प्रेमबहादुरको सङ्घर्षः ‘छ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन् ।

छ बहिनी छोरी र दुई भाइ छोरासमेतको पारिवारिक जिम्मेवारीलाई घर्तीमगर र उहाँकी श्रीमती इनदेवीले घुम्ती गोठ राखेर जीविकोपार्जन गर्दै आउनुभएको छ । हिउँदमा बेँसीका फाँटमा झरेका गाईभैँसीका गोठलाई घर्तीमगर दम्पतीले बर्खायाममा लेकका बुकीसम्मै पु¥याउने गर्छन् । घर्तीमगरको दम्पतीले यसरी गोठमै करिब छ दशक समय विताइसकेका छन् ।

उहाँहरूको गोठमा अहिले ३२ भैँसी र २२ वटा गाई छन् । गोठमा रहेका गाइभैँसीमध्ये १२ वटा भैँसी र सातवटा गाई दुहुना छन् । गाईभैँसीको दूधबाट उत्पादन हुने घिउबाट आम्दानी हुने भए पनि गाईभैँसी नै बिक्री भने न्यून हुने गरेको प्रेमबहादुर बताउनुहुन्छ । गाईभैँसीको घिउ प्रतिमाना रु एक हजार २०० मा बिक्री हुने गरेको छ ।

“भूगोल टाढा छ, अनकन्टार जङ्गल, भिर, पहाडसम्मै पुगेर गोठ राख्छौँ, यहाँ गाईभैँसी नै किन्न आउनेको सङ्ख्या कम छ, थोरै मात्रामा राँगा र खेतबारी जोत्ने उद्देश्यले बहर गोरु बिक्री हुन्छन्, दुःखअनुसारको प्रतिफल नभए पनि हामीले गोठाला जीवनलाई निरन्तरता दिएका छौँ”, उहाँले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घर्तीमगरको पुर्खाहरूले समेत गोठ राखेर नै पशुपालन गर्दैै आउनुभएको थियो । बुवा दलप्रसादले समेत पुर्खाहरूले गर्दै आएको भेडासहित गाईभैँसीपालन गरेका कारण आफूले पुर्खाको पेसालाई निरन्तरता दिएको प्रेमप्रसाद बताउनुहुन्छ । प्रेमप्रसादका छ भाइ दाजुभाइमध्ये चार परिवारले गाईभैँसी र भेडापालन गर्नुभएको थियो । अधिकांशले अहिले पनि घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्दै आउनुभएको छ ।

हिउँदयाममा लेकबाट मुदी फाँटमा झरेको घुम्ती गोठमा अहिले उहाँकी दुई छोरीले घर्तीमगरको दम्पतीलाई सारथि बनेर सहयोग गर्दै आउनुभएको छ । यहाँका घुम्ती गोठलाई अर्चे, भारबाङ, धुलीबास, तिरिजा, लामठारा, सेतढुङ्गालगायतका ठाउँमा पु¥याउने गरिन्छ । भिर उक्लिएर बुकीसम्म पुग्नुपर्ने घर्तीमगर दम्पतीको दैनिकीमा उकाली–ओराली, अनकन्टार जङ्गलको बास, खोलानाला, बाढी, पहिरो, बर्खाको अविरल वर्षा र हिउँदको हिमपात जीवनमा दोहोरिरहने सङ्घर्षका पाटाहरू हुन् ।

छोराछोरीले गोठालो पेसा छाड्न अनुरोध गरे पनि उहाँहरूको मन भने अझै गोठालो छाडेर घरमा बस्न मानेका छैन । “हामीले गोठमै जीवन फाल्यौँ, छोराछोरी हुर्कायौँ, पढायौँ, कोही विदेशसम्म पुगेका छन्, बाबुबाजेले पनि गोठ राखेर जीवन बिताए, हामीले पनि च्याट्ट छोड्न सकेका छैनौँ”, प्रेमबहादुरकी पत्नी इनदेवी घर्तीमगरले भन्नुभयो ।

