडितहरुका अनुशार विभिन्न देशमा चलचित्रको छायांकन गर्दै अमेरिकासम्म पुग्ने भन्दै ८ जना युवायुवतीहरुलाई नेपालबाट हिड्दा तामाङ र शेर्पा समुदायका संस्कृति झल्किने पोशाकपनि झोलामा बोक्न लगाइएको थियो । तर न कतै छायांकन भयो न कुनै चलचित्र नै बन्यो । उनीहरु फिजीबाट नेपाल फिर्ता पठाइएपछि कतिजना मानसिक तनावमा छन् भने कतिलाई सुधार केन्द्रमा नै राख्नुपरेको छ ।

आफूहरु ठगिएको गुनासो गर्दै न्युयोर्कमा रहेका ती ५ जना नेपालीहरु न्युयोर्कमा आप्रवासीको हक अधिकारका लागि सकृय संस्था अधिकार समक्ष पनि पुगेका थिए । तर उनीहरुले रकम नगदमा दिएकाले कुनै प्रमाण नभएपछि अधिकारले मुद्दा अगाडि बढाउन सकेन । उनीहरु भन्छन् – ‘गौतमले हामीलाई निकै चलाखीपूर्वक ठगे । यस्तो होला भन्ने भएन । फोन रेकर्डहरु पनि केही राखिएन । तर हामीले थाइल्याण्ड र फिजीमा रकम पठाएका प्रमाणहरु भने हामीसँग छन् ।’

गौतमबाट यसरी ठगिएको गुनासो गर्नेहरु अमेरिकामा धेरैजना रहेका छन् । पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका गौतमले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले रु दुई करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । उनको सुरुआती घर भने पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो । गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरुद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान थालिसकेको छ ।

उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स, सिङ्गापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलङ्का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ । उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

“बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ”, बिष्टले भने । उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ । गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए ।

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ । गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com