नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउने उत्तर प्रदेशका ४ जनाको परिवारलाई ५ लाखको दरले क्षतिपूर्ति दिइने
प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा पाँच भारतीय थिए । तीमध्ये चार जना उत्तर प्रदेशका थिए।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यी चारै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार, “युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको विमान दुर्घटनामा ज्यान गुमाएका गाजीपुर जिल्लाका चार युवाका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।”
काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान अवतरणअघि नै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल सरकारले दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय आयोग गठन गरेको छ ।