‘मुदीको साहु’को नामले पारिवारिक विरासत बोकेका घर्तीमगरको परिवारले पुख्र्यौलीरूपमा गाईभैँसी र भेडापालनसँगै ठूलो मात्रामा खेतीबालीसमेत गर्ने गर्थे । आफूहरू सानो छँदा बुवाआमाले एक सय मुरीसम्म कोदो उत्पादन गरेको प्रेमबहादुर स्मरण गर्नुहुन्छ । अहिले पनि पशुपालनसँगै परम्परागत खेतीका रूपमा कोदो, मकै, जौँ, गहुँलगायत खेतीलाई उहाँको परिवारले निरन्तरता दिएका छन् ।

अध्ययन र रोजगारको सिलसिलामा घर्तीमगर दम्पतीको जेठा छोरा र कान्छी छोरी जापान र कान्छा छोरा चीन पुगेका छन् । ठाइली छोरी जगदेवी स्वास्थ्यकर्मी र काइँली कमला शिक्षक हुनुहुन्छ । जेठी, माइली र साइली छोरीले गोठमा बस्नुपरेका कारण अध्ययनको उचित अवसर नभएकाले बुवाआमाकै गोठाला पेसामा आफूलाई समाहित गर्नुभएको छ । बुवाआमाले गोठ नछाडेका कारण आफूहरू पनि उहाँहरूकै दैनिकीमा लागेको साइली छोरी छानदेवी बताउनुहुन्छ ।

‘‘घरमा गोठ भएपछि हामी पनि स्कुल नगएर गोठमै भुल्यौँ, पछि प्रौढ शिक्षामार्फत सामान्य लेखपढमात्रैमा सीमित भयौँ, अहिले बुवाआमासँगै गोठमै गाईभैँसीको स्याहारसुसार र रेखदेख गर्छौ”, उहाँले भन्नुभयो । गाईभैँसीलाई चरनले मात्रै नपुग्ने भएकाले हिउँदयामका लागि खर, सुकेको घाँस र रुखको डाले घाँसको समेत बन्दोबस्त गर्नुपर्ने छानदेवीको भनाइ छ ।

तेह्र वर्षको उमेरदेखि नै गोठ बस्न थाल्नुभएका घर्तीमगर हिजोआज भने गोठालो संस्कृति हराउँदै गएकामा चिन्तित हुनुहुन्छ । उमेरका कारण गोठमा बस्न सक्ने अवस्था कमजोर बन्दै गएपछि उहाँले कसैले गोठ किनेर चलाए हुन्थ्यो भन्ने आशामा हुनुहुन्छ । “पहिले यहाँका हरेक घरबाट गोठमा गाईभैँसी र भेडाबाख्रा पाल्न गोठाला बस्ने चलन थियो, पछिल्लो समय यो प्रचलन हराउँदै गएको छ, अहिले हामी केही हातमा गन्न मिल्नेमात्रै गोठाला छौँ, कसैले गोठ राखेर गाईभैँसीपालन गर्न चाहेमा मैले बिक्री गर्ने योजना बनाएको छु”, घर्तीमगरले भन्नुभयो ।

एकै ठाउँमा मात्रै राखेर पालन नगरिने र घुम्तीरूपमा गोठ सारिरहनुपर्ने भएकाले पनि प्रेमबहादुरलाई गोठालो जीवन सास्तीपूर्ण बन्न थालेको छ । घरबाट गोठसम्म खाद्यान्नलगायतका खर्चको भारी ल्याउन जानसमेत कठिन हुन थालेको उहाँको अनुभव छ । पुख्र्यौली पशुपालनलाई व्यावसायीकरण बनाउन नसकेको र परम्परागत र निर्वाहमुखी पशुपालनबाट जीविकोपार्जन हुन नसकेपछि पछिल्लो समय ग्रामीण भेगमा घुम्ती पशुपालनको प्रचलन हराएर जान थालेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com