नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको ७० प्रतिशत काम पूरा


प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार

नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।
पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिनुभयो । उहाँले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताउनुभयो ।
इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उहाँको भनाइ छ । उहाँले परियोजना निर्माणमा रु ४० करोड लगानी भइसकेको बताउनुभयो । “यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ”, उहाँले भन्नुभयो, “धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ ।”
झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड शेयरदाताहरूबाट लगानी गरिएको बताउनुभयो ।
सो परियोजनाको कूल लागत रु ७९ करोड रहने उहाँको भनाइ छ । उहाँले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताउनुभयो ।
परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार आठ सय ४० थान प्यानल स्टेन जडान भइसकेको बताउनुभयो । हाल स्थापना गरिएका प्यानल स्टेनमा आठ सय १९ वटा सोलर प्यानल टेबल जडान गरिने उहाँको भनाइ छ । “कुनै ठूला टेबल हुन्छन् कुनै साना”, उहाँले भन्नुभयो, “कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ ।”
बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताउनुभयो । उहाँले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उहाँको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी दुई वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उहाँको भनाइ छ ।
आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट सात रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिनुभयो ।
झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com